Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

हार्बड एक विपना

शनिबार, ३० साउन २०७२

हार्वर्ड : एक विपनाकाठमाडौं ३० साउन/आफ्नो कक्षाको लागि बाहिर पर्खंदै गर्दा करिब ६०–६५ वर्षका मानिस झोला बोकेर मसँग कुरा गर्न आइपुगे। मलाई लाग्यो, यिनै रहेछन् नयाँ प्रोफेसर। परिचय भयो। उनले भने, 'म इक्वेडरको पूर्व राष्ट्रपति।] मलाई हाँसो उठ्यो। सोचेँ, बूढा रमाइला रहेछन्। मैले झन्डै भनेको,'म पनि नेपालको पूर्व प्रधानमन्त्री।'

कक्षा सुरु भयो। आ–आफ्नो परिचय दिए, सबैले। उनी इक्वेडरका पूर्व राष्ट्रपति नै रहेछन् र हामीसँगै 'स्पीच कम्युनिकेसनुको क्लास लिँदै रहेछन्। ती जमिल माहोद मेरा हृदयी मित्र बने हार्वर्डमा।

आठ जना अमेरिकी राष्ट्रपति र ३२ देशका राष्ट्रप्रमुख जन्माइसकेको हार्वर्डमा माथिका घटना सामान्य लाग्छन्। राष्ट्रप्रमुख, अर्थमन्त्री, मन्त्री र सांसद लगभग हार्वर्डको केनेडी स्कुल अफ गभर्न्मेन्टका हरेक कुनामा भेटिन्छन्। ३७९ वर्षअघि स्थापना भएको हार्वर्डमा आखिर के छ त  किन संसारका कुनाकुनाबाट विद्यार्थी त्यहाँ पढ्ने सपना बोक्छन् 

पृथ्वीनारायाण शाह जन्मनुभन्दा ८७ वर्षअघि स्थापना भएको हार्वर्डमा २१ हजार विद्यार्थी र २४ सय फ्याकल्टी छन्। नेपालको कूल ग्रार्हस्थ उत्पादनको लगभग दोब्बर ९३५।८ खर्ब डलर० ुइनडाओमेन्टु भएको हार्वर्ड ४१,००८ रोपनीमा फैलिएको छ। म्यासिचियूटस् राज्यको क्याम्ब्रिज सहरमा। ११ वटा विभिन्न स्कुल–कानुन, गभर्मेन्ट, बिजनेस इत्यादिले हार्वर्ड विश्वविद्यालय बनेको छ।

पढाइ

हार्वर्डले समायानुकूल आफ्नो सिक्ने र सिकाउने परम्परालाई परिमार्जन गर्ने गर्छ। विशेषतः स्नातकोत्तर तहमा पढाउने प्रोफेसर संसारका प्रमुख संस्थाका प्रमुख, डाइरेक्टर अथवा विभिन्न देशका मन्त्री, सांसद वा प्रधानमन्त्रीसमेत हुन्छन्। मेक्सिकोका पूर्व राष्ट्रपति फिलिपे कालडरोन आफ्नो कार्यकाल सकिएको भोलिपल्ट हार्वर्डमा विशेष फेलोका रूपमा आउने घोषणा गरिएको थियो। यस्तै अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रड पनि आफ्नो कार्यकालपश्चात् हार्वर्डमा ुभिजिटिङ फेलोुका रूपमा नियुक्त भए। कैयन् प्रोफेसर राजनीतिक करिअर त्यागेर प्राध्यापनमा लागेका छन्। कोही नोबेल पुरस्कार विजेता पनि छन्।

आफ्नो विषयगत दक्षतामा विश्व थर्काएका प्रोफेसरसँग काम गर्ने, पढ्ने र सिक्ने अवसर पाउँदा कहिलेकाहीँ त आफ्नो विगत सम्झेर आनन्द आउँछ। उनीहरूसँगको सामीप्यले नयाँ सिक्ने अवसरमात्र होइन, विश्वका महान् विद्वानसँग उठबस गर्ने सुअवसर पनि अर्को रमाइलो पक्ष हो हार्वर्डको। मेरो एकेडेमिक एजभाइजर विर्कोडो हाउजम्यानको विभिन्न देशको आफ्नो सबैभन्दा प्रमुख उत्पादन कुन हुन सक्छ र त्यसले कसरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने ुप्रोडक्ट स्पेस थ्योरीुले मलाई आफ्नो देशको आर्थिक प्रतिस्पर्धात्मक क्षमताबारे बुझ्ने यथेष्ट अवसर भयो।

पुस्तकालय

सन् १६३८ मा जोन हार्वडले चार सय वटा पुस्तक दिएर सुरु भएको लाइब्रेरी आज ७३ वटा विभिन्न विधामा विस्तारित भएको छ। करिब १ करोड ९० लाख पुस्तक र एक हजार कर्मचारी त्यहाँ काम गर्छन्। ुलाइब्रेरी अफ कंग्रेसुपछिको सबैभन्दा ठूलो मानिन्छ ुवाइडनर लाइब्रेरीु। उक्त लाइब्रेरीको भूमिगत कक्षामा मैले कैयन् दिनरात बिताएको छु। पढ्दै, अनुसन्धान गर्दै।

हार्वर्डका हरेक ७३ लाइब्रेरीका आफ्नै कथा छन्। आफ्नै विशेषता र इतिहास। एउटाबाट ननिस्किई अर्को लाइब्रेरीमा पुगिन्छ। प्रोफेसर र विद्यार्थीहरू सँगसँगै अनुशासनपूर्वक काममा घन्टौं घोत्लिएको देख्दा मलाई प्रेरणाको ज्वारले धेरैपटक अझ बढी मेहनती र लगनशील बन्न उत्साहित गरेको छ। सबैले नियम पालना गरेका छन्। ुसिस्टमुले काम गरेको छ। पुस्तकहरू विद्युतीय माध्यमद्वारा माग गर्न पाइन्छ। विश्वविद्यालयमा उपलब्ध नभएका लेख वा पुस्तकहरू संसारको जुनसुकै विश्वविद्यालयबाट समेत माग गरिदिन्छन्, त्यहाँका कर्मचारीले।

मैले नेपालमा नभेटेको नेपाली र संस्कृत भाषाका पुराना र बहुमुल्य पुस्तक हार्वर्डको पुस्तकालयमा पढ्ने मौका पाएको थिएँ। करिब एक सयभन्दा बढी भाषाका किताबले ती ७३ वटा लाइब्रेरी गमक्क फुलेका छन्, ज्ञानको ज्योतिले।

अवसर

एकै दिनमा आफ्नो नियमित क्लासपश्चात् म आङसाङ सुकी र अर्जेन्टिनाका राष्ट्रपति क्रिस्टिना क्रिचरनरसँगको प्रत्यक्ष अन्तर्क्रियामा सहभागी हुन पाएँ। अर्को महिना रुवान्डाका राष्ट्रपति पल कागमेसँग सो देशको आर्थिक प्रगतिका बारेमा बुझ्ने मौका पाएँ। यस्तो लाग्छ, हार्वर्डमा असम्भव केही छैन। सुन्न, भेट्न र पढ्न नपाउने केही छैन। अनि पो संसारभरबाट आएका विद्यार्थी आफ्नो देश हाँक्ने ज्ञान, सिप, क्षमता र साहस बटुल्छन्।

भुटानजस्तो सानो राष्ट्रले समेत हार्वर्डसँग सम्झौता गरेर प्रत्येक वर्ष केही भुटानी विशेष छात्रवृत्तिमा स्नातकोत्तर अध्ययन गर्न जान्छन्। जेनेभा, ब्रसेल्स र वासिङ्टन डिसी रहँदाको मेरो अनुभवमा भुटानी कुटनीतिज्ञहरू विषयवस्तु र प्रस्तुतिमा बेजोड हुँदा रहेछन्। त्यो विश्वास र विषयगत ज्ञान हार्वर्डजस्ता संस्थाबाट सम्भव भएको छ।

हार्वर्डका पूर्व कुलपति ल्यारी समर्सले सन् २००५ को एक भाषणमा ुउत्कृष्ट विश्वविद्यालयमा महिलाहरूको प्रतिनिधित्व कम हुनुको प्रमुख कारण महिला र पुरुषबीचको प्राकृतिक भिन्नताु भनेकै कारण आफ्नो पदबाट राजिनामा दिनुपरेको थियो। त्यसपछि नै हार्वर्डको इतिहासम पहिलोपटक ड्रियु जिलपिन फउस्टलाई पहिलो महिला कुलपति नियुक्त गरियो। समर्सको विभेदपूर्ण भाषणको कडा प्रतिवाद गर्दै हार्वर्डले महिला कुलपति नियुक्त गरेर संसारलाई राम्रो उदाहरण प्रस्तुत गर्योक।

