Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

प्राविधिक एसएलसी उत्तीर्णको प्लसटु सुरु हुने

विहीबार, ०३ भदौ २०७२

काठमाडौं ३ भदौ / उच्च माध्यमिक शिक्षा परिषदले प्राविधिक प्लसटुका विद्यार्थीका लागि पा"च विषयमा नया" पाठ्यक्रम तयार गरेको छ। यस वर्ष पहिलोपल्ट एसएलसीमा प्राविधिकतर्फका ३२ सय ५० विद्यार्थी सबै उत्तिर्ण भएका थिए। परिषदले नयाँ पाठ्यक्रम तयार पारेपछि एसएलसीपछि ती विद्यार्थीको कहाँ र के पढ्ने अन्योल हट्ने भएको छ।

परिषदद्वारा नियुक्त विज्ञ टोलीले कक्षा ११ र १२ का लागि पाँच विषयको पाठ्यक्रम तयार पारेको हो। परिषदले बुधबार पाठ्यक्रम सार्वजनिक गरेको छ।

परिषद प्लसटुमा कृषि र इन्जिनियरिङ अध्यापन गराउने तयारी गरेको छ। इन्जिनियरिङतर्फ सिभिल, कम्प्युटर र इलेक्ट्रिकल तथा कृषितर्फ प्लान्ट र एनिमल साइन्स पठनपाठन गराउने परिषदले तयारी गरिरहेको छ।

पाँचवटै विषयका पाठ्यक्रममाथि भएको छलफलमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु ठाकुरले अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएकाले सबै सामुदायिक विद्यालयमा लागू गर्न सुझाव दिइन्। उनले कक्षा १२ पछि सम्बन्धित विषयमा ६ महिने व्यावहारिक तालिमको समेत पाठ्यक्रममा समावेश गर्न सुझाइन्।

परिषदले प्राविधिक शिक्षा लागू गरेका ९९ सामुदायिक विद्यालयमध्ये पूर्वाधार र स्रोतसाधन सम्पन्न विद्यालयलाई कक्षा ११ र १२ अध्यापनको अनुमति दिन आग्रह गरिन्।

प्राविधिक तथा व्यावसायिक विद्यालय सञ्जालका अध्यक्षसमेत रहेका श्री पदम उमावि भक्तपुरका प्रिन्सिपल राम हाडाले दुई वर्षअघि नै विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत सरकारले ९९ वटा विद्यालय छनौट गरी प्राविधिक शिक्षा लागू गरेको बताए।

उच्चमाध्यामिक शिक्षा परिषदका पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा प्रमुख जंगबहादुर अर्यालले प्राविधिक शिक्षा अध्यापन गराउन परिषदमा ८७ निवेदन परेको जनाए। उनले साताभित्रै प्लसटुको अनुगमन गरी कक्षा ११ र १२ मा इन्जिनियरिङ तथा कृषि अध्यापनयोग्य ठहर भएका विद्यालयलाई परिषदले अनुमति दिने बताए। 'भदौ तेस्रो सातादेखि प्राविधिक एसएलसी उत्तिर्ण विद्यार्थीले कक्षा ११ मा अध्ययन थाल्नेछन्,' प्रमुख अर्यालले भने, 'परिषदले कक्षा ११ मा प्राविधिक शिक्षा अध्यापनको तयारी पूरा गरिसकेको छ।'

सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित दुई वर्षअघि ७१ जिल्लाका ९९ विद्यालयमा कक्षा ९ र १० मा प्राविधिक शिक्षा अध्यापन सुरु गरेको थियो।
नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया