Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

विद्यालयको भ्रष्टचार मुद्धा मिलाउन घुस

शनिबार, ३० साउन २०७२

काठमाडौं ३० साउन/ विद्यालयमा भएको अनियमितताको अख्तियारले छानविन गरी दायर गरेको मुद्धा मिलाई दिनेभन्दै घुस माग्ने बिशेष अदालतका पूर्व रजिष्टार पक्राउ परेका छन् ।  

 विशेष अदालतका पूर्वरजिस्ट्रार नातिबाबु लामिछानेले मुद्दा मिलाइदिने भन्दै एक पक्षसँग १५ लाख रुपैयाँसम्म घुस मागेको खुलासा भएको छ ।

 स्रोतका अनुसार रौतहटको एउटा विद्यालयमा भएको अनियमितता सम्वन्धि मुद्दा मिलाइदिने भन्दै लामिछानेले घुस मागेका हुन् । भिडियोमा उनले झन्डै १० मिनेटसम्म कुराकानी गरेका छन् । तीन–तीनजना न्यायाधीशलाई समेत मिलाउनुपर्ने भएकाले पैसा जति पनि लाग्न सक्ने लामिछानेले बताएका छन् । ‘पैसा त जति पनि लाग्न सक्छ, मैले मात्रै लिने होइन, तीन–तीनजना न्यायाधीशसँग पनि कुरा गर्नुपर्छ । तपाईंले खै कुरा बुझेको ’ उनले भनेका छन् ।

काम सुरु गर्न एक लाख तत्काल ल्याउन पनि लामिछानेले भनेका छन् । ‘पहिला एक लाख ल्याएर आइहाल्नु ।मिलाउँदा ५, १०, १५ लाख जति पनि लाग्नसक्छ,’ उनले भनेका छन् । उक्त रकम बिदाको दिन घरमै वा बाहिर कतै भेटेर दिन उनले भनेका छन् । साथीका तर्फबाट कुरा गरिरहेका मुद्दाका पक्षले भने तीन लाख ५० हजारसम्म दिने बताएका छन् । रजिस्ट्रार लामिछाने तीन महिनाअघि मात्रै दाङको तुलसीपुरस्थित पुनरावेदन अदालतमा सरुवा भइसकेका छन् । तर, उनी अहिलेसम्म त्यहाँ हाजिर भएका छैनन् ।

भिडियो संवाद

दिउँसोको समय, गाडीको आवाज सुनिन्छ । बसेको स्थान रेस्टुरेन्टजस्तो देखिन्छ । लामिछाने क्यापमा देखिएका छन् । भिडियोमा उनी बारम्बार दायाँबायाँ हेर्दै बिस्तारै बोलिरहेका देखिन्छन्:

लामिछाने - के भएको हो तपाईंको, भन्नुस त ?

मुद्दाको पक्ष-  साथीको मुद्दा छ सरको अफिसमा । जसरी पनि मिलाइदिनुपर्‍यो ।

लामिछाने -केको मुद्दा ?

 मुद्दाको पक्ष - विद्यालयसम्बन्धी हो सर । तीन लाख ५० हजार पेस्की झिकेको काम त भयो, तर अनाहकमा दुस्ख मोल्नुपर्‍यो मेरो साथीले । त्यसैले मिलाइदिनुपर्‍यो ।

लामिछाने-  मान्छे अहिले कहाँ छ त ?

 मुद्दाको पक्ष- मान्छे गाउँमा नै छ, तर चाहिए म ल्याउन सक्छु । मुद्दा मिलाइदिए तीन लाख ५० हजार दिन पनि तयार छ ।

लामिछाने - पैसा त जति पनि लाग्न सक्छ । ५ लाख, १० लाख, १५ लाख जति पनि ।

मुद्दाको पक्ष- किन सर ?

लामिछाने - पैसा मैले मात्रै लिने होइन । मैले तीन–तीनजना न्यायाधीशसँग पनि कुरा गर्नुपर्छ । तपाईंले खै कुरा बुझेको ?

 मुद्दा पक्ष-त्यो त हो सर ।

लामिछाने - मैले चाँडै नै न्यायाधीशहरूसँग कुराकानी गर्छु । र, मुद्दा टुंग्याइदिन्छु ।

मुद्दाको पक्ष - सर, मैले मुद्दासम्बन्धी सबै कागजात सरलाई दिउँ है ।

लामिछाने - हुन्छ । म त्यो मिलाइहाल्छु । पहिला एक लाख रुपैयाँ लिएर आइहाल्नु ।

मुद्दाको पक्ष - त्यो त भइहाल्छ नि । मिल्नेबित्तिकै टक्रयाइहाल्छौँ हजुर ।

लामिछाने - पैसा कहिले आउँछ त ? सकेसम्म बिदाको दिन घरमै अथवा बाहिर कतै भेटौँ न त ।

मुद्दाको पक्ष- पहिला मिलाइदिने व्यवस्था गरौँ, पैसा त आइहाल्छ ।

लामिछाने - मैले सानातिना मान्छे होइन, न्यायाधीशसँगै कुराकानी गर्नुपर्छ । त्यो पनि एकजनासँग होइन्, तीन–तीनजनासँग । छिटै मुद्दाको पेसी तोक्न लगाउँछु र मुद्दा टुंगोमा पुर्‍याइदिन्छु । मैले न्यायाधीशहरूलाई कन्भिन्स गर्नुपर्छ ।

आजको नया पत्रिकामा यो खबर छापिएको छ । 

प्रतिक्रिया