Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

साक्षरता कार्यक्रम प्रभावित

विहीबार, १६ भदौ २०७३

काठमाडौ १६ भदौ /तराईका अधिकांश जिल्लामा साक्षरता कार्यक्रम प्रभावित बन्न पुगेको छ ।  देशका ५३ जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी साक्षर भइसकेको दाबी गरिएको छ, तर तराईमा भने साक्षरता दर निकै कम रहेको जनाइएको छ ।

अनौपचारिक शिक्षा केन्द्रले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले २२ जिल्लाको साक्षरता दर ९० प्रतिशतभन्दा कम रहेको र तीमध्ये अधिकांश तराई तथा केही पहाडी जिल्ला रहेको जानकारी दिँदै भन्नुभयो, “गत वर्ष तराई आन्दोलनका कारण साक्षरता कार्यक्रम प्रभावित बन्न पुग्यो । ”

उहाँले हालसम्म २९ जिल्लाले साक्षरता जिल्ला घोषणा गरिसकेको र बाँकीले गर्ने तयारीमा रहेको बताउँदै यस वर्ष साक्षर घोषणा गरेका जिल्ला ५९ पुग्न दाबी गर्नुभयो ।

यही भदौ २३ गते ५० औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।  साक्षरता दिवसका लागि विगतबाट सिकौँ, भविष्य कोरौँ भन्ने नारा तय गरिएको छ ।

हालसम्म साक्षर भनी दाबी गरिएकाहरूको तथ्याङ्क सही नभएको आरोप लगाइँदै आएको छ ।  केन्द्रका निर्देशक ढुङ्गेलले घरधुरी सर्वेक्षण गरेर तथ्याङ्कको सत्यापन गरिने जानकारी दिनुभयो ।

उहाँले सो उमेर समूहका अझै करिब तीन लाख व्यक्ति निरक्षर रहेको बताउँदै चालु आर्थिक वर्षभित्र तीमध्ये डेढ लाखलाई साक्षर बनाउने र बाँकीलाई आगामी वर्ष साक्षर बनाइ पूर्ण साक्षर नेपाल घोषणा गरिने बताउनुभयो ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया