Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

अभिभावकले शिक्षक कुटेपछि विद्यालय बन्द

शनिबार, १२ भदौ २०७२

काठमाडौं १२ भदौ / अभिभावकले बिद्यालयमा कार्यरत शिक्षक कुटेपछि बिद्यालय बन्द भएको छ। बिजयपुर उच्च मावि रोडीदेवल–७ तितावै बैतडीमा कार्यरत शिक्षक जगदिश चन्द र हरिसिंह घटाललाई कुटपिट गरी अन्य शिक्षकहरुलाई गाली गलौच गरेको भन्दै सुरक्षाको लागि शिक्षकहरु सदरमुकाम आएपछि बुधबारदेखी बिद्यालय बन्द भएको हो।
विद्यालय व्यवस्थापन समिति सदस्य तारा चन्दको नेतृत्वमा ४०/५० जनाको संख्यामा आएका अभिभावकहरुको समूहले विद्यालयमा आएर शिक्षकहरुलाई कुटपिट र गाली बेइज्यत गरी ज्यान मार्ने धम्की समेत दिएकोले सुरक्षाको लागि जिल्ला सदरमुकाम आएको शिक्षिका गीता जोशीले बताइन।

विद्यालयमा त्रैमासिक परीक्षा चलीरहेका बेला शिक्षकहरुलाई कक्षा कोठामा हातपात गरी कुटपिट भएको शिक्षकहरुले बताएका छन।गत बुधबार कक्षा ९ मा अध्ययनरत बिद्यार्थी रामसिंह भाटले चिट चोरेको देखेपछि प्रअ तारा दत्त भट्टले चिट खोस्दा उल्टै बिद्यार्थीले गाली गरेपछि शिक्षकले ती बिद्यार्थीलाई नसियत दिएका थिए। त्यही बिषयलाई लिएर आक्रमण भएको शिक्षकहरुले बताएका छन।

'बाहिरबाट आएका शिक्षक चाहिदैन भन्ने बिद्यालय व्यवस्थापन समितिको मनसाय भएकोले हामीलाई निशाना बनाइएको हो' शिक्षक हरिसिंह घटालले भने 'कक्षाकोठामा भित्रै लाठी, मुक्काले मरणासन्न हुने गरी कुटे।'

सुरक्षाको लागि शिक्षकहरु सदरमुकाम आएपछि बिद्यालयमा चलिरहेको परीक्षा समेत अवरुद्ध भएको छ। शिक्षकहरुले असुरक्षाको महसुस गरी सरुवाको लागि जिल्ला शिक्षा कार्यालयमा लिखित निवेदन दिएका छन।

विद्यालयमा भएको घटना देखाउँदै शिक्षा कार्यालयमा शिक्षकहरुले अन्यत्र सरुवाको लागि आग्रह गरेका छन। स्थानीय अभिभावकहरुले गाविस बाहिरका शिक्षकलाई हटाउन दवाव दिने उदेश्यले बेला–बेलामा तनाव दिने गरेको आरोप शिक्षकहरुले लगाएका छन।

अभिभावकले बिद्यालयमा आएर शिक्षकहरुलाई कुटपिट गरिएयता शिक्षकहरु तनावमा छन। बिद्यालयमा कार्यरत २१ जना शिक्षक तनावमा रहेको प्रअ भट्टले बताए।

पीडित शिक्षकहरुले कार्यालयमा लिखित जानकारी गराएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। घटनाको सत्यतथ्य बुझी अगाडीको कामकार्वाहीमा जाने जिल्ला शिक्षा अधिकारी अम्मर भट्टले बताए।

नागरिकमा बिरा गडालको खबर छापिएको छ ।

प्रतिक्रिया