Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

एसएलसीका अभिलेख सुरक्षाको चिन्ता

शुक्रबार, १७ भदौ २०७३

भक्तपुर - परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीले एसएलसीका अभिलेख सुरक्षाको चिन्ता ब्यक्त गरेका छन् । आफ्नो सम्मानमा आयोजित परिचयात्मक कार्यक्रममा पुगेका शिक्षा मन्त्री धनिराम पौडेल समक्ष उनीहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् । १९९० सालदेखि २०७२ सालसम्म सञ्चालन भएको एसएलसी परीक्षाका अभिलेखहरुको सुरक्षा, कार्यालयका कर्मचारीको व्यवस्थापन लगायतका विषयमा नियन्त्रक कृष्णप्रसाद काप्रीले मन्त्री समक्ष जिज्ञासा राखेका थिए ।

शिक्षा ऐन आठौं संशोधनले विद्यालय शिक्षाको तहगत परिवर्तन गरेसंगै एसएलसी परीक्षा सञ्चालन गर्दै आएको कार्यालयको काम के हुने ? भन्ने स्पष्ट नहुँदा अन्यौल बढेको कर्मचारीले बताए ।
कक्षा ९ मा भरिने रजिष्ट्रेशन फारम र कक्षा १० मा लिने परिक्षाको नाम अव के हुने भन्ने अन्यौल कायमै छ । 

शिक्षा नियमाबलीले यस्ता अन्यौलहरुको अन्त्य गर्ने मन्त्री पौडेलले बताए । शिक्षा नियमावली बन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिंदै उनले अहिले देखिएका कतिपय अन्यौलको चाँडै अन्त्य हुने र देश शैक्षिक विकासको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे । ‘भर्खरै जारी भएको शिक्षा ऐनले नेपालको शैक्षिक भविष्यको सुन्दर खाका कोरेको छ’, मन्त्री पौडेलले भने, ‘कुनै अन्यौलमा नरही दत्तचित्त भएर काममा खटिन म कर्मचारीहरुलाई आग्रह गर्छु ।’ शिक्षक र कर्मचारीहरुले काम गरेको जस्तो मात्र गर्दा नेपालको शैक्षिक गुणस्तर खस्किएको उनको भनाई थियो । शैक्षिक गुणस्तरमा गणितीय आधारमा परिणाम देखिने गरी काम गर्न उनले शिक्षक र कर्मचारीहरुलाई निर्देशन दिए ।

शिक्षा मन्त्री पौडेल शुक्रबारै शैक्षिक जनशक्ति विकास केन्द्र पनि पुगे । उक्त अवसरमा केन्द्रका निर्देशक सूर्यप्रसाद गौतमले निकट भविष्यमै केन्द्रले भूकम्प प्रभावित जिल्लालाई लक्षित गरी टेलिभिजन र रेडियोबाट पठन पाठनको व्यवस्था गर्न लागेको बताए । 

मन्त्री पौडेलको सम्मानमा आयोजित परिचयात्मक कार्यक्रम नाम दिईएको दुवै कार्यक्रममा मन्त्री पौडेलका साथमा शिक्षा राज्य मन्त्री धनमायाँ विक र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ पनि सहभागि थिए । श्रेष्ठलाई बिहीबार मात्रै सरकारले शिक्षा सचिवमा नियुक्त गरेको थियो ।

उनी शुक्रबार पदबहाली गरेर मन्त्री संगै भक्तपुर पुगेका हुन् ।

प्रकाशित मिति २०७३ भदौ १७ गते

प्रतिक्रिया