Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

बसाइँसराइ रोक्न अंग्रेजी माध्यममा पढाइ

मंगलबार, १४ भदौ २०७३

काठमाडौं १३ भदौ / बसाइँसराइका कारण सुनसान बन्दै गएको पर्वतको आर्थर डाँडाखर्क गाविसमा रहेको पञ्चकोसी उच्च माविमा अंग्रेजी माध्यमबाट अध्यापन सुरु हुन लागेको छ ।विद्यालयमा गुणस्तरीय पढाइ नहुँदा गाउँबाट बर्सेनि बसाइँ सराइ बढेकाले गाउँ सुनसान हुन लागेपछि विद्यालयका पूर्वविद्यार्थीको पहलमा अंग्रेजी माध्यममा पढाइ हुन लागेको हो ।

विद्यालयका भूतपूर्व विद्यार्थीको पहलमा अर्थ संकलन गरेर नर्सरी र कक्षा १ देखि नै अंग्रेजी भाषाका माध्यमबाट अध्यापन सुरु गर्न लागेको विद्यालयका पूर्वविद्यार्थी दुर्गाप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार गाविसको एक मात्र उच्च माध्यमिक विद्यालयमा नेपाली भाषामै अध्यापन हुँदा अंग्रेजी माध्यमबाट अध्ययनका लागि अधिकांश विद्यार्थी सदरमुकाम झरेका छन् ।

कतिपय विद्यार्थी भने पोखरा गएका छन् । निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले आफूहरूले पढेको विद्यालयको स्तर वृद्धिका लागि अंग्रेजी माध्यममा पढाइको व्यवस्थापन मिलाउन सहयोग गरेको भूतपूर्व विद्यार्थी समाजका सचिव विश्व गुरुङले जानकारी दिए ।

गाउँबाट शिक्षाका लागि विद्यार्थी र अभिभावक बसाइँसराइ गर्दै सहर÷बजार धाउन थालेपछि गाउँमै गुणस्तरीय शिक्षा दिएर बसाइँ सराइ रोक्ने पूर्वविद्यार्थीको पहिलो लक्ष्य रहेको सचिव गुरुङले बताए । उनका अनुसार आर्थर डाडाँखर्क गाविसबाट मात्रै गएको डेढ दशकमा ४ सयभन्दा बढी परिवार बसाइँ सरेका छन् ।

अझै बालबालिका पढाउनका लागि बजारमा डेरा खोजेर बस्नेको संख्या बर्सेनि सयभन्दा बढी हुने गरेको छ । गाउँमै राम्रो शिक्षा दिन सके बजार झर्ने क्रम रोकिने विश्वास लिइएको उनले बताए ।

पूर्वविद्यार्थीहरूको पहलमा एक महिनाको अवधिमै १० लाख रुपैयाँ संकलन भइसकेको छ । विद्यार्थीहरूले करिब १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेका छन् । विद्यालयमा अध्ययन गरेका स्वदेश र विदेशमा रहेका पूर्वविद्यार्थीहरूबाट सो रकम जुटाउने अभियान सञ्चालन गरिएको सचिव गुरुङले बताए ।

सो रकमबाट विद्यालयको भौतिक पूर्वाधारमा सुधार गर्ने र अंग्रेजी माध्यमबाट अध्यापनको व्यवस्था मिलाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम गुरुङले बताए ।

आर्थिक र भौतिक अभावमा विद्यालयको स्तरोन्नति हुन नसकेको बताउँदै विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले पूर्वविद्यार्थीको प्रयासमा विद्यालयमा स्तरवृद्धि हुने विश्वास व्यक्त गरे ।

विद्यालयमा पढी देश विदेशमा रहेका पूर्वविद्यार्थीहरू एकै ठाउँमा भेला हुन कठिन भएपछि फेसबुक म्यासेन्जरलाई प्रयोग गरी भूतपूर्व विद्यार्थी मञ्च गठन गरेका थिए ।

गणेश गिरीले राजधानीमा लेखेको खबर ।

प्रतिक्रिया