Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

विवादले उपकुलपति नियुक्ति भद्रगोल

बुधबार, ०२ भदौ २०७२

काठमाडौं २ भदौ / आन्तरिक कारणले गर्दा शिक्षामन्त्री एवं विश्वविद्यालयकी सहकुलपति चित्रलेखा यादवले रिक्त रहेको ७ विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्न सक्नुभएको छैन।

सिफारिस समितिको औपचारिक बैठकसमेत बस्न नसकेर उपकुलपति नियुक्ति भद्रगोल भएको हो। सत्ता साझेदार नेकपा एमालेले आफ्नो भागमा त्रिविसहित तीन विश्वविद्यालयको उपकुलपति माग गरेका कारण समस्या बढेको हो।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशील कोइरालाले उपकुलपतिहरूको नाम सिफारिस गरेर नियुक्तिका लागि पेस गर्न आग्रह गर्दा पनि शिक्षामन्त्री अध्यक्ष रहेको सिफारिस समितिले करिब दुई सातासम्म पनि नाम सिफारिस गर्न सकेको छैन। सहकुलपति एवं शिक्षामन्त्री यादवले एमाले र एनेकपा माओवादीसँग छुट्टाछुट्टै छलफल गर्दा पनि समस्या समाधान हुन नसकेको हो। स्रोतका अनुसार मन्त्री यादवले एमालेका नेता एवं शिक्षा विभाग प्रमुख गंगालाल तुलाधरसँग पटक–पटक छलफल गर्नुभएको छ। तर एमालेले राजनीतिक भागवण्डाबाट दुई वटै पार्टीका सक्षम व्यक्तिलाई नियुक्ति गर्न आग्रह गर्दासमेत समस्या समाधान हुन सकेको छैन।

स्रोतका अनुसार सहकुलपति एवं शिक्षामन्त्री यादवसँग उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र गंगालाल तुलाधरबीच करिब एक साताअघि भएको कुराकानीले समेत उपकुलपति नियुक्त गर्ने विषयमा सहमति हुन सकेको छैन। एमालेले ३, एनेकपा माओवादीले १ र फोरम लोकतान्त्रिकले १ जना उपकुलपतिको दाबी गरेका कारण समस्या थपिएको छ। सबै विश्वविद्यालयको सिफारिस समितिको बैठक बसे पनि हालसम्म समस्या समाधान हुन नसकेपछि पछिल्लो १० दिनदेखि सबै विश्वविद्यालयको काम प्रायः ठप्प भएको छ। सबै विश्वविद्यालयका कर्मचारी र पदाधिकारीले उपकुलपतिविहीन भएको अवस्थामा कसरी काम गर्ने भन्ने विषयमा अन्योल थपिएको छ। सबैभन्दा ठूलो र चासोको त्रिभुवन विश्वविद्यालको उपकुलपति चयन गर्न बनेको समितिले हालसम्म नाम सिफारिस गर्न सकेको छैन।

सिफारिस समितिका सदस्य एवं नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले अहिलेसम्म औपचारिक बैठक बस्न नसकेको बताउँदै भन्नुभयो– ‘समितिको बैठक धेरैपटक बसिसकेको छ तर हालसम्म कसलाई उपकुलपति बनाउने भन्ने विषयमा निर्णय हुन सकेको छैन।’ मन्त्री यादवसँग एनेकपा माओवादीका नेता कृष्णबहादुर महराले समेत सात विश्वविद्यालयका उपकुलपति नियुक्त गर्ने विषयमा छलफल भएको थियो। नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र वडुले समेत पदाधिकारी नियुक्त गर्ने विषयमा छलफल गर्नुभएको थियो।

लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले समेत उपकुलपति नियुक्तिका बारेमा शिक्षामन्त्री यादवसँग छलफल गरिसक्नुभएको छ। जतिसुकै छलफल गरे तापनि सहमतिको विकल्प नभएको एमाले नेता एवं सभासद् गंगालाल तुलाधरले बताउनुभयो। उहँँले भन्नुभयो– ‘हामीले ३ वटा विश्वविद्यालयको उपकुलपति माग गरेका छौं, छलफल गरेर टुंगो लगाउनेछौं।’ ४ वर्षअघि तत्कालीन शिक्षामन्त्री गंगालाल तुलाधरले नेपाली कांग्रेसको भागमा दुई, एनेकपा माओवादीको भागमा एक उपकुलपतिसहित सात वटै विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको थियो।

तर नेपाली कांग्रेसका प्राध्यापकबीच नै आन्तरिक कलहका कारण विश्वविद्यालयमा उपकुलपति नियुक्त हुन नसकेको हो। ‘खै के भन्ने? बरू हामीलाई जिम्मा दिए प्राज्ञिक व्यक्तिलाई उपकुलपतिमा सिफारिस गर्ने थियौं।’ –त्रिवि उपकुलपति सिफारिस समितिका सदस्य उपाध्यायले भन्नुभयो। गुट नमिलेका कारण समस्या बढेको देखिएको छ। त्रिविको उपकुलपतिमा प्राडा तीर्थ खनियाको नाम पक्कापक्की भए तापनि समितिले नाम सिफारिस गर्न नसकेर आपसी कलह बढेको छ।

सरकारले त्रिविको उपकुलपति सिफारिस गर्न शिक्षामन्त्री यादव संयोजक र शिक्षा सचिव विश्वप्रकाश पण्डित र राष्ट्रिय योजना आयोगका सदस्य डा. यज्ञबहादुर कार्की (शिक्षा हेर्ने) सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो। अन्य विश्वविद्यालयमा सिफारिस गर्न शिक्षामन्त्री, सचिव र अन्य एक जना प्राध्यापकको समिति बनाएको थियो। उपकुलपतिविहीन हँुदा त्रिभुवन, पूर्वाञ्चल, पोखरा, कृषि तथा वन विज्ञान, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयका अधिकांश काम रोकिएको छ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया