Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

पूर्ण साक्षर जिल्ला २९ वटा

विहीबार, १६ भदौ २०७३

काठमाडौ १६ भदौ / सन् २०१५ सम्म सबैका लागि शिक्षा अभियानअनुसार सुरु भएको साक्षरता लक्ष्य ढिलो गरी पूरा हुन लागेको शिक्षा अधिकारीले जनाएका छन् ।

अहिलेसम्म २९ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । ‘अब चाँडै थप ३० वटालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा छौं,’ अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुंगेलले भने, ‘तराईमा आन्दोलनको समयमा केही जिल्लामा साक्षरता कार्यक्रम सुचारु हुन नसक्दा लक्ष्यमा पुग्न गाह्रो भएको हो । अब त्यो समस्या चाँडै निकास पाउँदैछ ।’

पचासौं अन्तर्राष्ट्रिय साक्षरता दिवसको तयारीबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । यो वर्षको ‘विगतबाट सिकौं, भविष्य कोरौं’ भन्ने अन्तर्राष्ट्रिय साक्षरता अभियानको नारा रहेको छ । दिवसका अवसरमा साताव्यापी कार्यक्रम गरिने जनाइएको छ । जसमा लोकदोहोरी प्रतियोगिता, लघु नाटक प्रदर्शनी, अनौपचारिक शिक्षासम्बन्धी प्रदर्शनी, प्रभातफेरी, झाँकी प्रदर्शनीलगायत कार्यक्रम रहेको जनाइएको छ ।

केन्द्रको तथ्यांकअनुसार यसअघि पूर्ण निरक्षरको संख्या करिब तीन लाखमात्र रहेको छ । गत आर्थिक वर्षमा १ लाख ४६ हजारलाई निरन्तर शिक्षा प्रदान गरिएको थियो भने यो वर्ष १ लाख ५७ हजारलाई साक्षर तुल्याउने लक्ष्य राखिएको निर्देशक ढुंगेलले जनाए ।

साक्षरता अभियानअन्तर्गत निरन्तर शिक्षाका निम्ति चालु वर्षका निम्ति ३७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । १५ देखि ६० वर्ष उमेर समूहलाई लक्षित कार्यक्रम रहेका छन् । कम उमेर समूहकालाई साक्षर शिक्षासँगै मूलधारमा जोडिने छ भने प्रौढ उमेरका निरक्षरलाई साक्षरतासँगै विभिन्न सीपसँग जोड्ने कार्यक्रमहरू प्रदान गरिँदैआएको छ ।

कान्तिपुरमा प्रकशित खबर ।

प्रतिक्रिया