Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

शिक्षकलाई मार्ने धम्की

शुक्रबार, १७ भदौ २०७३

काठमाडौं १७ भदौ / श्री जनप्रिय उच्च माध्यमिक विद्यालय मसुरिया–४ लिक्मा कैलालीमा अध्यापन गर्दै आएका शिक्षक धनीदत्त भट्टले विद्यालय व्यवस्थापन समितिका मनोनीत सदस्य मीनबहादुर देउवाबाट मार्ने धम्की आएको बताएका छन् । शिक्षक भट्टले मसुरियामा पत्रकार सम्मेलन गरी सदस्य देउवाले असह्य र अश्लील शब्द प्रयोग गरी ज्यान मार्नेसम्मको धम्की दिएको गुनासो गरे ।

भट्ट शिक्षक सेवा उत्तीर्ण गरी २०७१ साउनमा माध्यमिक तहको स्थायी दरबन्दीमा अङ्ग्रेजी शिक्षकको रूपमा विद्यालयमा हाजिर भएका थिए । आफू उक्त विद्यालयमा हाजिर भएकै दिनदेखि एक कुशल शिक्षकको रूपमा मात्रै भूमिका निर्वाह गर्ने बताएपछि सोही बेलादेखि प्राचार्यबाट आफूलाई पक्षपातपूर्ण व्यवहार हुने गरेको उनको आरोप छ ।

आफ्नो विषय र तहअनुसारको कक्षा मिलाई पाऊँ भनी पटक–पटक अनुरोध गर्दा पनि आफ्नो योग्यता र क्षमतामाथि प्रश्न उठाइने गरेको भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आफूले तहअनुसार विषय मिलानको माग गर्दा विद्यालय व्यवस्थापन समितिका केही सदस्यले धम्क्याउने गरेको उनले बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशीराम चौधरीले यस विषयमा दुवै पक्षबीच भनाभन भएको स्वीकार गरे । विवाद समाधानका लागि पहल गरिने उनले बताए । तर, प्रचार्य जङ्गबहादुर देउवा भने शुरूमा पत्रकाहरूसँग बसेर कुराकानी गर्न आधा घण्टाभित्र विद्यालयमा आउने बताए पनि पछि मोबाइल स्विच अफ गरी सम्पर्कविहीन भएका थिए ।

आर्थिक अभियानमा प्रकाशित खबर ।

प्रतिक्रिया