Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

शिक्षण पेसा छाडेर कुखुरा फार्म सञ्चालन

विहीबार, १० भदौ २०७२

काठमाडौं १० भदौ / खोटाङका एक व्यक्तिले शिक्षण पेसा छाडेर व्यावसायिक कुखुरा फार्म सञ्चालन गर्नुभएको छ ।

दिक्तेल नगरपालिका–३ का सुवास जोशीले लामो समयदेखि गर्दै आएको शिक्षण पेसा छाडेर कुखुरा फार्म सञ्चालन गर्नुभएको हो । जिल्लामा ब्रोइलर कुखुराको मासु सुपथ मूल्यमा सबै उपभोक्तासमक्ष पु¥याउने उद्देश्यले शिक्षण पेसा छाडेर कुखुरा फार्म सञ्चालन गरेको उहाँको भनाइ छ ।

“अहिले प्रत्येक दिन २५० देखि ३०० किलोसम्म बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “घरखर्च कटाएर मासिक रु ४० देखि रु ५० हजारसम्म बचत हुन्छ ।”

उन्नाइस वर्षसम्म शिक्षण पेसा गर्नुभएका जोशीले सदरमुकाम दिक्तेलमा त्रिशक्ति पोल्ट्रीफार्म दर्ता गरेर व्यावसायिक कुखुरापालन सञ्चालन गर्नुभएको हो । जोशीले पञ्च माध्यमिक विद्यालय ६ वर्ष र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा १३ वर्ष शिक्षण पेसा गर्नुभएको थियो ।

शिक्षण पेसा छाडेर व्यावसायिक कुखुरा फार्म सुरु गर्नुभएका जोशीले अहिले ११ जना स्थानीय युवालाई रोजगारीसमेत दिनुभएको छ । खान, लाउन र बस्नसहित सातजनालाई प्रतिव्यक्ति मासिक रु आठ हजार र एकजना प्राविधिकलाई रु १५ हजार तलब दिँदै आउनुभएको छ ।

जोशीले सञ्चालन गर्नुभएको फार्ममा अहिले मासिक पाँच हजार ब्रोइलर कुखुरा उत्पादन हुने गरेको छ । उत्पादित कुखुरा सदरमुकाम दिक्तेलको विभिन्न ठाउँमा सञ्चालन गरिएको बिक्री केन्द्र तथा मुडे ब्यारेक, हलेसी गुल्म र जिल्ला प्रहरी कार्यालयमा खपत हुने गरेको जोशीले जानकारी दिनुभयो ।

नौ वटा फार्मलाई दाना, चल्ला, औषधि दिएर सहयोग गर्नुका साथै निःशुल्क प्राविधिक सेवासमेत उहाँले उपलब्ध गराउँदै आउनुभएको छ । स्थानीय बासिन्दाको समन्वयमा दोर्पा र पाथेकामा त्रिशक्ति पोल्ट्री फार्मको उपशाखासमेत खोल्नुभएको छ ।

ब्रोइलर कुखुराको फार्म सञ्चालन गरिरहनुभएका जोशीले पछिल्लो समय अण्डा उत्पादन गर्ने लेयर्स कुखुराका साथै बङ्गुर फार्मसमेत सुरु गर्नुभएको छ ।

भर्खरै सुरु गर्नुभएको लेयर्स कुखराले अहिले दैनिक एक हजार ५०० अण्डा दिन थालेका छन् । जिल्लामा पहिलो पटक कुखुरा फार्म सुरु गर्नुभएका उहाँले पछिल्लो समय अन्य कृषकलाई समेत एकीकृत बनाएर कालिका कृषि सहकारी खोल्नुभएको छ । जोशी सो संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ । रासस

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया