Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

पूर्वाञ्चल विश्वविद्यालयमा दलहरूको हानाथाप

शुक्रबार, २९ साउन २०७२

काठमाडौं २९ साउन / रिक्त रहेको पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्नका लागि प्रमुख कांग्रेस, एमाले र एमाओवादी समर्थित प्राध्यापकहरूको दौडधूप बढेको छ। उनीहरू समर्थन लिन आफुनिकट दलका नेताको सम्पर्कमा रहने अनि ‘लबिङ’ गर्ने काममा सक्रिय भएका छन्। दलका नेता पनि आफ्नो समर्थनको

मान्छेलाई जिम्मेवारी दिने कसरतमा लागेका छन्।

साउन तेस्रो सातदेखि पूर्वाञ्चलसहित मुलुकका सातवटै विश्वविद्यालय उपकुलपतिविहीन बनेका छन्। दलीय भागबन्डामा उपकुलपति नियुक्ति हुने चलनले लामो समयसम्म विश्वविद्यालय उपकुलपतिविहीन हुँदै आएका छन्। यसले गर्दा प्रशासनिक र शैक्षिक गतिविधिमा बाधा पुग्ने गरेको छ।

यसैबीच बुधबार साँझ प्रमुख तीन दलका प्रतिनिधिबीच राजधानीमा पदाधिकारी बाँडफाँडबारे छलफल भएको छ। छलफल भए पनि सहमतिमा पुग्न नसकेको स्रोतले बतायो। कांग्रेस प्रबक्ता दिलेन्द्र बडु, एमालेबाट परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र एमाओवादीका कृष्णबहादुर महराबीच राजधानीको एक होटलमा छलफल भएको हो।

‘कुन विश्वविद्यालयमा कसलाई नियुक्त गर्ने भनेर छलफल भएको हो’ स्रोतले भन्यो ‘कांग्रेसले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र महेन्द्र संस्कृति विश्वविद्यालय आफुले पाउनु पर्ने दावी गरेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो।’

कांग्रेसले एमालेलाई पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अनि एमाओवादीलाई मध्यपश्चिम विश्वविद्यालय र कृषि विश्वविद्यालय लिन आग्रह गरेको सम्बद्ध स्रोतले जनाएको छ। कांग्रेसले लगाएको भागबन्डामा एमाओवादी सकारात्मक देखिएको छ। एमाले पनि पूर्वाञ्चल विश्वविद्यालय आफूले पाउँदा मान्ने संकेत देखाएको उल्लेख गर्दै स्रोतले भन्यो, ‘कांग्रेस पूर्वाञ्चल विश्वविद्यालय नछाड्ने बरु राजदूत नियुक्तिमा एमालेलाई बढी कोटा दिएर भए पनि पूर्वाञ्चल विश्वविद्यालयमा आफ्नो समर्थनको मान्छे राख्ने रणनीतिमा छ।’

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि कांग्रेसबाट घनश्यामलाल दास, भेषप्रसाद धमला, बद्री श्रेष्ठ दौडमा छन्। यीमध्ये दास महेन्द्र मोरङ बहुमुखी क्याम्पसका प्राध्यापक, धमला विश्वविद्यालय स्थापनाकालका रजिस्ट्रार हुन्। श्रेष्ठ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वरजिस्ट्रार हुन्।

एमाले तर्फबाट उपेन्द्र कोइराला, यादव कोइराला उपकुलपति पाउने ध्याउन्नमा छन्। उनीहरूमध्ये उपेन्द्र उच्च माध्यमिक शिक्षा

परिषद्का उपाध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धक र नेपाल आयल निगमका अध्यक्ष भइसकेका व्यक्ति हुन्। उनी उमाविशि परिषद्का उपाध्यक्ष हुँदा उत्तरपुस्तिका छपाइमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका व्यक्ति हुन्। यादव कोइराला विराटनगरको स्नातकोत्तर क्याम्पसका प्राध्यापक हुन्।

एमाओवादी तर्फबाट महेन्द्र सिंह र मेदिनीप्रसाद सेढाईं चर्चामा छन्। सिंह विश्वविद्यालय अनुदान आयोगका सदस्य हुन् भने सेढार्इं प्राध्यापक हुन्। त्यसैगरी विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन शुभनरायण पाठक पनि उपकुलपतिको दौडमा छन्।

कांग्रेसका केहीले शिरीष रिजालको नाम पनि चर्चामा ल्याएका छन्। उनी विगतमा पूर्वाञ्चल विश्वविद्यालयका कामचलाउ उपकुलपति थिए। ११ महिना पदमा बसेका उनको कार्यकाल विवादपूर्ण बनेको थियो। उनको कार्यकालमा चिकित्साशास्त्र संकायअन्र्तगत बीएस्सी नर्सिङ र पोस्ट ब्येसिक ब्याचलर अफ नर्सिङ (पिबिएन) संकायको पहिलो वर्षको वार्षिक परीक्षामा विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण नभएका ४३ विद्यार्थीसँग जनही ३ लाख रुपैयाँ जरिवाना लिएको आरोप छ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा योजना आयोगका सदस्य यज्ञ कार्की, प्राध्यापक संघका सभापति रामेश्वर उपाध्याय र शिक्षा सचिव र रहेको समिति छ। समिति स्रोतका अनुसार उपकुलपतिको नाम सिफारिसका लागि समितिमा पनि छलफल जारी छ।

कान्तिपुरमा माधव घिमिरे, विनोद भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया