Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

साढे तीन लाखले छाडे बीचैमा पढाइ

शुक्रबार, ०४ भदौ २०७२

साढे तीन लाखले छाडे बीचैमा पढाइकाठमाडौं ४ भदौ / शैक्षिक सत्रको सुरुमा स्कुलमा विद्यार्थी भर्ना गर्न सरकारले अभियान चलाउँदै आएको छ । तर, वर्षभरिमा साढे तीन लाख विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेका छन् । बीचैमा कक्षा छाड्नेमा छात्राभन्दा छात्रको संख्या धेरै छ ।

कक्षा एकदेखि दशसम्म गरी गत वर्ष तीन लाख ४२ हजार ६ सय ३२ विद्यार्थीले बीचैमा कक्षा छाडेको शिक्षा विभागको तथ्यांक छ । कक्षा छाड्नेमा एक लाख ७४ हजार पाँच सय तीन छात्र र एक लाख ६८ हजार एक सय २९ जना छात्रा छन् । गत वर्ष कक्षा एकदेखि दशसम्म गरी ७० लाख ७१ हजार विद्यार्थी स्कुल भर्ना भएको विभागको तथ्यांक छ । विगतको तुलनामा गत वर्ष कक्षा छाड्ने विद्यार्थी घटेको शिक्षा मन्त्रालयको दाबी छ ।

संख्यात्मक रूपमा धेरै विद्यार्थीले बीचैमा पढाइ छाड्ने जिल्लामा धनुषा, महोत्तरी, सिरहा, बारा, दैलेख, दाङ, कैलाली, काभ्रे, मोरङ, नवलपरासी, रुपन्देही, सुर्खेतलगायतका छन् । प्राथमिक तहमा चार दशमलब दुई प्रतिशत विद्यार्थीले कक्षा छाडेका छन् । कक्षा ६ मा चार दशमलब नौ, सातमा पाँच दशमलब एक, कक्षा आठमा ६ प्रतिशत, कक्षा नौमा चार दशमलब पाँच र दश कक्षामा ६ दशमलब चार प्रतिशत विद्यार्थीले बीचैमा कक्षा छाडेको विभागले जनाएको छ ।

त्यस्तै विकट र हिमाली जिल्लामा धेरै विद्यार्थीले बीचैमा कक्षा छाडेका छन् । प्रतिशतका हिसाबले ०७१ मा सबैभन्दा बढी हुम्लामा प्राथमिक तहमा १७ दशमलब सात, लमजुङमा १५ दशमलब पाँच, धनकुटामा १५ दशमलब चार, डडेल्धुरामा १३ दशमलब ६, डोल्पामा १२, इलाममा ११ दशमलब चार प्रतिशत विद्यार्थीले बीचैमा कक्षा छाडेको विभागको विवरण छ ।

विभागका अनुसार देशभरमा सबैभन्दा बढी कक्षा एकका विद्यार्थीले बीचैमा कक्षा छाडेका छन् । ०७१ मा सबैभन्दा बढी ७३ हजार नौ सय ५१ विद्यार्थीले कक्षा छाडेका छन् । कक्षा एकमा बीचमै पढाइ छाड्नेमा छात्रभन्दा छात्रा धेरै छन् । ३९ हजार एक सय ९५ छात्रा र ३४ हजार सात सय ५६ जना छात्रले कक्षा एकको पढाइ बीचैमा छाडेका हुन् ।

छात्राभन्दा धेरै छात्रले छाड्छन् कक्षा
विद्यार्थीले किन छाड्छन् बीचैमा पढाइ ?
घरको आर्थिक अवस्था मुख्य कारण

डा. हरि लम्साल
प्रवक्ता, शिक्षा मन्त्रालय

आफ्नै, घर, साथीभाइको संगतका कारण विद्यार्थीले ड्रपआउट गरेको देखिन्छ । यसको मुख्य कारण घरको आर्थिक अवस्था हो ।
विद्यार्थीको अवस्था अध्ययन भएन

प्रा.डा. तीर्थराज खनियाँ
शिक्षाविद्

बालबालिका किन पढ्न आएनन् ? विद्यालय आएर पनि किन बीचैमा छाड्छन् ? यो विषयमा सरकारको तर्फबाट अध्ययन भएन ।
पढाइ छाड्ने हिमाली र पहाडी जिल्लामा धेरै

०७१ मा सबैभन्दा बढी हुम्लामा प्राथमिक तहमा १७.७, लमजुङमा १५.५, धनकुटामा १५.४, डडेल्धुरामा १३.६, डोल्पामा १२, इलाममा ११.४ प्रतिशत विद्यार्थीले बीचैमा कक्षा छाडेको शिक्षा विभागको तथ्यांक छ

कक्षा दुईमा ३१ हजार दुई सय १४ विद्यार्थीले बीचैमा कक्षा छाडेकामा १४ हजार ६८ छात्रा र १७ हजार एक सय ४६ छात्र रहेको विभागले जनाएको छ । कक्षा तीनमा ३१ हजार आठ सय १० ले बीचैमा छाडेका थिए । तीमध्ये १४ हजार पाँच सय एक छात्रा र १७ हजार तीन सय नौ छात्र हुन् ।

कक्षा चारमा १६ हजार दुई सय छात्रा र १६ हजार चार सय आठ छात्र गरी ३२ हजार ६ सय आठ, कक्षा पाँचमा १४ हजार तीन सय ७५ छात्रा र १४ हजार ६ सय १६ छात्र गरी २८ हजार नौ सय ९१ जनाले बीचैमा छाडेको विभागले जनाएको छ । कक्षा ६ मा ३२ हजार नौ सय २३ विद्यार्थीले बीचैमा छाडेकामा १३ हजार पाँच सय ९२ छात्रा र १९ हजार तीन सय ३१ छात्र थिए ।

कक्षा सातमा ३१ हजार पाँच सय ६८ ले कक्षा छाडेकामा १४ हजार ६ सय ११ छात्रा र १६ सय नौ सय ५७ छात्र हुन् । कक्षा आठमा ३३ हजार नौ सय ६ विद्यार्थीले कक्षा छाडेका छन् । तीमध्ये १७ हजार चार सय ४० छात्रा र १६ हजार चार सय ६६ छात्र हुन् ।

माध्यमिक तहमा बीचैमा कक्षा छाड्नेमा छात्रा संख्या धेरै छ । कक्षा नौमा देशभर २२ हजार एक सय २३ जनाले बीचैमा कक्षा छाडेका छन् । त्यसमध्ये ११ हजार नौ सय आठ छात्रा र १० हजार दुई सय १५ छात्र छन् । कक्षा १० मा १२ हजार दुई सय ३९ छात्रा र ११ हजार दुई सय ९९ छात्र गरी २३ हजार पाँच सय ३८ जनाले बीचैमा पढाइ छाडेको विभागले जनाएको छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया