Edukhabar
आइतबार, १३ असोज २०८१
विचार / विमर्श

शिक्षकको व्यथा – बसेर भनौं सुन्दैनन्, उठेर भनौ बतासले उडाउँछ !

शनिबार, १८ भदौ २०७३

- सीता केसी / मेरो जन्म रामेछाप जिल्लाको बेथान गाउँ विकास समितिको वडा नं. ३ मा वि. सं. २०२५ साल भदौमा भएको हो । मैले रामेछापको कुशेश्वर माविमा ७ कक्षासम्म पढेँ, त्यसपछि सिन्धुलीको ढुंग्रेबास कमला माविबाट एसएलसी पास गरेँ ।

म अहिले काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं. ४ मा बस्दै आएको छु । म पेशाले शिक्षक हुँ । म फर्पिङको गणेश निम्न माध्यमिक विद्यालयमा पढाउँछु ।  यो स्कुल फर्पिङको भञ्ज्याङ्, सुखेलमा छ ।

म विगत ३० वर्षदेखि नेपाली पढाउादै आइरहेको छु । नेपाली संस्कृति, सामाजिक परम्परा, रितिरिवाज, नैतिक आचारणलाई भुसुक्कै विर्सेर अहिले हामी पश्चिमा संस्कृति तिर ढल्केकाले नेपाली विषय नै खस्किएको छ । पश्चिमा भाषा, भेष र संस्कृतिको कारण नेपाली भाषा झन्झन् कमजोर हुँदै गइरहेको छ । हामी नेपाली भएर जन्म्यौं, हुर्कियौं, अहिलेका नयाँ पिँढी पनि नेपालमै जन्मे, हुर्किरहेका छन् तर उनीहरु हामीले जस्तै गरी नेपाली पढ्नु, बोल्नु, लेख्नुको सट्टा अंग्रेजी नै लेख्ने, पढ्ने र बोल्नेमा ध्यान दिन थालेका छन् । नेपाली भाषालाई बिर्सदा र कुल्चदा नैतिकता, शिष्टतामा क्रमशः गिरावट आएको छ । यसले नेपालीहरुको स्वत्व के हो ? भन्ने प्रश्न भविष्यमा अवश्य पनि उठ्नेछ ।

यस्तो हुनुमा अभिभावक भन्दा सरकार नै जिम्मेवार छ । सरकारबाटै जब बोर्डिङ स्कुलहरु स्वीकृत गर्ने क्रम सुरु भयो, त्यही बेला नै सरकारले नेपाली भाषा र विषयको भविष्यबारेमा ध्यान दिनुपर्ने थियो । सरकारले दूरदर्शी सोच नराखी स्वीकृति दिँदा नेपाली भाषा मासिँदै गएको छ । यसले नेपाली पहिचान नै खतरामा पर्ने देखिन्छ । यतातिर सरकारको ध्यानै गएन । यसको पहिलो असर प्रत्यक्ष रुपमा सरकारी स्कुलमै प¥यो, जसकारण आज धेरै सरकारी स्कुलहरु विद्यार्थी विहीन र न्यून हुँदै गएका छन् । त्यसको भागीदारमा सरकार शिक्षकलाई नै दोष दिन थालेका छन् । त्यसको असर सिंगो देशलाई पनि परिरहेको छ । विद्यार्थी नेपालमा बस्नुसट्टा धमाधम विदेश जान थालेका छन् । नेपाली भाषाप्रति यसरी सरकारले अवहेलना गर्दा युवाहरुमा राष्ट्रिय भावना, राष्ट्रप्रेम समेत विस्तारै ¥हास हुन थालेको छ । यत्ति हुँदा पनि सरकार अझ नेपाली भाषालाई फैलाउन ध्यान दिँदैन । यो दुःखद् कुरा हो ।

पश्चिमा अंग्रेजी भाषालाई पूरै नकार्ने भन्ने होइन तर कुन हदसम्म स्वीकार्ने भन्ने विषय पनि महत्वको छ । हामीले त यहाँ अंग्रेजी भाषालाई विचित्र ढंगले अंगाल्यौं, नेपाली भाषा बोल्दा आफूलाई लाज लाग्ने मानसिकता बोक्यौं । अभिभावकहरुमा पनि सरकारकै कारण अंग्रेजीमा पढाइ नहुने स्कुल त स्कुलै होइन भन्ने भान पारिदियो, जसले गर्दा एकदमै न्युन आर्थिक क्षमताका अभिभावकहरुले पनि सरकारीको सट्टा निजी बोर्डिङ नै रोज्दैछन् ।

अहिले नेपाली विषय पढाउन र बुझाउन झन् गा¥हो भइरहेको छ । पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको नेपाली कितावमै फरक फरक शब्द संरचना छ । हामीले एउटा कक्षालाई एकथरीबाट अर्को कक्षालाई अर्कै थरीबाट सिकाउन बाध्य छौं । त्यसले गर्दा विद्यार्थी अलमलमा छन्, अफ्ठ्यारो मानिरहेका छन् । नेपाली भाषा सजिलो बनाउने नाममा गरिएको फेरबदलले नेपाली पढ्न, लेख्नुभन्दा अंग्रेजी लेख्न र पढ्नमै सजिलो मानिरहेका छन् ।

बच्चाहरुलाई हामीले पहिलेदेखि पढाउँदै, लेखाउँदै आएको कुरा अहिले आएर बदलिदिदाँ पढाउन र लेखाउन अप्mठ्यारो स्थिति आइसकेको छ । सरकार फेरिएकै तरिकाबाट पढाउन र सिकाउन निर्देशन दिन्छ तर त्यसको प्रभाव, असर के हुन्छ भन्ने बारेमा सोच्दैन । ‘पहिला तपाइँले यसरी सिकाउनु भयो, अहिले आएर सिकाए जसरी लेख्दा पनि मिल्दैन भन्नुहुन्छ, यस्तो नि हुन्छ त मिस ?’ भनेर हामीसँग सोध्दा उनीहरुलाई चित्तबुझ्दो जवाफ दिनै सक्तैनौं । यसले हामीलाई पनि अफ्ठ्यारो, उनीहरुलाई पनि अफ्ठ्यारो भएको छ ।

शिक्षककै बारेमा

तीस वर्ष काम गरिसकेको शिक्षकहरुलाई अनिवार्य अवकास दिएर नयाँ र युवा पिँढीलाई शिक्षण पेशामा ल्याउनुपर्छ । अनुभव त पुराना शिक्षकहरुमा हुन्छ तर उमेरको कारण ती अनुभवहरु समेत बताउन असमर्थ छन् कतिपय शिक्षकहरु, यसैले ती शिक्षकहरुलाई राज्यले केही सुविधा दिएर बिदाइ गरे शिक्षामा फेरबदल ल्याउन सकिन्छ ।

शिक्षक हुन वास्तवमा दैनिक रुपमा पत्रपत्रिका हेर्नैपर्छ, बालबालिकाहरु, विद्यार्थी कसरी खुसी हुन्छन् ? भन्ने विषयमा सोच्नैपर्छ, स्कुलमा छलफल गर्नैपर्छ, आफूलाई समय अनुसार तयार राख्नैपर्छ । तर, अहिले भएका कति शिक्षकहरु कोही प्रअका आफन्त, कोही विव्यस अध्यक्ष/सदस्यका छोरा, नाति, बुहारी, कोही नेताहरुलाई चाकडी गरेको भरमा जागिर खाएका चरित्रका छन् ।

स्वस्थ प्रतिस्पर्धा गरेर आउने शिक्षकहरु नहुँदा सामुदायिक शिक्षामा झ्नझन् गिरावट आएको हो । यसैले ओठमा रगत आउने युवाहरु, पढेका युवाहरुलाई खाडी र विदेशमा पठाउनुको सट्टा यहीँ उपयोग गर्न सके देश बन्छ । उनीहरुमा भएको जोश, जाँगरलाई शिक्षामा लगाउन पाएको खण्डमा शिक्षाले कोल्टे फेथ्र्यौ । शिक्षामा नयाँ पिँढीलाई नल्याइ शिक्षामा परिवर्तन सम्भवै छैन ।

गतिला छैनन् हेडसर

शिक्षकहरुभन्दा प्रअहरु बढी ‘कामचोर’ प्रवृत्तिका मैले पाएको छु ।  प्रअहरु हाजिरी गर्ने अनि मेरो जिल्ला शिक्षा कार्यालयमा काम छ, स्रोत केन्द्रमा काम छ, उता बैठक छ भन्दै विभिन्न बहानाबाजी गरेर स्कुलबाट जाने, पछि स्कुल नपर्कने स्ववभावका छन् । प्रअहरुलाई यतिबेला सम्म बस्नुपर्ने भन्ने कुनै नियम छैन, प्रअको काम यो यो भनेर सरकारले तोके पनि त्यो पूरा नगर्ने स्वभावका पनि छन् । विद्यालयहरुमा प्रअहरुको विद्यालयमा एकाधिकार छ ।

राजनीतिमा उनीहरु नै जान्छन् अनि हामीलाई स्कुल बिगार्यो भन्छन् । हामी त तल्लो तहको शिक्षक, बसेर भनौं कोहीले सुन्दैन, उठेर भनौ बतासले उडाएर लान्छ को अवस्था छ हामी तल्ला तहका शिक्षकहरुको व्यथा । यस्तो अवस्था भएर त विद्यालय खस्केका छन् ।

(गणेश मावि, फर्पिङकी शिक्षक केसीसँग हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया