Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

उनी अझै विद्यालय जाँदैनन्

आइतबार, ३१ साउन २०७२

ठूलीआमासँग लाडिँदै १५ वर्षीया सुस्मिता तामाङ। कक्षा ६ की विद्यार्थी उनी भूकम्पपछि डरले विद्यालय गएकी छैनन्।काठमाडौं ३१ साउन / सिन्धुपाल्चोक पीपलडाँडा, बेङ्चेपानी गाउँ। बिहानीको नौ बज्न खोज्दै छ। घर भत्किएपछि बनेको टहरे बस्तीबाट अभिभावक छोराछोरीलाई उर्दी जारी गर्छन्, 'स्कुल जाने बेला हुन लाग्यो। खाना खान आओ।' सुस्मिता र फूलमाया दिदीबिहिनी भने टसको मस हुँदैनन्।
आमा चिनमाया तामाङले फकाइन्, 'भूकम्प आइरहँदैन, सधैं डराएर हुँदैन। भात खान हिँड, आजदेखि स्कुल जानुपर्छ।' दिदीबहिनी सुनेको नसुन्यै गर्छन्। 'अँ होला नि! हिजो भर्खर मात्र जमिन थर्किएको होइन र?,' फूलमायाले धाराबाटै जिद्दी कसिन्। अघिल्लो दिनमात्र नजिकैको स्याउले बजारलाई केन्द्र बनाएर गएको पराकम्प सम्भि्कन् उनले।

'भूकम्पपछि स्कुल गएका छैनन्। डराई मात्र रहन्छन्, जानै मान्दैनन्,' छोरीहरुको पढाइबारे चिन्तित फूलमायाले भनिन्, 'पढ्न जान कर गर्दा रुन थाल्छन्।' उनका अनुसार गाउँका अन्य केही केटाकेटी पनि विद्यालय जान मानेका छैनन्।

आधा घन्टा दुरीको छिमेकी गाउँ भुलभुलेमा रक्तकाली निमावि छ। १५ वर्षीया सुस्मिता त्यही विद्यालयको कक्षा ६ र १३ वर्षीया फूलमाया कक्षा ४ का विद्यार्थी हुन्। 'भूकम्प आइरहेको छ, सधैं डर मात्र लागिरहन्छ, स्कुल जान मनै लाग्दैन,' सुस्मिता भन्छिन्। किताब पुरिएकाले घरमा समेत उनीहरूको पढ्ने बानी हराइसकेको छ।

अस्थायी सिकाइ केन्द्रमार्फत रक्तकाली जेठ दोस्रो साताबाट सञ्चालनमा आएको थियो। ३७ जनाबाट सुरु विद्यालयमा अहिले १ सय ३७ बालबालिका नियमित छन्। 'अझै १४ विद्यार्थी पढ्न आएका छैनन्,' प्रधानाध्यापक राजेन्द्र खत्रीले भने।

जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा भूकम्पपछि साढे ६ हजारभन्दा बढी विद्यार्थी विद्यालयमा अनुपस्थित देखिएका छन्। कहाँ छन् यी विद्यार्थी? शिक्षा कार्यालयसँग कुनै जानकारी छैन।

'विद्यार्थीको ठूलो हिस्सा डरकै कारण विद्यालय नगएको पाइन्छ,' जिशिअ दिलनाथ पुरीले भने। पछिल्लो समय सिन्धुपाल्चोककै विभिन्न स्थानलाई केन्द्र बनाएर लगातार अनुकम्पन गइरहेका छन्। बढ्दो त्रासले शैक्षिक वातावरण खलबलिएको छ। 'पढाइकै समयमा अनुकम्प जाँदा धेरैपटक बालबालिकाको भागदौड मच्चिएको छ,' पुरी भन्छन्।

भर्ना सप्ताह सकिँदासम्म जिल्लाका विद्यालयमा ६६ हजार विद्यार्थी थिए। अहिले ६० हजार मात्र छन्। पहिरो जोखिमले १७ सामुदायिक विद्यालय अझै सञ्चालनमा आउन सकेका छैनन्। कार्यालयका अनुसार भूकम्पमा परी ६ सय ५० विद्यार्थीको मृत्यु भयो। यो संख्या अझ बढ्दो छ। २ सय ५४ बालबालिका घाइते भए। उनीहरूमध्ये केही अझै विद्यालय जान सकेका छैनन्। गाउँ र विद्यालय जोखिममा परेका कारण कक्षा १० मा अध्ययनरत विद्यार्थी छिमेकी जिल्ला र राजधानीमा स्थानान्तरण भइरहेका छन्। हालसम्म सय विद्यार्थी स्थानान्तरण भइसकेको सहायक जिशिअ शेवन्तराज कोइराला बताउँछन्। 'सिफारिस चाहिने भएकाले १० मा पढ्ने बालबालिका कार्यालयको सम्पर्कमा आउनैपर्छ,' उनले भने।

नागरिकमा ध्रुव दंगालले लेखेका छन् ।

प्रतिक्रिया