Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

अनुशासन तोडेको निउँमा दुई शिक्षक मिलेर कुटे ११ विद्यार्थी

विहीबार, १६ भदौ २०७३

काभ्रे - 'अनुशासन उलंघन गरेको' भन्दै चक्रेश्वर उच्च माध्यामिक विद्यालय च्याम्राङ्बेसीका दुई जना शिक्षकले ११ जना विद्यार्थीलाई कुटेर घाईते बनाएका छन् । माध्यमिक तहका विज्ञान शिक्षक माधव प्रसाद दाहाल र अंग्रेजी शिक्षक ओम प्रकाश वाईवा मिलेर आफूहरुलाई कुटेको पीडित विद्यार्थीले बताएका छन् ।

शिक्षकहरुले कक्षा ९ का सुजन दाहाल, कृष्ण प्रसाद दाहाल, प्रदीप दाहाल, आयाम घिमिरे, सौरभ दाहाल, सरोज तामाङ, उषा दाहाल, रुपा दाहाल, विनोद तिमिल्सिना, रोशन दाहाल र यशोदा घिमिरेलाई कुटेको विद्यार्थीले दावी गरेका छन् । विद्यार्थीलाई सोधपुछ गर्ने भन्दै अफिस कोठामा लगेर कुटेको एक अभिभावकले बताए । 'शिक्षकले जुत्तै जुत्ताले र बेतका लौरी भाँचिने गरी कुटेछन्' ती अभिभावकले भने ।

कुटाई खाने मध्ये एक कृष्णप्रसाद दाहाललाई विद्यालयबाटै निकाल्ने तयारी भए पछि घटना भएको दोश्रो दिन बुधबार अबेर बल्ल विद्यार्थीले उक्त घटना सार्वजनिक गरेका हुन् ।

बाटोमा हिँड्दा साथी साथी बिच भएको कुराकानीलाई निउँ बनाएर कुटेको एक विद्यार्थीका अभिभावकले बताए । विद्यालयमा आवश्यक खाने पानीको पाईप जोड्न ३ नम्बर वडा ढाँडमा शिक्षक विद्यार्थी सहितको टोली गएको र उक्त काम सकेर फर्कदाँ बाटोमा विद्यार्थी विद्यार्थी विच भएको कुराकानीलाई आधार बनाएर शिक्षकहरुले कुटेको उनको भनाई छ ।

'साथी साथी विच रमाईलो कुरा गर्दै हिँडेका विद्यार्थीको कुरालाई निउँ बनाएर विद्यालय समय सकिए पछि सरहरुले कुट्नु भएछ' ती अभिभावकले  भने, 'कुटाई खाएका विद्यार्थी मध्ये अधिकाँशको शरीरमा नील डाम छन् ।'

शिक्षक दाहाल भने छात्रहरुले छात्राहरुलाई अश्लिल कुरा गरेको थाह पाए पछि विद्यार्थीलाई अनुशासनमा राख्न 'सम्झाएको' बताउँछन् । 'फलानो केटाको फलानो केटी, फलानो केटीको फलानो केटा भन्दै भाग लगाउन थाले पछि विद्यालयको अनुशासन के हुन्छ ! तपैं आफैं भन्नुस् त ?' उनले प्रश्न गर्दै भने, 'विद्यालयको वातावरण अनुशासित राख्न मात्रै खोजेका हौं, तपाईलाई कसले के भन्यो थाह भएन, कुरा बुझ्न मन छ भने विद्यालयमै आउनुस् ।'

विद्यालयका प्रधानाध्यापक हरीप्रसाद घिमिरे विद्यार्थीलाई अनुशासनमा राख्न गरिएको कृयाकलापलाई 'नउछाल्न' आग्रह गर्छन् ।

चाहे जे निउँमा भएपनि पढ्न गएका विद्यार्थीलाई कुट्नु शिक्षकलाई शोभा दिने विषय नभएको भन्दै अभिभावक भने आक्रोशित भएका छन् ।

'विद्यार्थीलाई विद्यालयमा पढ्न पठाएको हो की तीनीहरुको कुटाई खान ?' ती अभिभावक प्रश्न गर्छन्, 'शिक्षकले गरेको गल्ति हो, अव घाईते विद्यार्थीलाई के गर्ने हो त्यो कुरा विद्यालयले स्पष्ट पार्नु पर्छ ।'

तर, प्रअ घिमिरे शिक्षकलाई पानीमा डुवाएर मार्ने धम्कि दिएपछि विद्यार्थी कृष्णप्रसाद दाहाललाई अभिभावक ल्याउन भन्दै घर पठाएको बताउँछन् ।

'हामीले कुनै विद्यार्थी निकाल्ने भनेका छैनौं, जव शिक्षकलाईनै मार्छु र काट्छु भनेपछि अभिभावकलाई जानकारी दिनु पर्ने भएकोले अभिभावक सहित आउ भन्दै उसलाई घर पठाएका हौं, तपैंलाई कसले के भन्यो थाह भएन' उनले भने 'हामी अभिभावकको पर्खाईमा दिनभर बस्यौं तर आउनु भएन ।'

कृष्ण प्रसाद दाहालको यस अघिको 'रेकर्ड नराम्रो' भएको भन्दै प्रहरीमा जानकारी दिने बारेमा विद्यालय ब्यवस्थापन समिति र शिक्षकहरु विच सल्लाह भएको शिक्षक दाहालले बताए ।

'विद्यार्थीका बाबु दत्तनारायण दाहाल नाताले मेरो काका पर्नु हुन्छ, विद्यार्थी मेरै भतिजो हो, तर उसको विगतका कृयाकलाप त्यति रामो छैन' उनले भने 'अब के गर्ने भन्ने बारेमा छलफल गर्न काकालाई बोलाएको हो आउनु भएन अव कसरी अघि बढ्ने भन्ने बारेमा हामी छलफल गर्दै छौं ।'

तर कुनै गल्ति विनानै आफ्नो छोरोले कुटाई खाएको दत्तनारायण दाहालको दावी छ । 'मेरो छोरोले के गल्ति गर्यो नभन्ने एक्कासी कुट्ने अनी उल्टै विद्यालयबाट निकाल्ने भन्ने थाह पाएपछि म नगएको हो' उनले एडुखबरसंग भने, 'गल्ति गर्ने शिक्षक र विद्यालय प्रशासन उल्टै हामीलाई दोषी देखाउन खोज्ने ?'

प्रकाशित मिति २०७३ भदौ १६ गते 

प्रतिक्रिया