Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

विद्यार्थी संख्याबारे त्रिविमा फरक–फरक तथ्यांक

विहीबार, १६ भदौ २०७३

काठमाडौं १६ भदौ / त्रिभुवन विश्वविद्यालयको विद्यार्थी संख्या कति भनेर सोध्यो भने पदाधिकारीअनुसारको जवाफ आउने गर्छ । त्रिविको आधिकारिक तथ्यांकमा एकै शैक्षिक सत्रका विद्यार्थी संख्यामा झन्डै डेढ लाख फरक परेको छ । यसले त्रिविको गम्भीर लापरबाही पुष्टि गरेको छ ।

त्रिविका रजिस्ट्रारले गत असारमा त्रिवि सभामा पेस गरेको डकुमेन्टमा ०७१-७२ मा त्रिविमा कुल विद्यार्थी संख्या दुई लाख ९८ हजार नौ सय ९० रहेको उल्लेख छ । तर, त्रिविको उपकुलपति र रेक्टरको सन्देशसहित प्रकाशित आधिकारिक प्रकाशन ‘टियू टुडे’मा कुल विद्यार्थी संख्या चार लाख ३६ हजार सात सय ८१ रहेको उल्लेख छ ।

लाखौँ विद्यार्थी, हजारौ“ शिक्षक र कर्मचारी रहेको त्रिविमा तथ्यांकसमेत पदाधिकारीअनुसार फरक हुने गरेका छन् । एउटै वर्षको तथ्यांकमा एक लाख ३७ हजार सात सय ९१ विद्यार्थी संख्या फरक रहेको देखिएको छ ।

त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले दिने तथ्यांक एउटै वर्षको पनि फरक–फरक हुने गरेको छ । त्रिविको आधिकारिक प्रकाशन टियू टुडे र रजिस्ट्रारले त्रिवि सभामा प्रस्तुत गरेको विद्यार्थी संख्यासम्बन्धी तथ्यांकमा झन्डै डेढ लाख संख्या फरक छ । त्रिविको सबैभन्दा पछिल्लो प्रकाशन टियू टुडेमा त्रिविमा उपकुलपति प्रा.डा. तीर्थ खनियाँ र रेक्टर प्रा.डा. सुधा त्रिपाठीको सन्देशसहितको सो प्रकाशनमा ०७१-७२ मा आंगिक क्याम्पसमा एक लाख ६९ हजार आठ सय ६५ भर्ना भएको उल्लेख छ । त्यसैगरी, दुई लाख ६६ हजार नौ सय १६ जना विद्यार्थी सम्बन्धनप्राप्त क्याम्पसमा रहेको भनिएको छ । सो तथ्यांक योजना परिषद्को कार्यालयका प्रमुख प्रा.डा. ऋदिशकुमार पोखरेलको नाममा प्रस्तुत गरिएको छ ।

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले २६ असारको सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा भने अर्कै तथ्यांक छ । सो सभामा आर्थिक वर्ष ०७१-७२ मा अध्ययनरत कुल विद्यार्थी संख्या दुई लाख ९८ हजार नौ सय ९० रहेको र जसमध्ये आंगिक क्याम्पसमा एक लाख चार हजार एक सय ८८ रहेको उल्लेख छ । त्यसैगरी सम्बन्धनप्राप्त क्याम्पसमा एक लाख ९४ हजार आठ सय दुई विद्यार्थी रहेको उल्लेख छ ।

त्रिविका रजिस्ट्रार उप्रेतीले त्रिवि सभामा प्रस्तुत गरेको तथ्यांकलाई आधिकारिक मान्न आग्रह गरे । सरकारी निकायदेखि सबैतिर त्रिवि सभामा पेस गरेको तथ्यांक उपलब्ध गराइएकाले सोही तथ्यांक आधिकारिक मान्नुपर्ने उनको भनाइ छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया