Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

विकृतिको भण्डार त्रिभुवन विश्वविद्यालय

शनिबार, १२ भदौ २०७२

- प्रा. लालु पौडेल / काठमाडौं १२ भदौ / दृश्य : एक

योजनाविहीन निर्माण

त्रिवि कीर्तिपुर परिसरले लगभग १५४.७७ हेक्टर जग्गा चर्चेको छ । जग्गाका हिसाबले सायद विश्वमै ठूला विश्वविद्यालयमध्ये पर्छ यो र यति सुन्दर बनावट (ल्यान्डस्केप) भएको जमिन सायदै कहीं पाइएला । यो जग्गाको गुरुयोजनासहित विकास गरिएको भए विश्वकै एक सुन्दर विश्वविद्यालय बन्न सक्थ्यो, कीर्तिपुर क्याम्पस । तर योजनाविहीन रूपले जथाभावी बनाइएका भवन, अग्ला बार र काँढेतार, कुरूप टहरा आदिले विश्वविद्यालय अव्यवस्थित र भद्दा देखिएको छ । त्रिविको पश्चिम सिमानामा ट्याङलाफाँट नजिक बन्दै गरेको ‘पिस एन्ड कन्फिलक्ट स्टडिज’को नयाँ भवन विना सोच र अध्ययन गरिएको निर्माणको एउटा अनुपम उदाहरण हो । गहिरो खोँच, कुनै बेला खोल्सी बगेको र सुषुप्त पहिरो (क्रिपिङ जोन) को सिरानमा अवस्थित उक्त भवन त्रिवि योजनाकारहरूको एक उत्कृष्ट साइट छनोट मान्नुपर्छ !

यसरी नै त्रिवि परिसरमा ठाउँ—ठाउँमा सडक निर्माण गर्ने उद्देश्यले डोजर लगाई अलपत्र छाडिएको अवस्था छ । भूगर्भ केन्द्रीय विभाग पछाडि लगभग ३०० मिटर बाटो खनेर अलपत्र छाडिएको छ, न यो बाटो पूर्व जोडिन्छ, न पश्चिम । किन डोजर लगाइयो र किन छाडियो भन्ने कसैलाई थाहा छैन ।

दृश्य : दुई

दानी पदाधिकारी र अतिक्रमित सीमा

त्रिविसंँग हाल देखाउनलायक केही छ भने अथाह खाली जमिनमात्र हो । तर यो जमिन विगत केही वर्षदेखि बाहिरबाट अतिक्रमणको सिकार बनेको छ भने भित्रबाट विभिन्न संस्थाहरूलाई त्रिवि पदाधिकारीहरूले नै विना सोच र योजनाविहीन तरिकाले वितरण गरिरहेका छन् । ‘जग्गा चाहिए त्रिवि जाऊ’ भन्ने उखान नै बनेको छ, आजकल । चाइनिज एकेडेमी अफ साइन्स, गणतन्त्र टावर र बीपी प्लानेटोरियमका लागि हालसालै दसौं रोपनी जग्गा दिइएको छ । त्रिवि परिसरमा त्रिविकै शिक्षा विभागका विद्यार्थीका लागि शिक्षण अभ्यासका लागि बनाइएको लेबेरोटोरी हाइस्कुलसंँग भएको सयौं रोपनी जग्गा र थुप्रै भवनहरू त्रिवि नियन्त्रणभन्दा बाहिर गइसकेको अवस्था छ । यसैगरी विभिन्न विभागहरूलाई गुरुयोजना विना जथाभावी जग्गा वितरण गरिएको छ ।

चाइनिज एकेडेमी अफ साइन्सलाई उसको साउथ एसिया सेन्टर निर्माण गर्नका लागि अन्तर्राष्ट्रिय छात्रावाससंँगै दिइएको थुप्रै जमिन महादेव मन्दिरबाट खसी बजार झर्ने मोटर बाटोसँंगै जोडिएको छ । उक्त जग्गालाई तारबार लगाउने क्रममा बाटो छेउका बासिन्दाले तारबारलाई १५ फिटजति पूर्व सार्न लगाए । अझ उदेकलाग्दो कुरा त के छ भने त्रिविबाटै दिइएको १२ फिट साविक बाटोलाई त्रिविकै थप जग्गा मिचेर चौडा पार्ने अभियानको नेतृत्व बाटो छेउका बासिन्दा त्रिविकै प्राध्यापकले गरिरहेका छन् ।

त्रिवि सिमानाको वरिपरि यसरी नै वर्षैपिच्छे जग्गा अतिक्रमित भैरहेको छ । त्रिविको उत्तर–पश्चिम सिमानामा रहेको महादेव मन्दिर र धर्मशाला होस् वा नयांँबजार गेटनिरको माइक्रोबस पार्क सबै त्रिवि जग्गाभित्रै निर्मित छन् । तर यसरी देखादेखी जग्गा हडप्दासमेत त्रिवि पदाधिकारी मूकदर्शक बनेर बसेका छन् । अतिक्रमणबाट जोगाउन र त्रिविको सम्पत्ति सुरक्षाको लागि २० वर्षअघि कम्पाउन्ड वाल लगाउन सुरु गरिएको थियो । तर कीर्तिपुर र ट्याङलाफाँटका स्थानीय बासिन्दाको विरोधमा उक्त योजना अलपत्र बन्यो । त्यतिबेला लगाइएको पर्खाल हाल छियाछिया बनेर भत्किसकेको छ । उतिबेला उक्त पर्खाल भत्काउन नेतृत्व गर्ने व्यक्ति पछि त्रिविको कार्यकारी परिषद सदस्य बनेको कुरा निकै चर्चाको विषय बनेको छ ।

दृश्य : तीन

भवन कब्जाको लहर

वैशाख १२ को महाभूकम्प लगत्तै एकजना केन्द्रीय कार्यालयका कर्मचारी मेरो विभागमा आएर विभागमा भएको एउटा टेन्ट दिन आग्रह गरे । घर भत्किएर अस्थायी बसोबासका लागि हो कि भनेर सोधेको उनले निर्धक्कसँग भने, घर भत्किएर होइन । वास्तविकता के रहेछ भने एउटा शिक्षक आवासगृह केही दिनमै खाली हुनलागेको उनले थाहा पाएका रहेछन् । त्यसकारण उनी अग्रिम रूपमा आवासगृह बाहिर टेन्ट टाँगेर बस्ने र खाली हुने बित्तिकै कब्जा गर्ने योजना बनाएका रहेछन् । मैले टेन्ट दिन अस्वीकार गरेँ ।

ती कर्मचारी आफ्नो योजनामा सफल भए वा भएनन्, थाहा भएन । तर यसरी कर्मचारीहरूले विभिन्न प्रयोजनका लागि बनाइएका भवनहरू कब्जा गर्ने अभियान नै चलेको छ, केही वर्षदेखि त्रिवि परिसरमा । यतिसम्म कि ट्वाइलेटसमेत बाँकी राखिएको छैन । अर्थशास्त्र केन्द्रीय विभाग पछाडि रहेको ट्वाइलेट एउटा उदाहरण हो । जसलाई केही महिनादेखि कर्मचारीले कब्जा गरी आवासमा परिणत गरेका छन् र वरिपरिको जग्गा तरकारी बारीमा । यस्तै विज्ञान केन्द्रीय विभागहरू रहेको क्षेत्रमा केन्द्र भागमा भएको एउटा पालेघरलाई कसैले हालसालै कब्जा गरेका छन् । उनले विस्तारै पार्किङ क्षेत्रलाई तरकारी बारी र आँगनमा परिणत गर्दैछन् ।

व्यवस्थापन एमफिलसँगै छेउमा एउटा एकतले चाइनिज इँट्टाले बनेको र टायलले छाएको ३ कोठे भवन छ । यो भवन कुनै समय जाइकाले भूगर्भशास्त्र केन्द्रीय विभागका लागि बनाइदिएको प्राग चुम्बकीय (प्यालियो म्याग्नेटिक) प्रयोगशाला हो भन्ने कुरा सायद कमैलाई ज्ञान होला । यो भवनमा चट्टानमा हुने चुम्बकीय गुण मापन गर्ने कम्प्युटरद्वारा सञ्चालित उपकरण थियो । मैले पहिलोपटक २०४९ सालमा कम्प्युटर यसै भवनमा देखेको थिएंँ । यस भवन निर्माण गर्दा प्रयोगशाला उपकरणमा चुम्बकीय असर नपरोस् भनेर धातुको (किला, काँटी) प्रायोग गरिएको छैन ।

भूगर्भशास्त्र केन्द्रीय विभागका थुप्रै विद्यार्थीले यसै प्रयोगशालामा काम गरे, यस भवनभित्र रातदिन बिताए र आफ्नो स्नातकोत्तर तहको शोधपत्र तयार गरे । विभागका प्राध्यापकहरूले थुप्रै अनुसन्धान कृतिहरू यसै प्रयोगशालाका माध्यमबाट प्रकाशन गरे । कुनै समय यो प्रयोगशाला विज्ञान संकायकै गौरव थियो । तर हाल यस भवनलाई त्रिविका कुनै कर्मचारीले कब्जा गरेर बसेका छन् । एक होइन, दुई परिवार । भवन परिसरमा तरकारी बारी, कुखुराको खोर, इनार र टहरा देख्न सकिन्छ ।

दृश्य : चार

राजनीतिक हस्तक्षेपविरोधी राजनीतिक संयन्त्र

त्रिविको दुर्गतिको प्रमुख कारण के हो भनेर प्रश्न गरियो भने सबैबाट आउने सर्वसम्मत जवाफ हने गर्छ, ‘राजनीतिक हस्तक्षेप ।’ तर हस्तक्षेपको परिभाषा आफू अनुकूल गरिन्छ । त्रिविमा प्रत्येक राष्ट्रिय राजनीतिक दलसम्बद्ध प्राध्यापक, कर्मचारी र विद्यार्थी संंगठनहरू छन् । पञ्चायतकालमा राजनीतिक दलहरू भूमिगत छँदा यी संगठनहरूको राजनीतिक परिवर्तनका लागि अग्रणी भूमिका रहन्थ्यो र सोही अनुसार इज्जत थियो । २०४६ र ०६२/६३ सालको आन्दोलनमा यी संगठनहरूले निर्णायक भूमिका पनि खेले ।

तर परिवर्तित अवस्थामा यी संगठनहरूले आफ्नो भूमिकालाई परिवर्तन गर्न नसक्दा यी संगठनहरूको काम पदीय बार्गेनिङमा सीमित हुनपुगेको छ । विभिन्न दलका प्राध्यापक संगठनहरूका प्रतिनिधि रहेको राजनीतिक संयन्त्र २०६२/६३ को आन्दोलनपछि एउटा स्थायी भूमिगत संरचनाकै रूपमा काम गरिरहेको छ, त्रिविमा । त्रिवि कार्यकारी परिषदले गर्ने प्रत्येक निर्णयमा यही संयन्त्रले हस्तक्षेप गर्ने गर्छ । संयन्त्रमा रहेको व्यक्तिको प्रमुख काम आफूु नजिक र आफूप्रति वफादार (संंगठनप्रति होइन) व्यक्तिलाई सरुवा, बढुवा र विभिन्न पदमा नियुक्ति दिलाउनु हो ।

त्रिविमा आफ्नो सिफारिस बमोजिम काम भएन भने यिनै व्यक्तिले बेला—बेलामा गोष्ठी गरेर होस् वा वक्तव्य निकालेर होस्, त्रिविमा राजनीतिक हस्तक्षेप भएको दुखेसो पोख्छन् र राजनीतिक हस्तक्षेपको चर्को विरोध गर्छन् । वास्तवमा यही राजनीतिक संयन्त्रका कारण त्रिविको प्राज्ञिक तथा प्रशासनिक क्षमता स्खलित हँुदै गएको छ, सक्षम र योग्य व्यक्तिले नियुक्ति पाउनसकेका छैनन् । त्रिवि कुनै पनि बेला धराशायी हुने अवस्थामा पुगेको छ ।

दृश्य : पाँच

हाजिरीको सकस   

शिक्षक तथा कर्मचारीले कार्यालय समयमा कार्यालयमा उपस्थित भई आफ्नो दैनिक कार्यसम्पादन गर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । विकसित देशहरू जस्तै अमेरिका, जापान र युरोपका विश्वविद्यालयहरूमा प्राध्यापकहरूले दैनिक हाजिर गर्ने प्रचलन छैन । तर पनि उनीहरू दैनिक बिहानदेखि बेलुकासम्म आफ्नो कार्यालयमा उपस्थिति हुन्छन्, प्राध्यापन गर्छन् र अध्ययन अनुसन्धानमा व्यस्त हुन्छन् ।

वार्षिक रूपमा कति अनुसन्धान वृत्ति प्राप्त गरे र विश्वविद्यालयमा कति रकम ओभरहेड बापत आम्दानी गराए, कतिवटा अनुसन्धान कृति कस्ता जर्नलहरूमा प्रकाशित गरे, कति जनालाई विद्यावारिधि र स्नातकोत्तरको शोध गराए भन्ने कुराबाट प्राध्यापकहरूको कार्यसम्पादन मूल्याङ्कन हुन्छ र यसैका आधारमा बढुवा हुन्छ । यो सबै गर्न दैनिक कार्यालय उपस्थित भई कार्य नगरेसम्म सम्भव छैन र यसैले उनीहरूलाई नियमित गराइरहेको हुन्छ, हाजिरीको आवश्यकता नै पर्दैन ।

त्रिभुवन विश्वविद्यालयमा शिक्षक, कर्मचारीको अनियमितता र अनुपस्थिति एउट प्रमुख समास्याको कारण बनेको छ । समयमा कार्यालय नआउने र समयअघि नै कार्यालय छाडेर जाने कर्मचारी र हप्तौंसम्म कार्यालय नआउने र आए पनि नपढाउने शिक्षक त्रिविको अधोगतिका प्रमुख कारक हुन् भन्ने कुरा सबैलाई थाहा छ । तर पनि यसलाई सुधार गर्नेप्रति कसैले पनि चासो दिएको पाइँदैन ।

यसै पृष्ठभूमिमा गतवर्ष असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन बमोजिम त्रिवि कार्याकारी परिषदले त्रिविका सम्पूर्ण कार्यालयहरूमा अनिवार्य रूपमा इलेक्ट्रोनिक मेसिनबाट मात्र हाजिरी गराउन परिपत्र जारी गर्‍यो । तर शिक्षक, कर्मचारी र राजनीतिक दलका भ्रातृ संगठनहरूको विरोधका कारण हालसम्म पनि परिपत्र बमोजिम अनिवार्य इलेक्ट्रोनिक हाजिरी लागू गर्न सकेको छैन ।

हाल त्रिविमा वातावरण विज्ञान केन्द्रीय विभाग र भूगर्भशास्त्र केन्द्रीय विभागले मात्र परिपत्र बमोजिम इलेक्ट्रोनिक मेसिनबाट मात्र हाजिरी गराउने व्यवस्था मिलाएको छ । त्यसैले यी दुवै विभाग अहिले इलेक्ट्रोनिक हाजिरीलाई जसरी पनि असफल पार्न उद्यत भ्रातृ संगठन र विभागकै अनियमित शिक्षक, कर्मचारीहरूको विरोधको निसाना बनेका छन् ।

हाल अधिकांश विभाग र क्याम्पसहरूमा इलेक्ट्रोनिक मेसिन अख्तियारको आँखा छल्न देखावटी रूपमा मात्र राखिएको छ । शिक्षक तथा कर्मचारी कार्यालय समय अवधिमा कार्यालयमा उपस्थित हुनुपर्ने, शिक्षक कर्मचारीले अनिवार्य कार्यालय आएको र गएको समयमा हाजिर गर्नुपर्ने, ढिला आउने तथा छिटो जाने कर्मचारीहरूलाई विदा कट्टा गर्नुपर्ने भन्ने त्रिभुवन विश्वविद्यालय नियममा स्पष्ट लेखिएको भए पनि कुनै पनि कार्यालयले यसलाई लागूु गर्नसकेका छैनन् । हाल प्राय:जसो क्याम्पस र विभागमा मेसिन या फुटाइएका छन्, यात बन्द गराइएका छन् । यसरी लाखौं रुपैयाँ खर्च गरी खरिद गरिएका मेसिनहरू अहिले प्रयोजनहीन अवस्थामा पुर्‍याइएको छ ।

किन विरोध भैरहेको छ त इ–हाजिरीको ? यसको जवाफ सबैलाई थाहा छ । विश्वविद्यालयका अधिकांश शिक्षक, कर्मचारीले दोहोरो पेसा अँगालेका छन् र विश्वविद्यालयको जागिर प्राथमिकतामा पर्दैन । उनीहरू जसोतसो दैनिक एकपटक कुनै समय त्रिविमा गई सुटुक्क हाजिर गरी भाग्छन् । इ–हाजिरी नभएमा दैनिक पनि जानुपर्दैन । यस्तो अनियमितता रोक्न सक्ने नैतिक साहस त्रिवि पदाधिकारी र विभागीय/क्याम्पस प्रमुखहरूमा छैन । किनभने उनीहरूले पनि हिजो त्यसै गर्दै आएका थिए । अधिकांश पदाधिकारीको पृष्ठभूमि राजनीतिक छ र पदमुक्त भएपछि पुरानै पेसामा फर्किनुपर्छ र इ–हाजिरी यसका लागि प्रमुख बाधक हुन्छ भन्ने तिनलाई थाहा छ ।

दृश्य : छ

पालेले नटेर्ने प्रिन्सिपल कार्यालय

विश्वमै नभएको अनौठो ‘विश्वविद्यालय क्याम्पस’ नाम जुराइएको छ, त्रिवि परिसरलाई । यसको प्रमुख हुन्छन्, प्रिन्सिपल । प्रिन्सिपल कार्यालय र प्रिन्सिपलको एउटा जिम्मेवारी भनेको त्रिवि परिसरको जमिन तथा भौतिक सम्पत्तिको रेखदेख तथा आधारभूुुत सुविधाहरू (पानी, बिजुली, टेलिफोन, बाटो आदि) को व्यवस्थापन गर्नु हो । मर्यादा र अधिकारका हिसाबले प्रिन्सिपललाई विभागीय प्रमुखभन्दा माथि राखिएको छ । यसको अर्थ उनको कार्यक्षेत्र र अधिकार ठूलो छ र चाहेमा धेरै काम गर्न सक्छन् ।

विडम्बना, विगत १०/१२ वर्षदेखि यो एक अकर्मन्य, निरीह र भद्रगोल कार्यालय बनेको छ । यसको भवन आफैं एक खण्डहरजस्तो देखिन्छ, झ्यालका सिसा प्राय: फुटेका छन् र महिनौंसम्म बेवारिसे देखिन्छन्, भवनको चार दिशाका कुनाहरूमा दिसा–पिसाब गर्ने गरिन्छ । कार्यालयमा तल्लो तहका कर्मचारीहरूको भीड छ, तर ती कर्मचारीलाई काममा लगाउने तागत न माथिल्ला तहका कर्मचारीमा छ, नत प्रिन्सिपलमा । प्रिन्सिपललाई प्राय: कार्यालयमा भेट्न सकिँंदैन ।

केन्द्रीय विभागहरूमा पाले खटाउने काम प्रिन्सिपल कार्यालयको हो । तर पालेहरूको संंगठन यति मजबुत छ कि पालेको नाइकेको समर्थनविना प्रिन्सिपलले पालेको सरुवा पनि गर्न सक्दैनन् । त्रिवि परिसरमा झारले ढपक्कै ढाकिसकेको छ, टायलका छानाभरि झार उम्रिएको छ, प्राय: भवनमा पानी चुहिने समस्या छ । भूकम्पले भत्काएका पर्खाल र गेट आजसम्म पनि जस्ताको तस्तै अलपत्र छन् । यही कामका लागि थुप्रै कर्मचारीहरू भर्ना गरिएका छन् । तर प्राय: कर्मचारी बिहान हाजिरपछि बेपत्ता हुन्छन् । प्रिन्सिपल कार्यालयले न तिनलाई काममा लगाउन सक्छ, न त कारबाही गर्न सक्छ ।

त्रिविमा प्रत्येक बिहान १० बजेतिर र बेलुका ५ बजेतिर बाटोमा गाईबाख्राको भीड देख्न सकिन्छ । दिनभर यी गाईबाख्रा केन्द्रीय विभागका प्राङ्गणमा चरिरहेका हुन्छन् र बेला—बेलामा विभागभित्र समेत आइपुग्छन् । कहिलेकाहींं भवनभित्रै गोब्राउँछन् पनि । कुनै दिन एकजना जापानी प्राध्यापक भूगर्भ केन्द्रीय विभागको अवलोकन गर्न आएका थिए । त्यसैबेला विभागको गेटमै गाईसंँग जम्काभेट भयो । उनलाई यति अनौठो लागेछ कि विभागको भवनसँंगै गाईको धेरैपटक फोटो खिचे र प्रतिक्रिया दिए, ‘यस्तो प्राकृतिक वातावरण जापानका विश्वविद्यालयमा देख्नै पाइँदैन ।’

सायदै विश्वका अन्य कुनै पनि विश्वविद्यालयमा यस्तो दृश्य देख्न पाइँदैन । यसको श्रेय त्रिविकै कर्मचारीललाई जान्छ, जो बिहान गाईबाख्रासंँगै कार्यालय आउँछन्, दिनभर गाईबाख्रा चराउँछन् र बेलुका गाईबाख्रासंँगै घर फर्किन्छन् । यसरी एक पन्थ दुई काम भ्याउने कर्मचारी थुप्रै छन् । कसैले त्रिवि परिसरमै क्यान्टिन खोलेका छन्, कसैले सेयरको कारोबार गर्छन् भने कसैले जग्गा दलाली । उनीहरू हाजिरपछि आ–आफ्नो यस्तै पेसामा व्यस्त हुन्छन् ।

दृश्य : सात

सार्वजनिक ड्राइभिङ सेन्टर

त्रिवि परिसरमा प्रत्येक दिन बिहानदेखि बेलुकासम्मै ड्राइभिङ अभ्यासका लागि ल्याइएका कार, मोटरसाइकल र स्कुटरको भीड देख्न सकिन्छ । कीर्तिपुर वरिपरि रहेका ड्राइभिङ सेन्टरहरू र आफैं सिक्न खोज्ने व्यक्तिसमेतले ड्राइभिङ अभ्यासका लागि त्रिवि परिसरलाई प्रयोग गर्छन् । काठमाडौंको लैनचौर निवासीले समेत स्कुटर लिएर कीर्तिपुर आएको मैले भटेको छु ।

विशेषगरी बिहान र बेलुकाको समयमा यति धेरै भीड हुन्छ कि बाटो हिँड्न नै मुस्किल हुन्छ । हर्नको प्याँप्याँ, इन्जिनको घ्यार—घ्यार र धुवाँले सम्पूर्ण वातावरण प्रदूूषित बनाएको छ । यतिमात्र होइन, शिक्षक, कर्मचारी र विद्यार्थीहरू उल्टै सिकारु ड्राइभरबाट तर्केर हिँड्नुपर्ने अवस्था छ । कतिबेला कसले हिर्काउने हो, टुङ्गो छैन । शान्त र स्वच्छ वातावरणमा अध्ययन—अनुसन्धान गर्नुपर्ने विश्वविद्यालयलाई सार्वजनिक ड्राइभिङ सेन्टरमा परिणत गर्दासमेत यसलाई रोक्न सम्बन्धित निकायले खासै चासो दिएको पाइँदैन ।

दृश्य : आठ

वर्ष दिन लाग्ने सेमेष्टर !

सेमेष्टर ल्याटिन भाषाबाट ल्याइएको शब्द हो र यसको शाब्दिक अर्थ हुन्छ ‘६–मासिक ।’ यसमा ६ महिनाको एक शैक्षिक सत्र हुन्छ र प्रत्येक ६ महिनामा भर्ना, अध्यापन र परीक्षा सकेर सातौं महिनामा अर्को सेमेष्टर सुरु गरिन्छ । त्रिविका सबै केन्द्रीय विभागहरूमा स्नातकोत्तर तहका कार्यक्रमलाई गत सालबाट सेमेष्टर प्रणालीमा ढालियो । विज्ञानतर्फ गतसाल मंसिरमा खोलिएको भर्ना फर्म पटक—पटक गरी म्याद थप्दै जाँदा फागुनको अन्तिममा मात्र भर्ना प्रक्रिया सकियो । भर्ना सकिएर कक्षा सञ्चालन भएको पनि ६ महिना पुगिसकेको छ ।

अन्तिम परीक्षा कहिले हुने अझै टुङ्गो छैन । भर्ना फर्म खोलेको वर्षदिन पुग्दा मंसिरमा प्रथम सेमेष्टर सकिन्छ वा सकिंँदैन, हेर्न बाँकी नै छ । परीक्षाको नतिजा ३ महिनाभित्र प्रकाशन गर्ने त्रिविले प्रतिबद्धता जाहेर गरेको भए तापनि कतिपय विभागमा ८/९ महिनासम्म पनि नतिजा प्रकाशन गरिएको छैन । यस्तै अवस्था रहेमा विद्यार्थीलाई स्नातकोत्तर तह अध्ययन समाप्त गर्न कम्तीमा पनि ३ वर्ष लाग्ने देखिन्छ ।

एकपटक असफल भैसकेको र विना तयारी हतारमा लागू गरिँदा पुन: असफल हुनसक्छ भन्ने चेतावनी दिँंदादिंँदै जबर्जस्ती सुरु गरिएको सेमेष्टर प्रणाली हाल असफल हुने अवस्थामा पुगिसकेको छ । र, यसलाई असफल बनाउन विद्यार्थी, प्राध्यापक र कर्मचारी संगठनहरू नै लागिपरेका छन् भन्ने सुन्नमा आउँछ ।

दृश्य : नौ

ड्रगिस्टहरूको ‘अखडा’

गतसाल असारतिरको कुरा हो, सबैजना विश्वकप फुटबल हेर्नमा व्यस्त थिए । यसै समयमा एकजना युवा दैनिक २/३ घन्टा त्रिवि परिसरमा बोरा लिएर फोहोर जम्मा गरिरहेका हुन्थे । त्रिविबाट स्नातकोत्तर गरेपछि युरोपको कुनै विश्वविद्यालयबाट वातावरण विज्ञानमा थप अध्ययन गरेर नेपाल फर्केका उनी फुटबल हेर्ने समयमा कुनै सिर्जनात्मक काम गरेर देखाउने सोचका साथ त्रिविको फोहोर संकलनमा लागेका रहेछन् । उनीद्वारा संकलित लगभग एक ट्रक फोहोरमध्ये एक बोरा फोहोर प्रयोग गरिएका कन्डम थिए ।

पछिल्लो समय त्रिवि परिसरमा लागूपदार्थ दुव्र्यसनीहरूको जमात ह्वात्तै बढेको छ । खेतमा गाँजा मिच्दै गरेका युवाहरू र लागूपदार्थ तान्दै गरेको समूह जताततै देख्न सकिन्छ । यिनै समूहले त्रिविभित्र बेला—बेलामा चोरी गर्ने र लुटपाट मच्चाउनेसमेत गरेका छन् । यस्ता क्रियाकलाप रोक्न त्रिविबाट कुनै पहल भएको देखिँंदैन ।

दृश्य : दस

चन्दाको चलखेल

विश्वविद्यालयमा दलीय, जातीय र क्षेत्रीय आवरणमा अनेक नामका विद्यार्थी संगठनहरू खडा भएका छन् । सदस्यको लेबी र सिर्जनात्मक कामको माध्यमबाट आर्थिक व्यवस्थापन गर्नुपर्ने संगठनहरूले चन्दालाई प्रमुख आयस्रोत बनाएका छन् । २०६२/६३ पछि चन्दा संस्कृति त्रिविभित्र क्यान्सरझैं फैलिएको छ । अनेक निहुँमा (सम्मेलन, चाडपर्व, प्रकाशन आदि) चन्दा माग्न आउँछन्, चन्दाको रेट विद्यार्थी आफैंले तोक्छन्, नदिएमा कारबाही गर्ने धम्की दिन्छन् । ठूला संगठनभन्दा साना संगठनको माग ठूलो हुन्छ ।

केन्द्रीय विभागहरूमा चन्दाको शीर्षकमा कुनै बजेट नै हुँदैन । तर पनि विभागीय प्रमुखहरूले जसरी पनि चन्दा नदिई सुख छैन । चन्दा नदिएकै निहुँमा विभागीय प्रमखुलाई हातपात गरेका थुप्रै घटना छन् । अर्कोतिर अख्तियारले चन्दाको छानबिन गरिरहेको छ र चन्दा दिने विभागीय प्रमुख कारबाहीमा पर्ने सम्भावना छ । यसरी विभागीय प्रमुख दोहोरो चेपमा परिरहेका छन् ।

प्रमुखहरू यसरी अनावश्यक काममा अल्झिनुपर्दा विभागको प्राज्ञिक उन्नयनमै असर परिरहेको छ । त्रिविलाई बचाउन र यसको साख पुन:स्थापित गर्न माथिका विकृतिको अन्त्यसहित पुनर्संरचना र पुनर्निर्माण अपरिहार्य छ । यसका लागि सक्षम नयांँ नेतृत्वको जरुरी छ ।

पौडेल त्रिवि, भूगर्भशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका प्रमुख हुन् ।

साभार : कान्तिपुर

प्रतिक्रिया