Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

तंग्रिन सकेन दरबार हाइस्कुल

विहीबार, १० भदौ २०७२

तंग्रिन सकेन दरबार हाइस्कुलकाठमाडौं १० भदौ / विनाशकारी भूकम्पको पाँच महिना बितिसक्दा पनि मुलुकको जेठो विद्यालय ‘दरबार हाइस्कुल’ तंग्रिन सकेको छैन ।
१२ वैशाखको विनाशकारी भूकम्पले भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएपछि विद्यालयको चौरमा पठनपाठन चलिरहेको छ, तर साह्रै कष्टपूर्वक । ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माणमा उल्लेख्य प्रगति नहुँदा झन्डै डेढ सय विद्यार्थीको बिचल्ली भएको छ ।
टहरामा पढाइ

चौरमा पाल र जस्ताले बारिएका साँघुरा टहरोमा जेनतेन पठनपाठन चलिरहेको छ । टहरोलाई बाँसको चित्रोले छुट्याएर स–साना कोठा निर्माण गरिएका छन् । ती कोठामा केही थान बेन्च छन् । विद्यार्थी संख्या बढी भएकाले कोच्चिएर अध्ययन गर्नुपर्ने बाध्यता विद्यार्थीले भोग्दै आएका छन् ।

‘योभन्दा अर्को विकल्प छैन,’ विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले भने, ‘वरिपरि कतै भवन छैन, खाली जग्गा पनि छैन । घर भाडामा लिएर पढाउने क्षमता विद्यालयसँग छैन ।’ जसरी पनि विद्यार्थीलाई पढाउनैपर्ने बाध्यताका कारण चौरमा जस्तापाता र पालले बेरेर टहरामा पढाइरहेको उनले बताए ।

विद्यार्थीको कन्तबिजोग

अस्थायी विद्यालयमा विद्यार्थीले धेरैखाले समस्या भोग्नुपरेको छ । ‘घाम चर्किएका वेला टिन तातेर हपहपी हुन्छ भने पानी दर्किएका वेला थर्किएर पढाएको केही सुनिँदैन,’ एक विद्यार्थीले भने ।

बर्खाको समय भएकाले विद्यार्थीले दर्कने पानीमा शिक्षकले पढाएको केही नसुनिने समस्या बढी भोग्ने गरेका छन् । ‘पानी पर्दा जस्ता थर्किएर मात्र होइन, पालबाट पानी चुहिएर पनि समस्या हुने गरेको छ,’ अर्का विद्यार्थीले थपे, ‘ठूलो पानी परेका वेला त कक्षाकोठाभित्रै भेलबाढी छिर्छ ।’
प्रअ महतो यो कुरा स्विकार्छन् । जस्ता थर्किएर आउने आवाजले धेरै समस्या बनाएको उनले पनि अनुभव गरेका छन् । ‘समस्या मैले प्रत्यक्ष अनुभव गरिरहेको छु, तर भोग्नुको विकल्प छैन,’ उनले भने, ‘शिक्षकले पढाएको विद्यार्थीले बुझ्नै मुस्किल पर्छ ।’

एउटा कक्षामा पढाएको आवाज अर्को कक्षाकोठामा सजिलै पुग्ने समस्याले पनि विद्यालयलाई पिरोलेको छ । बाँसको चित्रोले बारिएका कोठा भएका कारण एउटा कक्षामा पढाएको अर्को कोठामा सजिलै सुनिने गरेको प्रधानाध्यापकले बताए । उनले भने, ‘त्यसले विद्यार्थी ‘कन्सन्ट्रेट’ हुन नसक्दा पढाइमा असर परिरहेको छ ।’
विद्यार्थी घटे

मुलुककै पुरानो यो विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ । एक सय ९० जना विद्यार्थी छन् । गत वर्षको तुलनामा यो संख्या ३५ ले घटेको हो । विद्यालयका अनुसार भूकम्पले विद्यालय भवन नै ध्वस्त बनाएपछि अभिभावकले विद्यार्थी पठाउन छाडे ।
ऐतिहासिकता बन्यो बोझ

तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९१० मा दरबार हाइस्कुल स्थापना गर्न लगाएका थिए । त्यसैले यो ऐतिहासिक छ । अहिले आएर यही ऐतिहासिकता बोझ बनेको छ ।

विद्यालय रहेको भवन ऐतिहासिक सम्पदाअन्तर्गत पर्ने भएकाले बनाउन त के भत्काउनसमेत सरकारको स्वीकृति लिनुपर्छ । झन्झटिलो प्रक्रियाका कारण विद्यार्थी मारमा परेका छन् ।

प्रअ महतोले भने, ‘ऐतिहासिक भवन हाम्रा लागि निकै बोझिलो बनेको छ । नयाँ भवन बनाउन त परको कुरा, भत्काउनसमेत स्वीकृति लिनुपर्छ । सामान्य भवन भएको भए केही महिनाअघि नै विकल्प खोजिने थियो ।’

भूकम्पले ध्वस्त भवन पुनर्निर्माणका लागि सघाउन चाहनेहरू नआएका होइनन् । तर, यही झन्झटिलो प्रक्रियाका कारण उनीहरूले हात हाल्न नसकेको प्रअ महतोले बताए ।

नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।

प्रतिक्रिया