Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

‘कापी किन्न १० रुपियाँ छैन’

शुक्रबार, ०४ भदौ २०७२

काठमाडौं ४ भदौ / अछाम लुंग्रा गाविस–७ निवासी १२ वर्षीया मनीषा विक ३ वर्ष पहिले आमाले अर्कैसँग बिहे गरेर छोडी गएपछि अलपत्र अवस्थामा थिइन्। आमा खन्टीले छोडेपछि बुबा सुर्जको मानसिक सन्तुलन गुमेको र त्यसपछि सहाराविहीन बनेकी मनीषाले पढाइबाट समेत टाढिनुपर्यो।

हजुरआमा पिउली विकसँग बस्दै आएकी मनीषाको पढाइ निरन्तर गर्न हजुरआमासँग कुनै स्रोत छैन। अर्मपर्म गरेरै भए पनि हजुरआमाले गर्ने खेती किसानीबाट २⁄३ महिनालाई पनि खान पुग्दैन। ‘कापी किन्न आफूसँग १० रुपियाँ पनि हुँदैन’, मनीषाकी हजुरआमा पिउलीले भनिन्– ‘खेती गरेर २⁄३ महिना पनि खान पुग्दैन, कहाँबाट कापीकलम किनेर नातिनीलाई पढ्न पठाउने ?’

वाक नेपाल नामक संस्थामार्फत सञ्चालित एकीकृत शिक्षा परियोजनाले गरेको सहयोगलाई सरकारले गरेको सहयोग बताउने उनले सरकारले सहयोग गर्दा नातिनीको पढाइ निरन्तर गर्नतर्फ आफ्ना आँखा खुलेको बताइन्। ‘सरकारको जय होस्’, उनले भनिन्– ‘अझ आउँदा दिनमा पनि सरकारबाट यस्तो सहयोग मिली नै राखोस्।’ घरको स्थिति अत्यन्तै नाजुक रहेकाले आफ्नै बलबुतामा नातिनीको बढाई निरन्तर गर्न सक्ने स्थितिमा आफू नरहेको उनले बताइन्। ‘अब कापीकलमसमेत उपलब्ध गराइदिनुपर्यो’, नेपाल समाचारपत्रसँगको कुराकानीमा उनले भनिन्– ‘नातिनीले कापीकलम चाहियो भन्छे आफूसँग कापीकलम किन्न १० रुपियाँ पनि छैन।’

सेभ द चिल्ड्रेनको सहयोगमा वाक नेपालद्वारा सञ्चालित एकीकृत शिक्षा परियोजनाको सहयोगमा विद्यालय छोडेका तथा छोड्ने तयारीमा रहेका विद्यार्थी पुनः विद्यालय फर्किन थालेका छन्। शिक्षा परियोजना लागू भएका गाविसहरूमा परियोजनामार्फत जोखिममा रहेका र अति विपन्न परिवारका विद्यार्थीलाई विभिन्न खाले सहयोग प्राप्त भएसँगै विद्यार्थीहरू पुनः विद्यालय फर्किन थालेका हुन्।

विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा अन्य आकस्मिक सहयोगसमेत कार्यक्रमबाट उपलब्ध हुँदै आएका छन्। जोखिममा रहेका र अति विपन्न समुदायका विद्यार्थीलाई खाद्यान्न सहयोगसमेत हुँदै आएको छ।

वाक नेपालमार्फत सञ्चालित एकीकृत शिक्षा परियोजनाको आकस्मिक सहयोग कोषबाट मनीषालाई १ क्विन्टल चामल र ५ किलो दाल उपलब्ध गराइएको परियोजनाका सामाजिक परिचालन अधिकृत दीक्षा भाटले जानकारी दिनुभयो। उनलाई थप शैक्षिक सामग्रीहरू अब छिट्टै उपलब्ध गराइने उहाँले बताउनुभयो। खाद्यान्न सहयोग गरेर बीचमा पढाइ चटक्क छोडेकी मनीषाको पढाइ निरन्तर गर्न आफूहरू सफल भएको बताउँदै उहाँले यो कार्यक्रमको ठूलो सफलता भएको बताउनुभयो। यस्तै गाउँ बाल संरक्षण समिति लुंग्राका अध्यक्ष पूर्ण खड्काले संस्थाले राम्रो काम गरेको बताउनुभयो। संस्थाले शिक्षा क्षेत्रमा उल्लेख्य सुधार ल्याएको उहाँको बुझाइ छ।

कार्यक्रमहरूमा भत्ताको व्यवस्था नभएका कारण प्रभावकारी ढंगले कार्यक्रम गर्न नसकिएको उहाँले बताउनुभयो। वाक नेपालमार्फत सञ्चालित एकीकृत शिक्षा परियोजना बालबालिकाका लागि अभिभावकका रूपमा उदाएका गाउँ बाल संरक्षण समितिका सचिव रामबहादुर कुँवरको भनाइ छ। परियोजनाले बालबालिकाको पढाइमा सुधार ल्याउनुका साथै शिक्षण सिकाइमा पनि उल्लेख्ये सुधार आएको उहाँले बताउनुभयो। एकीकृत शिक्षा परियोजनाले निर्वाह गरिरहेको अभिभावकको भूमिका निरन्तर कायम हुनुपर्ने उहाँले बताउनुभयो।

एकीकृत शिक्षा परियोजना लागू भएपछि पढाइ छोड्ने स्थितिमा पुगेका विद्यार्थीसमेत विद्यालय आउन थालेको गाविस स्तरीय बाल क्लब लुंग्राका अध्यक्ष विनोद विकले बताउनुभययो। आर्थिक रूपमा विपन्न समुदायका विद्यार्थीलाई कार्यक्रममार्फत सहयोग भइरहेको उहाँको भनाइ छ। आफूले पनि विद्यार्थीलाई विद्यालयमा आउन सकारात्मक सहयोग गर्ने गरेको उहाँले बताउनुभयो। त्यस्तै श्री दयापिपलतोला माविमा गठित विद्यालय स्तरीय बाल क्लबका अध्यक्ष पदमराज जोशीले अहिले विद्यार्थी पढाइप्रति आकर्षित हुँदै गएको बताउनुभयो।

शिक्षा परियोजनामार्फत गाउँमा चेतनामूलक कार्यक्रम सञ्चालन हुन थालेपछि विद्यार्थी तथा अभिभावकमा चेतना बढ्दै गएको उहाँको भनाइ छ। परियोजना सञ्चालन भएपछि शिक्षकहरू पनि दक्ष बनेको उहाँले बताउनुभयो। परियोजनामार्फत शिक्षकले तालिम पाएपछि शिक्षण पद्धतीमा समेत सुधार आएको उहाँको भनाइ छ।

नेपाल समाचारपत्रमा विष्णुप्रसाद भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया