Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

उपकुलपति नियुक्तसँगै पाँच विश्वविद्यालय ठप्प

शनिबार, १२ भदौ २०७२

काठमाडौं १२ भदौ / विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त भएसँगै तालाबन्दीको शृंखला सुरु भएको छ । प्राध्यापकका संगठनहरू तालाबन्दीमा उत्रिएका छन् भने केही विद्यार्थी संगठनले भागबन्डाको विरोध गरेका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशील कोइरालाले आइतबार राति त्रिभुवन, नेपाल संस्कृत, पूर्वाञ्चल, सुदूरपश्चिम र सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका थिए । चारवटामा कांग्रेस र कृषिमा एमाओवादीको कोटामा उपकुलपति नियुक्त गरिएको हो ।

एमालेको कोटामा पोखरा र मध्यपश्चिम विश्वविद्यालय परेको छ । तर, एमालेले उपकुलपतिको उम्मेदवारको नाम सिफारिस गरेको छैन । उपकुलपति नियुक्त भएका पाँचवटै विश्वविद्यालयमा ताला लागेको छ ।

केही उपकुलपतिले केन्द्रीय कार्यालय टेक्न नपाउँदै तालामाथि ताला थपिएका छन् । उपकुलपति कार्यालयमा ताला लागेपछि नवनियुक्त उपकुलपतिको स्वागत पनि अन्यत्रै गरिएको थियो ।

उपकुलपति नियुक्त भएसँगै विश्वविद्यालयमा नेपाल प्रगतिशील प्राध्यापक संगठन र तराई मधेस लोकतान्त्रिक प्राध्यापक संघले तालाबन्दी गरेका हुन् । शिक्षामन्त्रीले एकलौटी रूपमा नाम सिफारिस गरेको भन्दै प्रगतिशील प्राध्यापक संगठनले पाँचवटै विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।
प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष डा. यादव लामिछानेले शिक्षामन्त्रीको एकलौटी निर्णयका विरुद्ध पाँचवटै विश्वविद्यालयमा ताला लगाएको बताए । संगठनले त्रिविको मूलगेट र उपकुलपतिको कार्यालयमा ताला लगाएको छ । कार्यालयमा ताला लागेपछि नवनियुक्त उपकुलपतिलाई स्मृति भवनमा स्वागत गरिएको थियो ।

ताला लागेपछि आन्दोलनरत प्राध्यापकलाई त्रिविले वार्तामा बोलाएको, तर निष्कर्षविहीन भएको लामिछानेको भनाइ छ । ‘तालाबन्दी अहिलेको अवस्थामा अनिश्चितकालीन हुन्छ । त्रिविले बिहीबार वार्तामा बोलायो, राजनीतिक तवरबाट मात्र माग पूरा हुने भएकाले कुरा राख्ने काम मात्र भयो,’ लामिछानेले भने, ‘उपकुलपतिले तपाईंहरूको कुरा राजनीतिक भएकाले माथि पुर्‍याउने भन्नुभएको छ ।’ सातवटा विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएकोमा चारमा एकतर्फी ढंगले सिफारिस गरी नियुक्ति गरिएकोमा आफूहरूको विरोध रहेको पनि उनको भनाइ छ ।
तालाबन्दीका कारण नेपाल संस्कृत विश्वविद्यालयमा सबै काम ठप्प भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा भने उपकुलपतिको कार्यालयमा मात्र ताला लागेको छ । सो विश्वविद्यालयमा परीक्षालगायतका काममा भने अवरोध छैन । रामपुरस्थित कृषि विश्वविद्यालय पनि ठप्प छ ।

पूर्वाञ्चल विश्वविद्यालय पनि तालाबन्दी गरेर ठप्प पारिएको प्रगतिशील प्राध्यापक संगठनका अधिकारीहरूले बताएका छन् । प्रगतिशीलले उपकुलपतिको कार्यालयमा लगाएको तालामाथि तराई मधेस लोकतान्त्रिक प्राध्यापकले पनि ताला थपेको छ । ताला लागेपछि सो विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनप्रसादलाल दासलाई परीक्षा नियन्त्रण कार्यालयमा स्वागत गरिएको थियो ।

स्रोतका अनुसार एमालेको भागमा त्रिविका रेक्टर वा रजिस्ट्रारमध्ये एउटा कोटा सुरक्षित भए मात्र ताला खोल्ने योजना प्रगतिशील प्राध्यापक संगठनको छ । त्रिविका रेक्टर र रजिस्ट्रार साढे तीन महिनापछि खाली हुँदै छन् । अन्य विश्वविद्यालयमा पनि रजिस्ट्रारमा आफ्नो कोटा सुरक्षित गर्ने पक्षमा एमालेनिकट प्राध्यापकहरू छन् ।

शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले गरेको सिफारिसका आधारमा कुलपतिबाट पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको थियो । त्रिविमा प्रा.डा. तीर्थराज खनियाँ, नेपाल संस्कृतमा प्रा. गुणप्रसाद कोइराला, पूर्वाञ्चलमा प्रा.डा. घनश्यामलाल दास, सुदूरपश्चिमाञ्चलमा भूषण श्रेष्ठ, कृषि तथा वन–विज्ञान विश्वविद्यालयमा डा. ईश्वरप्रसाद ढकाल नियुक्त भएका हुन् ।

२३ साउनदेखि सात विश्वविद्यालयमा उपकुलपति रिक्त थिए । तत्कालीन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति झलनाथ खनालले २३ साउन ०६८ मा सातवटा विश्वविद्यालयमा एकैपटक उपकुलपति नियुक्त गरेका थिए । त्यतिवेला चारवटा विश्वविद्यालयमा एमालेनिकट प्राध्यापकलाई उपकुलपति नियुक्त गरिएको थियो ।

०६८ मा उपकुलपति नियुक्त गर्दा कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघ र एमाओवादीनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन तालाबन्दीमा उत्रेका थिए । त्यतिवेला आन्दोलनमा उत्रेका प्राध्यापक संगठनबाट अहिले उपकुलपति नियुक्त भएका छन् ।

नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले विश्वविद्यालयमा भागबन्डाको विरोध गरेको छ । अध्यक्ष शरद रसाइलीले विगतमा विश्वविद्यालयमा भागबन्डा नगर्न गरेको सहमतिविरुद्ध गएकोमा विरोध गरिएको बताए ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया