Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

राष्ट्रिय पुस्तक नीतिको मस्यौदा सार्वजनिक

बुधबार, १५ भदौ २०७३

काठमाडौं - पुस्तकालय दिवसको अबसर पारेर शिक्षा मन्त्रालयले  राष्ट्रिय पुस्तक नीति–२०७३ को मस्यौदा सार्वजनिक गरेको छ । नवौं पुस्तकालय दिवसका अवसरमा भएको कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले मस्यौदा सार्वजनिक गरेका हुन् । उक्त मस्यौदा छलफल र सुझाबका लागि सार्वजनिक गरिएको जनाईएको छ ।

कार्यक्रममा पुस्तकालय गुरु योजना र पुस्तकालय अभिलेख व्यवस्थापनको मस्यौदा पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका तीन वटै मस्यौदा छलफल र सुझाबका लागि १५ दिनसम्म शिक्षा मन्त्रालयको वेवसाईटमा राखिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले हरिगोविन्द लुईंटेल, डा. तुलसीप्रसाद भट्टराई र इन्दिरा दलीको संयोजकत्वमा क्रमशः राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरु योजना र पुस्तकालय अभिलेख व्यवस्थापन कार्यदल गठन गरेको थियो ।

‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नारा सहित बुधबार मनाईएको पुस्तकालय दिवसको औपचारिक कार्यक्रममा शिक्षा मन्त्री पौडेलले आम नागरिकबाट प्राप्त सुझाबका आधारमा मस्यौदालाई आबस्यक परिमार्जन गरेर लागू गरिने बताए ।

व्यवस्थित नीति र कार्यक्रम सहित सबै खाले बौद्धिक सम्पदाहरुको सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । ‘हाम्रो मुलुकका पुराना र नयाँ सबैखाले बौद्धिक सम्पदालाई पुस्तौं पुस्तासम्मका लागि सुरक्षित गर्नु जरुरी छ’, मन्त्री पौडेलले भने, ‘त्यसको लागि व्यवस्थापन र प्रविधीमा चुस्त र अद्याबधिक भएको पुस्तकालयहरुको विकास गर्नु जरुरी छ ।’

विज्ञान प्रविधिको विकासले पुस्तकालयको पुरानो अबधारणामा  फेरबदल आएको चर्चा गर्दै उनले नयाँ प्रविधी सहितको इलेक्ट्रिक पुस्तकालयको विकासमा पनि ध्यान दिन पुस्तकालयका सञ्चालकहरुलाई आग्रह गरे ।

कार्यक्रममा सिटिईभिटीका उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि प्राविधिक पुस्तकालयको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । त्रिभुवन विश्व विद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले राज्यको ठोस नीति र कार्यक्रम नहुँदा पुस्तकालयहरु व्यवस्थित हुन नसकेका गुनासो गरे । 

कार्यक्रममा शिक्षा मन्त्री पौडेलले पुस्तकालय दिवशको अबसरमा आयोजित विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ठ हुने विद्यार्थीका साथै पुस्तकालयको विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा पुस्तकालय दिवशको अबसरमा शिक्षा मन्त्रालयले प्रकाशन गरेको स्मारिकाको पनि विमोचन गरिएको थियो ।

पुस्तकालय दिवस मनाउन शिक्षा मन्त्रालयले निमित्त सचिव डा. डिल्लिराम रिमालको संयोजकत्पमा समित बनाएको थियो । उक्त समितिकै आयोजनामा विहान प्रभात फेरी समेत निकालिएको थियो । प्रभातफेरीमा पुस्तकालय सम्बद्ध संस्थाका प्रतिनिधि र विद्यँर्थी सहभागि थिए ।

प्रकाशित मिति २०७३ भदौ १५ गते  

प्रतिक्रिया