Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

विद्यार्थीद्वारा पढ्न पाउनु पर्ने माग सहित प्रर्दशन

आइतबार, १३ भदौ २०७२

- शेखर ढकाल / सुनसरी १३ भदौ / लामो समयदेखिको आमहड्तालका कारण शैक्षिक संस्थाहरु बन्द भएर पढ्न नपाएका दुहबीका एक दर्जन विद्यालयका विद्यार्थीले आइतबार र्याली सहित प्रदर्शन गरेका छन् ।

शैक्षिक संस्थालाई बन्द हड्ताल मुक्त बनाउन माग गर्दै विभिन्न विद्यार्थीले बन्द आह्वानकर्तालाई आग्रह पनि गरेका थिए ।  शैक्षिक सत्रलाई नै प्रभावित बनाउने गरी भएको बन्दले शैक्षिक क्षेत्रलाई ध्वस्त बनाएको भन्दै बन्द, आन्दोलन, आम हड्ताल लगायतका कार्यक्रममा शैक्षिक संस्थालाइ प्रभावित नपार्न जुलुसमा सहभागी विद्यार्थीको आग्रह थियो ।

विद्यार्थीले बिद्यालय शान्ति क्षेत्र घोषणा गर, शिक्षामा राजनीति बन्द गर, हामी शान्ति चाहन्छौ, हामी पढ्न चाहन्छौ, अरूको देश बन्दैछ हाम्रो देश बन्द छ, शान्ति पूर्वक पठन पाठन गर्न देउ जस्ता प्ले कार्ड बोकेर नाराहरू लगाउदै दुहबी बजार परिक्रमा गरेका थिए ।

शिक्षा आर्जन गर्ने समयमा निरन्तर भएको बन्दले भविष्य अन्योल भएको भन्दै विद्यार्थीले र्याली निकाल्नु परेको बताए । र्यालीमा सरस्वती उच्च मावि, महेन्द्र मेमोरियल स्कुल, माउण्ट मनास्लु स्कुल लगायत दुहबीका विभिन्न निजी तथा सार्वजनिक विद्यालयका छात्र छात्राहरु सहभागि थिए ।

१५ दिन देखि थरुहट संघर्ष समिति र मधेशी मोर्चाले गरेको हड्तालका कारण दुहवी तथा आसपासका क्षेत्रका विद्यालय, कलेज लगायतका शैक्षिक संस्थाहरु निरन्तर बन्द हुँदा लाखौ विद्यार्थी पढाइबाट बञ्चित छन् । यसकै विरुद्ध विद्यार्थी संगठित भएर र्याली निकालेका हुन ।

प्रतिक्रिया