Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

शैक्षिक संस्था थप दुई दिन बन्द

शनिबार, १२ भदौ २०७२

लगातार १८ दिनदेखि विद्यालय बन्द हुँदा बालबालिका पढ्नबाट बञ्चित

काठमाडौं १२ भदौ / दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेसँगै बन्द गरिएका यस क्षेत्रका शैक्षिक संस्थाहरु फेरि थप दुई दिन बन्द हुने भएका छन् । शुक्रबारसम्ममका लागि बन्द गरिएका शैक्षिक संस्था आइतबार र सोमबार पनि बन्द हुने भएका छन् ।

जिल्लाका राजनीतिक दलहरुसँगको छलफलपछि सोमबारसम्म केही राजनीतिक निकास निस्कने आशामा थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले बताए ।

कैलालीमा प्रहरीको ज्यान जानेगरी हिंसा भड्किएपछि साउन ७ देखि २२ गतेसम्म जिल्लाका मुख्य शहरी तथा राजमार्ग क्षेत्रलाई दंगाग्रस्त घोषणा गरिएको छ ।

दंगाग्रस्त क्षेत्र घोषणासँगै बालबालिकामा त्रास हुने र विद्यार्थीको हुलमा हिंसात्मक गतिविधि गर्नेको घुसपैठ हुनसक्ने भन्दै शैक्षिक संस्थाहरु बन्द गरिएका थिए ।

लामो समय शैक्षिक संस्था बन्द हुँदा बालबालिका पढ्नबाट बञ्चित भएका छन् । थरुहट/थारुवान संघर्ष समितिको बन्दका कारण साउन २७ देखि जिल्लाका शैक्षिक संस्थाहरु सञ्चालन हुन पाएका थिएनन् ।

बीचमा थपिएका अन्य बिभिन्न संघ संगठनका बन्दले पनि शैक्षिक संस्था सञ्चालनमा अवरोध पुर्‍याएका थिए । बन्दकर्ताले विद्यालय खोल्न दिने निर्णय गरेलगत्तै दंगाग्रस्त क्षेत्र घोषणाका कारण थप समस्या सिर्जना भएको छ । यसअघि पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीले पटकपटक प्रदर्शन र सडकमै पढ्ने कार्यक्रम समेत गरेका थिए ।

दंगाग्रस्त क्षेत्र घोषणापछि जिल्लामा बन्दको प्रभाव भने कम हुँदै गएको छ । बजार र यातायात सञ्चालन भइरहेका छन् । बजारमा भिडभाड बढेको छ । चाडपर्वलाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघले शनिबार समेत व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ ।

जनै पूर्णीमालाई मध्यनजर गर्दै देउखुरी क्षेत्रमा भने थरुहट/थारुवान संघर्ष समितिले हिजो र आज बन्द फिर्ता लिएको छ । बाक्लो सुरक्षाकर्मी परिचालनका कारण थरुहट कार्यकर्ताले सडकमा कार्यक्रम गर्न नपाएपछि गाउँगाउँमा प्रशिक्षण गरिरहेका छन् ।

कान्तिपुरमा  दुर्गालाल केसीले लेखेका छन् ।

प्रतिक्रिया