Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

उपकुलपतिमा भागबन्डा विवाद

आइतबार, ३१ साउन २०७२

उपकुलपतिमा भागबन्डा विवादकाठमाडौं ३१ साउन / उपकुलपति सिफारिसमा सत्तासाझेदार कांग्रेस र एमालेबीच भागबन्डा विवाद भएको छ । २३ साउनदेखि सातवटा विश्वविद्यालय नेतृत्वविहीन भएका छन् ।

रिक्त उपकुलपति पदमा सिफारिस गर्न शिक्षामन्त्रीको संयोजकत्वमा सातवटै विश्वविद्यालयका सभासद्सहितका समिति बनेका छन् । प्रधानमन्त्री तथा कुलपति सुशील कोइरालाले २७ साउनसम्म नाम सिफारिस गर्न निर्देशन दिएका थिए । कांग्रेस र एमालेबीचको भागबन्डा विवादले नाम सिफारिस गर्न समस्या भएको स्रोतले बतायो ।

एमालेले त्रिविसहित तीनवटा उपकुलपति आफ्नो हुनुपर्ने दाबी गरेको थियो । तर, अहिले प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री एवं सहकुलपति कांग्रेसको भएकाले त्रिविको उपकुलपति कांग्रेसकै भागमा दिन एमाले तयार भएको स्रोतले बताएको छ । चार महिनापछि रिक्त हुने त्रिविका रेक्टर र रजिस्ट्रार भने आफूले पाउनुपर्ने एमालेको दाबी छ ।

स्रोतका अनुसार अहिले कांग्रेसको भागबाट त्रिवि, नेपाल संस्कृत, सुदूरपश्चिम, एमालेको भागबाट पूर्वाञ्चल, पोखरा, कृषि तथा वन विज्ञान र एमाओवादीको भागबाट मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने गरी छलफल भइरहेको छ । तर, कांग्रेसका प्राध्यापक संगठन दुई समूहमा रहेकाले यो प्रस्तावमा सहमति हुन नसकेको स्रोतले बतायो ।

विवाद मिलाएर नियुक्ति गर्ने विषयमा पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । सिफारिस समितिको बैठकमा भने योग्य व्यक्तिलाई उपकुलपति नियुक्ति गर्ने विषयमा छलफल हुने गरेको समिति सदस्य नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले बताए । उनले भने, ‘दुईपटक बैठक बस्यो । बैठकमा भागबन्डाको कुरा गर्दैनौँ, योग्य र प्रखर व्यक्तिलाई उपकुलपतिमा सिफारिस गर्छाैँ ।’

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, कृषि तथा वन विज्ञान, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा एकैदिन उपकुलपतिको कार्यकाल सकिएको थियो । २३ साउन ०६८ मा तत्कालीन प्रधानमन्त्री तथा कुलपति झलनाथ खनालले उपकुलपतिहरू नियुक्त गरेका थिए ।

दलनिकटका प्राध्यापकका केही वैचारिक संगठनले भने उपकुलपतिका लागि प्राध्यापकको नाम सिफारिस गरेका छन् । कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघले सातवटै विश्वविद्यालयका लागि उपकुलपतिको नाम सिफारिस गरेको छ ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया