Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

एमबीबीएस तयारीमा २० करोड

बुधबार, ०२ भदौ २०७२

काठमाडौं २ भदौ / एमबीबीएस तहको प्रवेश परीक्षा तयारी कक्षा सञ्चालनबाट इन्स्टिच्युटहरूले वार्षिक २० करोड रुपैयाँभन्दा धेरैको कारोबार गर्ने गरेका छन् । इन्स्टिच्युट सञ्चालकका अनुसार एक शैक्षिक सत्रमा तयारी कक्षा लिनेको संख्या १० हजारभन्दा धेरै हुने गर्छ । यो वर्ष त्यो संख्या अनपेक्षित रूपमा वृद्धि भएको सञ्चालकहरू बताउँछन् । उनीहरूले कोर्स पूरा गर्न १६ देखि २० हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् ।

विज्ञान संकायअन्तर्गत कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी इन्स्टिच्युटहरूले एमबीबीएस तयारी कक्षा सञ्चालन गर्दै आएका छन् । सञ्चालकको तथ्यांकलाई आधार मान्दा उनीहरू यस वर्ष तयारी कक्षाका लागि २० करोडभन्दा धेरैको व्यापार गर्न सफल भएका छन् ।

तयारी कक्षा सञ्चालन गर्दै आएकोे संस्था ‘नेम’का सञ्चालक डा. नवीन शर्मा भूकम्पको विपत्तिपछि विद्यार्थीको संख्यामा वृद्धि भएको बताउँछन् । अघिल्लो वर्ष ४ हजार ५०० विद्यार्थी आफ्नो इन्स्टिच्युटमा भर्ना भएकामा यसपटक ५ हजार पुगेको उनी सुनाउँछन् । “भूकम्पपछि तयारी कक्षा लिने विद्यार्थीेको संख्यामा कमी आउने अनुमान गरिए पनि उल्टै बढेका छन्,” उनी भन्छन् ।

‘अर्बिट एमबीबीएस’का सञ्चालक सुनिल रेग्मी २ हजार विद्यार्थीले तयारी कक्षा लिइरहेको सुनाउँछन् । भन्छन्, “गत वर्षको तुलनामा एमबीबीएस परीक्षाको तयारी कक्षा लिनेको संख्या वृद्धि भएको छ ।”

‘भाइब्रेन्ट’ नामक इन्स्टिच्युटले पनि तयारी कक्षा संचालन गर्दै आएको छ ।  तयारी कक्षा लिने विद्यार्थीेको चाप नघटेको त्यहाँ अध्ययनरत एक विद्यार्थीले बताए । उनका अनुसार ४ हजार विद्यार्थीले अहिले कक्षा लिइरहेका छन् ।

तयारी कक्षा लिने विद्यार्थीको पहिलो लक्ष्य छात्रवृत्तिमा नाम निकाल्नु हुने गरेको छ । देशभर सञ्चालनमा रहेका १८ कलेजमा २०० छात्रवृत्ति कोटा उपलब्ध छ । इन्स्टिच्युट फर मेडिकल साइन्स महाराजगन्ज र मन्त्रालयको (विदेशका अवसरसहित ) छात्रवृत्तिमा नाम निकाल्न पनि विद्यार्थीले तयारी कक्षा लिने गरेका हुन् । छात्रवृत्तिमा नाम निकाल्न नसक्नेमध्ये १ हजार ८०० विद्यार्थीले निजीमा महँगो शुल्क तिरेर एमबीबीएस अध्ययन गर्ने गरेका छन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले एमबीबीएसको प्रवेश परीक्षा कक्षा १२ को नतिजा आएपछि लिने गरेका छन् । विगत वर्षजस्तै कक्षा १२ को नतिजा भदौ तेस्रो सातासम्म प्रकाशन हुने अनुमान गरिएको छ ।

कारोबारमा खबर छ ।

प्रतिक्रिया