Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

एसएलसी कट्यो, पढ्ने कहाँ ?

बुधबार, ०२ भदौ २०७२

प्राविधिक विषयमा एसएलसी गरेका ३ हजारभन्दा बढी विद्यार्थी अलपत्र

काठमाडौं २ भदौ / साधारण विषयमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूको ११ कक्षाको पढाइ सुरु भएको एक महिना हुन लाग्यो। प्राविधिक विषयबाट एसएलसी उत्तीर्ण विद्यार्थीको कक्षा ११ को पाठ्यक्रमले पूर्णता पाएको छैन। पढाउने विद्यालय छनोटसमेत भएको छैन। कक्षा ९ र १० मा प्राविधिक विषय पढाउने ९९ सामुदायिक विद्यालयमध्ये पूर्वाधार पुगेकालाई ११ र १२ कक्षा पढाउन दिने निर्णय शिक्षा मन्त्रालयले गरेको थियो।

पाठ्यक्रम र पूर्वाधार रहेको सीटीईभीटीलाई पन्छाएर उच्च माध्यमिक शिक्षा परिषद्लाई जिम्मेवारी दिँदा यस्तो समस्या आएको हो। एसएलसीको प्राविधिकतर्फको नतिजा सार्वजनिक भएको मंगलबार ५४ दिन भयो। परीक्षामा तीन हजार दुई सय ५० जना उत्तीर्ण भएका थिए। उनीहरूका लागि कक्षा ११ र १२ मा पनि प्राविधिक विषय पढ्ने पाउने निर्णय त भयो।

कहिले र कुन विद्यालयमा पढाउने अझै टुंगो लाग्न सकेको छैन। ‘आफू पढेको विद्यालयमा दिनकै गएर कहाँ पढ्ने भनेर सोध्छौं,’ दोलखाको सर्व मावि जिलुबाट बाली विज्ञानमा समूह एमा उत्तीर्ण गरेका दिवाकर दाहालले भने, ‘कतै भर्ना भएको छैन। विद्यालय सोध्दा सम्बन्धन ल्याउने प्रयास भइरहेको छ भन्छन्। कहाँ पढ्ने थाहा छैन।’

शिक्षा मन्त्रालयकै ढिलासुस्तीले विद्यार्थी अलपत्र परेका हुन्। दुई वर्षअघि ९ कक्षादेखि प्राविधिक विषयमा पढाइ सुरु भएको हो। तर, एसएलसीको नतिजा आउँदा पनि मन्त्रालयले यी विद्यार्थी परिषद् वा सीटीईभीटी कहाँ पढाउने निर्णय गर्न सकेको थिएन।

कक्षा ९ र १० मा विद्यार्थीले बाली विज्ञान, पशु विज्ञान, कम्प्युटर, सिभिल, मेकानिकल इन्जिनियरिङजस्ता प्राविधिक विषय अध्ययन गरेका थिए। ती प्राविधिक विषय पढेका विद्यार्थीलाई कक्षा ११ र १२ मा पनि प्राविधिक विषय नै अध्ययन गर्न दिन शिक्षा मन्त्रालयले बेलैमा तयारी नगर्दा अहिले समस्या आएको हो। सर्व माविका प्रधानाध्यापक कृष्णमणि चौलागाईंले विद्यालय स्वीकृतिको प्रक्रिया ढिलाइ हुँदा विद्यार्थी अलपत्र परेको बताए।

कञ्चनपुरको वैद्यनाथ उमाविबाट बाली विज्ञानमा एसएलसी गरेका २९ जना विद्यार्थी सरकारको निर्णयको पर्खाइमा छन्।
‘११ र १२ कक्षामा प्राविधिकको सम्बन्धन आउँछ भनेर विद्यार्थी रोकेर राखेका छौं,’ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी भट्टले भने, ‘अहिले साइन्सको कक्षा लिइरहेका छन्। विद्यार्थी आत्तिसके।’

नतिजा सार्वजनिक भइसकेपछि मात्रै प्लस टुतर्फ प्राविधिक विषय अध्ययन गराउने निर्णय गरेर शिक्षा मन्त्रालय र परिषद्ले पाठ्यक्रम बनाउन थालेका हुन्। उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले भदौ तेस्रो साताभित्र पढाइ भइसक्ने दाबी गरे। ‘पाठ्यक्रम बनाउने काम सकायांै,’ शर्माले भने, ‘चाँडै पढाइ सुरु गर्छौं।’

उनका भनाइअनुसार भदौ तेस्रो सातादेखि पढाइ सुरु हुने निश्चित अझै भएको छैन। परिषद्ले विद्यालय अनुगमन गरेर विषय थपको स्वीकृति दिएकै छैन। परिषद्ले पाठ्यक्रम तयार गरेर मात्रै हुँदैन। स्वीकृतका लागि मन्त्रालयमा पठाउनुपर्ने हुन्छ। विगतमा परिषद्ले मन्त्रालयमा पठाएको पाठ्यक्रम स्वीकृति गराउन झन्डै दुई वर्ष लगाएको थियो। परिषद्ले तयार गरेको पाठ्यक्रम मन्त्रालयले विज्ञ राखेर पुन: जाँच गर्छ। ‘मन्त्रालयमा पुगेपछि पनि विज्ञ राखेर छलफल गर्दा कम्तीमा दुई साता लाग्न सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने।

उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन दिने/नदिने टुंगो नभएपछि सीटीईभीटीमा पनि सम्बन्धनका लागि आवेदन दिएको सर्वमाविका प्रधानाध्यापक चौलागाईंले बताए। मन्त्रालय स्रोतका अनुसार ९ र १० मा प्राविधिक विषय पढाउने सामुदायिक विद्यालयले सीटीईभीटीबाट पनि सम्बन्धन लिएर पढाउन दिने व्यवस्था हुन लागेको छ।

प्लस टु छाडेर सीटीईभीटी

उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन लिएर प्लस टुमा प्राविधिक विषय अध्ययनको सुनिश्चितता नभएपछि विद्यार्थीहरू सीटीईभीटीतर्फ भर्ना हुन थालेका छन्। सीटीईभीटीले लिएको प्रवेश परीक्षामा ४ सय ८५ जना सहभागी भएका थिए।

यसमा दुई सयभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको सीटीईभीटीले जनाएको छ। सीटीईभीटीका अनुसार सिभिलमा १ सय १८, बाली विज्ञानमा १ सय ९० जनाले प्रवेश परीक्षा दिएका थिए। त्यस्तै सीटीईभीटीबाट सम्बन्धन पाउँ भन्दै १२ विद्यालयले आवेदन दिएका छन्।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया