Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

कक्षा १२ को नतिजा प्रकाशन अन्तिम चरणमा, नतिजा प्रकाशनको जिम्मा एडुखबरलाई

विहीबार, १० भदौ २०७२

काठमाडौं १० भदौ / उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को नतिजा प्रकाशनको प्रकृया अन्तिम चरणमा पुगेको जनाएको छ ।

'परीक्षाको काम गोप्य रुपमा हुने भएकोले के कस्तो हुँदैछ भन्न सकिदैंन तर हामी अन्तिम चरणमा छौं' कामू नियन्त्रक सन्तोष अर्यालले भने ।

परिषद् श्रोतका अनुसार नम्बर ईन्ट्रि गर्ने र मिसिङ् रुजु गर्ने काम जारी रहेकोले यो सकिना साथ नतिजा सार्वजनिक गर्ने तयारी छ । सँधै ढिलो नतिजा सार्वजनिक गर्ने भनेर आलोचना खेप्लै आएको परिषद्ले यसपटक चाँडै नतिजा प्रकाशन गर्न लागेको अर्यालले बताए ।

सबै भन्दा पहिला विज्ञान संकाय अन्र्तगतको नतिजा सार्वजनिक गर्ने परिषद्ले जनाएको छ ।

भूकम्पका कारण दुई चरणमा भएको परीक्षा अन्र्तगत पहिलो चरणमा भूकम्पले कम क्षती पुर्याएका ६८ जिल्लामा कक्षा १२ को परीक्षा जेठ २० देखि ३१ गते सम्म र कक्षा ११ को परीक्षा असार १ देखि १२ सम्म भएको थियो ।

भूकम्पका कारण हुन नसकेका बाँकी सात जिल्ला गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काभ्रे र रामेछापमा भने कक्षा ११ र १२ को परीक्षा असार १४ गतेदेखि भएको थियो । कक्षा १२ को परीक्षा असार १४ गते देखि र ११ को परीक्षा असार २४ गते देखि भएको थियो ।

बैशाख २० गते देखि कक्षा १२ र जेठ १ गते देखि कक्षा ११ को परीक्षा तय भएपनि भूकम्पका कारण परीक्षा पछि सरेको तथा २ चरणमा गर्नु परेको थियो ।

कक्षा ११ र १२ मा देशैभर गरी करिब ९ लाख विद्यार्थी अध्ययनरत रहेको परिषद्ले जनाएको छ । 

नतिजा प्रकाशनको जिम्मा एडुखबरलाई

यसैविच परिषद्ले लिएका सबै परीक्षाको नतिजा प्रकाशनको जिम्मा एडुखबरले पाएको छ । परिषद्को गत मंगलबारको निर्णय अनुसार २०७२ सालमा प्रकाशन हुने कक्षा ११, १२ र दुवै कक्षाका मौका परीक्षाको नतिजा प्रकाशन गर्ने जिम्मा एडुखबरले पाएको हो । परिषद्द्धारा जारी प्रस्ताव आह्वानको सूचना अनुसार प्रकृया पुर्याएपछि परिषद्ले एडुखबरलाई समेत नतिजा प्रकाशनको जिम्मा दिएको हो ।

एडुखबरको सञ्चालक संस्था पि एण्ड पी मल्टिमिडियाले नतिजा प्रकाशनको जिम्मेवारीलाई अभिभावक तथा विद्यार्थी प्रतिको सामाजिक उत्तरदायित्व भनेको छ । विचार र सहभागिता (Perspective and Participation) लाई मुख्य मन्त्र बनाई छापा तथा विद्युतीय सञ्चार माध्यम मार्फत् नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रको विकासमा योगदान पुर्याउने उद्धेश्य अनुरुप संस्थाले प्रकाशन गर्दै आएको एडुखबर डट कमले शिक्षाका विचार विश्लेषण र खबर समेट्दै आएको छ ।

यसका साथै संस्थाले टेलिभिजन तथा रेडियो कार्यक्रम एवं शन्देश निर्माण र प्रशारण संयोजन गर्दै आएको छ ।

प्रतिक्रिया