Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

यी हुन् शिक्षा मन्त्रालयले उत्कृष्ट ठानेका विद्यालय

शुक्रबार, १७ भदौ २०७३

काठमाडौं - शिक्षा मन्त्रालयले ३७ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत गर्ने गरी उत्कृष्ट विद्यालय छनौट गरेको छ । राष्ट्रिय, क्षेत्रीय तथा दुर्गम स्तरमा रहेका विद्यालयहरुले एसएलसीमा प्राप्त गरेको नतिजालाई आधार मानेर उत्कृष्ट विद्यालय छनौट गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

छनौटमा परेका विद्यालयहरुमा सामुदायिकतर्फ माध्यमिक विद्यालय राष्ट्रिय शिल्डको लागि कास्कीको शितलादेवी सामुदायिक विद्यालय चयन भएको छ ।

त्यस्तै क्षेत्रीय स्तरमा माध्यमिक विद्यालय राष्ट्रिय शिल्डका लागि पूर्वाञ्चलबाट ओखलढुंगाको रामपुर स्थित बरुणेश्वर मावि, मध्यमाञ्चलको भरतपुर स्थित नारायणी मोडेल सेकेण्डरी स्कुल, पश्चिमाञ्चलबाट बागलुङको गणेश मावि, मध्य पश्चिमाञ्चलबाट मुगुको गुरु मावि र सुदूरपश्चिमाञ्चलबाट कैलालीको टीकापुर स्थित नवज्योति विद्यागृह छनोटमा परेका छन् ।

छनोटमा परेका विद्यालयहरु मध्ये राष्ट्रिय शिल्ड पाउने विद्यालय शितलादेवीले रु. २ लाख र क्षेत्रीय स्तरमा परेका विद्यालयहरुले रु. १ लाखको दरले पुरस्कार पाउने छन् ।
त्यस्तै दुर्गम क्षेत्रबाट नगद रु एकलाखको पुरस्कार पाउने विद्यालयमा सोलुखुम्बुको खुम्जुङस्थित खुम्जुङ मावि छनोटमा परेको छ ।

संस्थागत विद्यालय तर्फ यो वर्ष राष्ट्रिय शिल्ड पाउने विद्यालयमा ललितपुरको ग्रेडेड इङ्गलिश मिडियम स्कुल जेम्स छनोटमा परेको छ भने क्षेत्रीय स्तरमा पूर्वाञ्चलबाट मोरङस्थित बाल कल्याण विद्या मन्दिर, मध्यमाञ्चलबाट लिटिल एन्जल्स् मावि, पश्चिमाञ्चलबाट मदरल्याण्ड मावि, मध्यपश्चिमाञ्चलबाट तुलसी आवासीय मावि र सुदूर पश्चिमाञ्चलबाट इन्टरनेशनल पब्लिक स्कुल छनौट भएका छन् ।

मन्त्रालयले राष्ट्रिय तथा क्षेत्रीय स्तरको विद्यालय छनौटका लागि एसएलसी परीक्षामा समाविष्ट राष्ट्रिय औसत विद्यार्थी संख्याले सम्बन्धित विद्यालयले एसएलसी परीक्षामा समाविष्ट गराएको विद्यार्थी सख्ंयालाई मुल्यांकनको मुख्य आधार बनाएको थियो ।

यी सबै विद्यालयलाई ३७ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा हुने कार्यक्रममा पुरस्किृत गरिने छ ।

प्रकाशित मिति २०७३ भदौ १७ गते 

प्रतिक्रिया