Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

छात्रा भन्थे - म्याम म घर जान्छु !

बुधबार, १५ भदौ २०७३

- मायामितु न्यौपाने / वीरगंज - गायत्री साहलाई नियुक्त भएर श्री महानन्द प्रसाद उपाध्याय उच्च माध्यमिक विद्यालय बगहीमा हाजिर भएको पहिलो दिन नै अनौठो लाग्यो ! जब उनी आफनो घण्टी सकेर कक्षा बाहिर निस्किईन एक छात्रा नजिकै आएर भनिन् – म्याम म घर जान्छु !

बिचैमा कक्षा छाडेर घर जानुको कारण सोध्दा थाह भयो ती छात्रालाई महिनावारी भएको रहेछ । हो त्यहिबेला देखि नै साहले संकल्प गरिन – प्राकृतिक नियमको सामान्य घटना  समेत झेल्न नसक्ने यो समस्याबाट छात्राहरुलाई छुटकारा दिन केही न केही गर्छु ।

छात्रालाई घर पठाएपछि उनले प्रधानाध्यापकसंग छलफल गरिन् । तर, प्रधानाध्यापकले त्यति चासो दिएनन् । कारण सिधै थियो, विद्यलायमा रहेका १७ जना शिक्षक मध्ये उनी मात्र महिला शिक्षक थिइन् ।

छात्राहरुले आफ्नो समस्या बताउने एक सहारा उनैलाई बनाए । दैनिक जसो कोही न कोही आएर उनलाई उस्तै समस्या भन्न थाले । केही न केही त गर्ने प¥यो नत्र पहिलो घण्टीमा रजश्वला भयो भने बाँकी सबै कक्षा मात्रै हैन आउँदा चार पाँच दिन उनीहरु विद्यालय नै नआउने हुन्छन् । त्यसै त छात्राहरुको पढाइ कमजोर त्यस माथि यो समस्या ।

यो कुराले उनलाई बारम्बार घोचिरहयो । प्रधानाध्यपाकसंग कचकच गर्न छाडिनन् । धेरै पटक भने पछि अन्त्यमा प्रधानाध्यापकले प्याड किनेर स्कुलमै राख्ने सामान्य जवाफ दिए । सबैले प्याड किन्न सक्ने अवस्था छैन, आफ्न खर्चमा ब्यवस्था गर्न उस्तै कठिन ।  त्यसमाथि भन्ने वितिकै बजारमा प्याड नपाइने समस्या ।

उनको दिमागमा बरु घरायसी सामान जोरजाम गरेरै भएपनि आफैले प्याड बनाउन सके त ! 'तँ आँट म पुर्याउँछु भने जस्तो' कुनै संस्थाले महिनावारी तथा यसमा गर्नु पर्ने सरसफाईका बारेमा तालिम दिदैँछ भन्ने खबर सुनिन् ।

यही खबरले उनलाई सबै समस्याको समाधान लिएर आयो ।

तालिममा सिकेका कुरा विद्यालयमा छात्राहरुलाई सिकाउन थालिन् । खाली घण्टिमा पाँच कक्षा माथिका छात्राहरुलाई एक दिनमा १० जनाको समूह बनाएर आफैले कसरी प्याड बनाउने ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ? लगायतका विषयमा सिकाउन थालिन ।

यो सिकाइले महिनावारीकै कारण विद्यालयमा अनियमित छात्राहरु नियमित हुन थाले । नियममित भएसँगै उनीहरुको  पढाइ सुध्रियो यति मात्रै हैन, विद्यालयमा छात्र भन्दा छात्राको संख्या बढ्यो । अहिले पाँच कक्षा भन्दा माथि अध्ययन गर्ने छात्राहरु मात्रै तीन सय भन्दा धरै छन् । ती सबैले आफ्नो लागि आवश्यक प्याड आफैं बनाउँछन् ।

धेरै भएको प्याड विद्यालयमा पनि राख्छन् । विद्यालयमा सिकेको यो ज्ञान उनीहरुले  छिमेकीलाई पनि सिकाउन थालेका छन् । विद्यालयमा सोही अनुसारको शौचालय, व्यवस्थापनको सुविधा भएकाले महिनावारी पछि विद्यालय छाड्ने संख्यामा आएको कमीले प्रधानाध्यापक अरविन्दकुमार लाल पनि मख्ख छन् ।

कक्षा छाडेर जान मन नहुँदा नहुँदै पनि थुर्पै पटक घर फर्केकी सुदामादेवी पासवान हिजो आज ढुक्कले पढ्छिन् । अर्की विद्यार्थी सानु मैया सहनी घरमै प्याड बनाउने काईदा अरुलाई पनि सिकाउँछिन् । 'सुतीका कपडा किनेर बनाउन सकिने यस्तो प्याड ८ पटक सम्म प्रयोग गर्न सकिन्छ,  त्यसले गर्दा सस्तो पनि पर्छ' उनी भन्छिन् ।

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार युनिसेफको सहयोगमा जिल्लाका ३० विद्यालयका दुई दुइ जना महिला शिक्षकलाई यो तालिम दिइएको छ । जसले विद्यालयमा हुने छात्रा ड्रप आउटको संख्या घटाउन ठूलो भूमिका खेलेको छ ।

प्रकाशित मिति २०७३ भदौ १५ गते

प्रतिक्रिया