किन सबै लालायित

एकपटक लन्डनको हिथ्रो विमानस्थलबाट बोस्टन उड्नै लाग्दा मेरो सुटकेश भारी भएकाले १ सय पाउन्ड तिर्नुपर्ने भनियो। सो एयरलाइन्सका कर्मचारीले पासपोर्ट मागे र भने, पर्खनुस् पाँच मिनेट।

केही समयमा ती कर्मचारी एक युवकलाई लिएर मसँग फोटो खिचाउन आए। उनले भने, ुतपाईं हार्वर्डमा पढ्नुहुँदो रहेछ, यी युवकको त्यहाँ पढ्ने ठूलो सपना छ। हामीलाई विश्वास छ, तपाईं एक दिन आफ्नो देशको राष्ट्रप्रमुख हुनुहुनेछ र यो फोटो खिचेको।ु

उनको कुरा सुनेर म अचम्ममा परेँ। ती कर्मचारीले मेरो सुटकेसको फि मिनाहामात्र गरेनन्, राम्रो सिट पनि मिलाइदिए।

संसारभर हार्वर्डको छुट्टै मान, सम्मान र इज्जत छ। मसँगै पढ्ने एक सयभन्दा बढी देशका साथीहरूको आ–आफ्नै कथा छन्, संघर्ष र सपना छन्। आफ्नो ठाउँ र देश बनाउने अठोट छ उनीहरूमा। हार्वर्डको शिक्षा, अनुभव र कनेक्सनको भरपुर उपयोग गर्दैछन्। त्यहाँ न कुनै राजनीतिक नियुक्तिको गन्ध भेटिन्छ न भागबन्डाको। आफ्नो सामर्थ्य र शैक्षिक उपलब्धिको मापनले विद्यार्थी र प्रोफेसर छानिन्छन्। चाहे साउदी अरेबियाका खर्बपति विद्यार्थी हुन् या निजेरकी महिला। सबैले समान अवसर र सम्मान पाउँछन्। अनि त हार्वर्ड हार्वर्ड बनेको छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कुनै एक प्रसंगमा चीनको बढ्दो विश्व प्रभावबारे प्रश्न गर्दा भनेका थिए, ुसंसारभरका विद्यार्थी, वैज्ञानिक र विद्वान हार्वर्ड, एमआइटी र स्ट्यानफोर्ड अनि सिलिकन भ्यालीको सपना देख्छन्, चीनको कुनै विश्वविद्यालयको होइन। जबसम्म हाम्रा विश्वविद्यालय संसारको आकर्षण बनिरहन्छन्, तबसम्म अमेरिका नम्बर एक रहन्छ।ु

ओबामाको सो अभिव्यक्ति अमेरिकाका महान् विश्वविद्यालय र त्यहाँको सिस्टमप्रतिको विश्वास हो।

५६ वर्षअघि सुरु भएको त्रिभुवन विश्वविद्यालय विद्यार्थी संख्याको हिसाबले संसारको नवौं ठूलो मानिन्छ। तर, गुणस्तरको हिसाबले विश्वको उत्कृष्ट एक हजारभित्र पनि पर्दैन। ११० वर्षअघि सुरु भएको सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुर आज एसियाको उत्कृष्ट मानिन्छ। सो विश्वविद्यालयले हरेक वर्ष कैयन् विद्यार्थी हार्वर्ड पठाउँछ। सो आदानप्रदानले सिंगापुर नेसनल युनिभर्सिटीलाई हार्वर्डसरह शिक्षा दिने संस्थाको रूपमा उभ्याएको छ।

आखिर किन र कहाँ चुक्यो त्रिभुवन विश्वविद्यालयरु ३ हजार रोपनीभन्दा बढी क्षेत्रफल भएको त्रिवि किन ुहाम्रो हार्वर्डु हुन सक्दैनरु किन सक्दैनौं हामी यसलाई दक्षिण एसियाको उत्कृष्ट विश्वविद्यालय बनाउनरु कल्पना, इच्छाशक्ति र सिस्टमको विकास गरौं र बनाऔं त्रिविलाई हाम्रो हार्वर्ड।

नागरिकमा सुभास घिमिरेले लेखेका छन् । 

प्रतिक्रिया