Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

उपकुलपति छान्न समिति गठन

सोमबार, २५ साउन २०७२

काठमाडौं २५ साउन / प्रधानमन्त्री सुशील कोइरालाले सात विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न छनोट समिति गठन गरेका छन् । साउन २२ गतेदेखि रिक्त उपकुलपति नियुक्तिका लागि कुलपति कोइरालाले सातवटै विश्वविद्यालयमा छनोट समिति गठन गरेका हुन् ।

शिक्षामन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले आइतबारै पहिलो बैठक बसी उपकुलपति छनोट प्रक्रिया अघि बढाएको छ । कोइरालाले साउन २७ गतेभित्र सातवटै विश्वविद्यालयमा उपकुलपतिको नाम सिफारिस गर्न शिक्षा मन्त्रालयलाई दिएको निर्देशनअनुसारै काम अघि बढेको छनोट समितिका सदस्य प्राध्यापक रामेश्वर उपाध्यायले बताए ।

त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिमा शिक्षामन्त्री संयोजक, शिक्षा सचिव र योजना अयोगका शिक्षा हेर्ने डा. यज्ञ कार्की सदस्य छन् । पोखरा, पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको छनोट समितिमा नेपाल प्रध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय सदस्य छन् ।

प्राध्यापकलाई समावेश गरी उपकुलपति छनोट समिति गठन गरिएको यो पहिलोपटक भएको प्रध्यापक उपाध्यायले बताए । 'विश्वविद्यालयलाई हाँक्नसक्ने प्राज्ञिक प्रखरता र प्रशासनिक दक्षता भएको योग्य व्यक्ति सिफारिस गर्छौं,' उनले भने ।

पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले नेपाली कांग्रेसका मात्र प्रतिनिधि राखेर एकलौटी रुपमा समिति गठन भएको बताए । 'मैले शिक्षामन्त्रीलाई सिंहदरबारमै भेटेर सत्तासाझेदार एमालेलाई पनि सँगै लिएर हिँड्नुस् भनेको छु,' तुलाधरले नागरिकसँग भने, 'विगतमा पनि भागबन्डाको नियुक्तिले गर्दा विश्वविद्यालयमा सबैभन्दा बढी विवाद आएको हो ।'

चार वर्षअघि आफू शिक्षामन्त्री हुँदा कांग्रेस साथमा नरहे पनि आन्दोलनको सहयात्री भएका नाताले पोखरा र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कांग्रेस प्रतिनिधिलाई उपकुलपति नियुक्त गरेको उनले बताए । कांग्रेसनिकट मात्रै उपकुलपति सिफारिस भए एमालेले स्वीकार नगर्ने उनको भनाइ थियो ।

नागरिकमा खबर छ ।

प्रतिक्रिया