Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

क्यान्सरपीडित शिक्षकलाई सहयोग

विहीबार, २८ साउन २०७२

काठमाडौं २८ साउन / क्यान्सरले थलिएका नुनथला ९ खोटाङका यामवीर गोम्देन महँगो उपचारका लागि पैसा जुटाउन नसकेर विचलित थिए। गत असार ४ गते कान्तिपुरमा उनीबारे समाचार प्रकाशित भएपछि सहयोग गर्ने हात अघि बढे। इलाम साकफारा ८ की सुष्मा राई र खोटाङ नुनथलाकै सञ्जीव राईले अलगअलग अभियान चलाएर उनका लागि साढे तीन लाख रुपैयाँ सहयोग जुटाएका छन्।

इलाम चुलाचुलीस्थित जनता माविकी शिक्षिका सुष्मा फेसबुकमार्फत सहयोग उठाउन सक्रिय भइन्। विभिन्न व्यक्ति र संस्थाबाट गरी १ लाख २० हजार रुपैयाँ उठ्यो। बेलायती लाहुरे सञ्जीवले खोटाङ सेवा समाज यूके, नुनथला सोसाइटी यूकेलगायतलाई आग्रह गरे। २ लाख २२ हजार जम्मा भयो। यसै हप्ता हुने भनिएको अपरेसनपूर्व उनीहरूले बुधबार यामवीरलाई जुटेको सहयोग हस्तान्तरण गरेका छन्। ‘काठमाडौंमा मेरो मान्छे कोही थिएन, उहाँहरू कसरी, कसरी आइपुग्नुभयो,’ पैसा पाएपछि भावुक हुँदै यामवीरले भने, ‘मेरो पनि कोही त रहेछ।’

भक्तपुर क्यान्सर अस्पतालका डा. जनित सिंहको सुपरीवेक्षणमा रहेका २६ वर्षीय यामवीर परिवारका एक्लो सहारा हुन्। उनका वृद्ध आमाबुबा, श्रीमतीसहित दुई लालाबाला छन्। शिक्षण पेसाले परिवार धानिरहेका उनी एक्कासि बिरामी परेर थल्लिएका हुन्। परिवार समस्यामा छ। उनलाई बोन क्यान्सर भएको छ । उनी हाल खुट्टाको अप्रेसन तयारीमा छन्।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया