Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

हेलिकोप्टर चार्टर गरेर स्कुल उद्घाटन

बुधबार, १५ भदौ २०७३

काठमाडौं १५ भदौ / वाणिज्यमन्त्री रोमी गौचन थकाली डाइनेस्टिक हेलिकोप्टर चार्टर गरी गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौंबाट करिब डेढ सय किलोमिटर टाढा रहेको गोरखाको महालक्ष्मी उच्च मावि, ताप्लेस्थित नवनिर्मित भवन उद्घाटन गर्न मन्त्री गौचन एक लाख रुपैयाँभन्दा बढी खर्च गरेर पुगेका हुन् । उनी मंगलबार दिउँसो साढे एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए ।

मन्त्री अवतरण हुन लाग्दा हेलिकोप्टरको हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ९० वर्षीय वृद्ध घाइते भएका छन् । ताप्ले ९ का हरिप्रसाद भट्ट घाइते भएको स्थानीय कलाधर भट्टले बताए । उनको टाउकोमा चोट लागेको छ ।
एक घन्टा कार्यक्रम स्थलमा बसेर उनी हेलिकोप्टरमै गोरखा सदरमुकाम फर्केका थिए । सदरमुकाममा कार्यालय प्रमुखहरूसँग अन्तक्रिया गरी उनी अपराह्न काठमाडौं फर्केका छन् । विद्यालयका अध्यक्ष देवीप्रसाद श्रेष्ठले हेलिकोप्टर खर्च मन्त्री आफैंले व्यहोरेको जानकारी दिए ।

गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयवासी भने सन्तुष्ट छैनन् । 'भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन', माओवादी केन्द्रका गाउँ संयोजकसमेत रहेका भट्टले भने, 'आफू उद्घाटन गर्दै हिँड्दिन भन्ने प्रधानमन्त्रीकै मन्त्रिमण्डलका मन्त्रीले यसरी तडकभडक गर्नु नसुहाउँदो कुरो हो ।' प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई कमान्डमा राख्न नसकेको उनको टिप्पणी छ ।

चार घन्टामा पुगिने छोटो दूरीमा पनि हेलिकोप्टर उडाएर मन्त्रीले तडकभडक देखाएको प्रति अर्का स्थानीयवासी रज्मदिन मियाँले पनि मन पराएनन् । 'एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् तर मन्त्री एक घन्टा बस्न हेलिकोप्टरमा आउनुभयो', मियाँले भने, 'हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए स्याबासी पाउने थिए ।'

मन्त्रीले उद्घाटन गरेको विद्यालयको १२ कोठे भवन कोरियाका चारवटा संस्थाले निर्माण गरेका हुन् । हाम्सालिङ साउथ कोरिया, सोलिडारिटी ह्युमन राइट एन्ड कल्चर, भिजन २०–२० कोरियालगायतका संस्थालाई सोड नेपाल नामक संस्थाले संयोजन गरेको हो । भिजन २०–२० नामक संस्थाले सोही विद्यालयलाई २० वटा कम्प्युटर हस्तान्तरण गरेको थियो ।

शिव उप्रेतीले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया