Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

लाइसेन्स रिन्यूको खेलो, मेडिकल कलेजद्धारा प्राविका विद्यार्थी ‘बन्धक’

बुधबार, १५ भदौ २०७३

- हरिसुन्दर छुकां / भक्तपुर - काठमाडौं मेडिकल कलेज केएमसीले लाइसेन्स रिन्यू गर्न आवश्यक संख्या पुर्याउन छिमेकी विद्यालयका विद्यार्थीलाई ‘बन्धक’ बनाएको छ । चाँगुनारायण नगरपालिका वडा नं. १२ दुवाकोटमा रहेको उक्त अस्पतालले उपचारको निउँमा प्राथमिक तहका विद्यार्थीलाई बन्धक बनाएको हो । केएमसीले दुवाकोटको फैढोकागणेशस्थित गणेश प्राथमिक विद्यालयका एक दर्जन विद्यार्थीलाई उपचारका लागि भन्दै रातभर राखेर भोलिपल्ट मध्यान्ह १२ बजे विना उपचार फर्काएको छ ।

अस्पतालले १, २, ३ र ४ कक्षामा अध्ययनरत  विद्यार्थीलाई गत बुधबार (भदौ ८ गते ) साँझ लगेर रातभरी नक्कली बिरामी बनाइ राखेको विद्यार्थीका अभिभावकले जानकारी दिए ।

अस्पतालले विद्यार्थीलाई ‘बन्धक’ बनाउनुको मुख्य कारण नवीकरणको लागि नक्कली बिरामी देखाउनु रहेको स्थानीयले आरोप लगाएका छन् । अस्पतालले यस अघि पनि यसैगरी स्थानीयलाई लगेर बेडमा सुताउने र केही समय पछि फर्काउने गरेको उनीहरुले बताए । 'अस्पताल ठिक छ छैन भन्ने अनुगमन गर्न आउने सरकारी टोलीलाई छक्याउन पो हामीलाई त्यसरी बोलाउँदा रहेछन्' एक स्थानीयले भने, 'हामीलाई के थाह, चेक गर्र्छौ भनेपछि होला त नी भनेर हामी जान्थ्यौं यस पटक विद्यार्थीलाई त्यसै गरेछ ।'

अस्पताल पुगेका विद्यार्थीले आफूहरुको कुनै चेक जाँच नभएको बरु अस्पतालका कर्मचारीले नाम र ठेगाना टिपेको बताए । 

स्कुलबाट फर्किए पछि अस्पतालमा गएको कक्षा २ र ३ मा पढ्ने किरण र दिलप्रसाद सुनुवारले बताए । ‘स्कूलबाट फर्किए पछि तिमीहरु केएमसी अस्पताल जानु, त्यहाँ अस्पतालमा मिठो मिठो खानेकुरा खान दिन्छन् भनेर हेडसरले भन्नु भए पछि हामी गयौं’ कक्षा ३ का दिलप्रसादले भने ।

केएमसी पुगेका अधिकांश विद्यार्थीले हेडसरले जानू भने पछि आफूहरु गएको स्वीकारेका छन् ।

केएमसीमा पुगेका विद्यार्थीले आफूहरुलाई रातभर हस्पिटलको बेडमा सुताएको र आफूहरु मध्ये केहीलाई हल्ला गरेको भन्दै अस्पतालका सुरक्षा गार्डले पिटेको समेत सुनाए ।

विद्यालयका प्रधानाध्यापक नारायण प्रधानले केएमसीले उपचारका लागि बच्चाहरुलाई पठाउन पत्र पठाए पछि आफूले नै जान भनेको स्वीकारे ।

विद्यालयबाट छुट्टी भएर घर फर्किएका बच्चाहरु राती नौ बजेसम्म पनि नफर्किए पछि अभिभावक अत्तालिएका थिए ।

प्रअ प्रधानले अभिभावकहरुलाई जानकारी दिएर विद्यार्थीलाई पठाएको बताए पनि अभिभावकहरु भने त्यसको कुनै जानकारी नभएको दवी गर्छन् ।

अस्पतालका सहायक निर्देशक डा. विनिता प्रधानले भने अस्पतालको स्कुल हेल्थ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई चेकजाँचको लागि बोलाएको बताइन् । उनले स्कुलसँगै अनुमति लिएर विद्यार्थीलाई डाकेको जानकारी दिइन् । बच्चाहरुलाई विशेष स्वास्थ्य उपचार दिनका लागि एकरात अस्पतालमै राखिएको उनको दावी छ ।

डा. प्रधानले विद्यार्थीको जाँच गरिएको दाबी गर्दै जाँच रिपोर्ट अस्पतालमै सुरक्षित राखिएको जानकारी दिईन् । उनले स्थानीयले भनेजस्तै गरी अस्पताल रिन्यूका लागि नभएर गरिब र न्यून आय भएका व्यक्तिहरुको उपचारको लागि त्यसरी राखेको बताइन् ।

तर विद्यार्थीले भने आफूहरुको स्वास्थ्य जाँच नै नगरेको बताएका छन् । जाँच गरेको कुनै पूर्जी नदिएको अभिभावकको भनाई छ ।

हरिबहादुर सुनुवार, अभिभावक 

किरण अहिले ७ वर्ष र दिलप्रसाद (माइला) ११ वर्षको भयो । हामी यहीँको गाई फार्ममा काम गर्छौं, त्यो दिन पनि म र श्रीमती आआफ्नै काममा व्यस्त थियौं, सधैंजस्तै बच्चाहरु आए होलान्, कहिँ खेल्न गए होलान् भन्ने लाग्यो, आठ बजि सक्यो, आएनन, यताउति सबैतिर खोज्यौं, भेटिएन, नौबज्दा पनि आएनन्, कहाँ गयो होला भनेर हामीले खाना पनि खान सकेनौं, रातभर निद्रा लागेन, चिनेजानेका सबैलाई सोध्यौं, कोहीले पनि देखेको छैन भने । श्रीमतीले रोएरै रात बिताइन् ।

के गर्ने ? कसो गर्ने ? भन्ने भयो, निक्कै चिन्ता लाग्यो । बिहान छोराहरु हराएको कुरा फार्मको साहुजी (राम न्यौपाने) लाई भन्यौं । राम दाइ पनि छानाबाट खसेको जस्तै हुनुभयो । उहाँले ल चिन्ता नगर हामी सबै मिलेर खोज्छौं भनेर भन्नुभयो । उहाँलाई पहिले पहिले पनि केएमसीले अभिभावकलाई भन्दै नभनी बच्चाहरु लग्ने गरेकोे थाह रहेछ क्यारे । उहाँ त्यतातिर लाग्नुभयो ।

राम न्यौपाने, स्थानीय फार्म सञ्चालक

फार्ममा काम गर्नेहरुले बिहानै मलाई रुँदै छोराहरु हराएको बताए । म पनि छक्क परेँ, त्यसपछि मैले उनीहरुलाई चिन्ता नलिन भन्दै केएमसीतर्फ लागेँ । केएमसीमा पुग्ने

बित्तिक्कै मैले त्यहाँको गार्डसँग यहाँ हिजो बच्चाहरु ल्याएका थिए कि भनेर सोधँे, गार्डले बच्चाहरु ल्याएको जानकारी दिए । किन ल्याएको नि ? मैले थप सोधेँ,  खै, किन ल्याएको भन्ने त थाहा भएन तर हामीलाई चाहिँ बच्चाहरुलाई भाग्न नदिनू भनेर भनेका छन् ।’ गार्डले भने ।

त्यस पछि म अस्पताल प्रशासन फाँटमा गएर बुझें, कोहीले पनि वास्ता गरेनन् । यहाँ बच्चाहरु ल्याएका छन् ? भनेर सोध्दा पनि जवाफ दिएनन् । म भने कहाँ राखिएका रहेछन् भनेर बच्चा खोज्न तिर लागेँ । त्यही क्रममा एउटा कोठामा ६÷८ जना बच्चाहरु बेडमा सुताइरहेको देखेँ ।

अझ २ जना बच्चालाई त बेडमा नभएर बेडमुनि चिसोमा सुताइएको थियो । तिनीहरु मध्ये किरण र दिलकुमार मेरो फार्ममा काम गर्ने कामदारका छोराहरु रहेछन् । अरु एक दुई जना यहीँ मजदुरी गरेर गुजारा गर्नेहरुका सन्तानहरु पनि देखेँ ।

प्रकाशित मिति २०७३ भदौ १५ गते

प्रतिक्रिया