Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

नेपाली भाषाको अलमलबारे छलफल गर्न दुवै पक्षका प्रतिनिधि एउटै मञ्चमा

विहीबार, १६ भदौ २०७३

भक्तपुर / पछिल्लो समय नेपाली भाषा शिक्षणमा आइरहेको समस्यालाई केन्द्रमा राखी भक्तपुरको वागीश्वरी उच्च माध्यमिक विद्यालयले दुवै पक्षका प्रतिनिधि सहित साक्षात्कार गरेको छ । युवाकवि मोतीराम भट्टको १ सय ५१ औं जन्म जयन्तीको अवसरमा ‘नेपाली भाषा बआचौं अभियान’ बारेमा साक्षात्कार कार्यक्रम भएको हो ।

त्रिवि नेपाली भाषा विभागका प्रमुख प्रा.डा. देवीप्रसाद गौतमले भाषा सुधारको नाममा गरिएको परिपत्रलाई त्रिविले स्वीकार नगर्ने घोषणा गर्दै उक्त सुधारलाई भाँडभैलोको संज्ञा दिए ।

भाषामा ल्याएको भाँडभैलोविरुद्ध सधँै संघर्ष गरिरहन आफू लगायत अन्य प्राध्यापकहरू समेत तयार रहेको उनको भनाइ थियो । ‘भाषालाई तोक आदेश र टिप्पणीबाट लागू गर्ने होइन, भाषा प्रयोक्ताको सम्पत्ती हो, भाषा परिवर्तनशील छ, यो निरन्तरको प्रक्रिया हो,’ उनले भने, ‘यसलाई लादेर लादिन्न ।’

सोही अवसरमा नेपाली भाषाविद् चुडामणि गौतमले खुट्टा काटेर बनाएको नियम प्रति असहमति जनाउँदै यस्तो कार्य प्रति भारतमा रहेका नेपालीहरुको पनि विरोध रहेको जानकारी दिए । नेपाली भाषाको आफ्नै शिष्ट परम्परा रहेकोले त्यसलाई नछोड्न उनले आग्रह समेत गरे ।

त्रिभुवन विश्वविद्यालयका प्रा. डा. खगेन्द्र लुइँटेलले भाषा प्रयोक्ताले प्रयोग गर्ने वस्तु भएको बताउँदै भाषालाई लाद्न नहुनेमा जोड दिए । उनले पछिल्लो क्रममा आएको सुधारलाई नेपाली भाषा माथि भएको जबर्जस्ती अत्याचार र बलात्कार भएको बताउँदै त्यसो नगर्न उनले चेतावनी पनि दिए ।

सोही क्रममा अभियानका संयोजक बलदेव शर्माले पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषा विषयमा भ्रम पैदा गरेको उल्लेख गर्दै कथित सुधार देवनागरी लिपिलाई समाप्त पार्ने षड्यन्त्र भएको बताए ।

उनले कथित सुधारका कारण प्राथमिक तहदेखि कलेज तह सम्मका नेपाली भाषा अध्यापन गरिरहेका शिक्षक र प्राध्यापकहरूमा समेत अन्योल सिर्जना गरेकोले भाषामा सुधार नभएर अझ जटिल बनाएको आरोप लगाए ।

उनले पूर्व शिक्षामन्त्री दीनानाथ शर्मालाई झुक्याएर भाषा सुधार नाममा नियम लाद्नुको स्वार्थ राष्ट्रको भाषा बचाउ र सुधार भन्दा केही व्यक्तिहरूको शब्दकोश बिकाउने स्वार्थ जोडिएको सन्दर्भ उल्लेख गर्दै भाषा बिगार्ने षड्यन्त्र विरुद्ध सबैलाई एक हुन आग्रह गरे ।

साक्षात्कारमा अभियानका अभियन्ता एवं शिक्षाविद् शरदचन्द वस्तीले भाषा र व्याकरणको कठीनाईलाई सरल बनाउने काम नियमले नभएर गुरुले बनाउने बताए । उनले भाषालाई अझ समृद्ध बनाएर अघि लग्नुपर्ने आवश्यकता भइरहेको समयमा सरकारले नयाँ नियम ल्याएर भाषाकै मर्ममाथि प्रहार भएको आरोप लगाउँदै सरलीकृत गर्ने नाममा ज्ञानको मात्रालाई घटाउन नहुने बताए ।

उनले शिक्षाको उद्देश्य प्रतिभा जगाउने भएको चर्चा गर्दै अहिलेको कथित सुधारले विद्यार्थीको प्रतिभालाई कुण्ठित बनाउने पनि दाबी गरे ।

कार्यक्रममा नयाँ नेपाली वर्णविन्यासका पक्षधर बद्रीविशाल भट्टराईले भाषा माथि आक्रमण भएको भन्दै भइरहेको अभियानलाई हल्ला खल्लाको संज्ञा दिँदै सरकारले विना छलफल भाषामा नयाँपन नल्याएको दाबी गरे ।

भाषालाई अझ सरल बनाउन र परिष्कृत बनाउने उद्देश्यले नयाँ रूप दिएको बताउँदै उनले भाषालाई सन्दर्भ अनुसार बुझ्न अनुरोध गरे । नयाँ नियम माथि लाञ्छना नलगाउन उनले अनुरोध गरेका थिए ।

कार्यक्रम आयोजक विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापति, बासु उमावि÷कलेजका नेपाली विषय शिक्षक प्रेमकुमार मगर, श्रीकृष्ण उमाविका शिक्षक कान्छो सिजापतिले भाषामा आएको सुधारले आफूहरुलाई अध्यापनको क्रममा धर्म सङ्कटमा पारेकोले उक्त समस्या समाधान गर्न आग्रह गरे ।

प्रकाशित मिति २०७३ भदौ १६ गते

प्रतिक्रिया