Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

घर परिवार छोडेर कृषि पढ्दै

सोमबार, १३ भदौ २०७३

– हरिसुन्दर छुकां– काभ्रे / सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ नयाँरोडका नवीन रायमाझीले कक्षा ८ सम्म त्यहीँको ज्ञानज्योति आवासीय माविमा पढे । त्यसपछि उनी गृहजिल्ला नै छोडेर काभ्रेमा आए, पढ्न । आफ्नो गृह जिल्लामा अन्य नमूना विद्यालय नभएका होइनन्, तैपनि उनी भने काभ्रे नै आए, त्यो पनि काभ्रेको टुकुचा गाविसमा जुन भौगोलिक रुपले विकट छ, बनेपा बजारसम्म जान पनि डेढ घन्टा हिँँड्नुपर्छ ।

सर्लाहीबाट काभ्रेसम्मको यात्रा तय गर्नुको एउटै मात्र उद्देश्य छ उनको, कक्षा ९ मै कृषि विषय अध्ययन गर्ने र भविष्यमा एक सफल कृषि प्राविधिक बन्ने । ‘अरु सबै डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, नर्स बन्छु भनेर भन्थे, मलाई भने सानैदेखि कृषिमै केही गर्नुपर्छ भन्ने लाग्थ्यो ।’ भर्खर भर्खर जुंगाका रेखी आउन थालेका उनले भने ।

कृषि कर्म गरेरै दैनिकी चलाउँदै आएका उनका अभिभावकले गर्दे आएको खेतीपातीलाई आफूले पढेको विषयले पक्कै सघाउँछ भन्ने कुरामा ढुक्क भएका उनले कृषि पढेपछि शैक्षिक बेरोजगार भएर बस्न नपर्ने सम्भाव्यता देखेका छन् ।

‘कृषि पढेपछि कृषि प्राविधिक त भइन्छ नै, त्यति पनि हुन नसके पढेको कुरा खेतीपातीमा लगाएरै पनि कमाउन सकिन्छ ।’ उनले भने ।

हरिवनका उनीमात्र होइन, चितवनका रेनिशजंग बस्नेतको त आफ्नो गृहजिल्लामै ‘कृषि प्राविधिक र वैज्ञानिक उत्पादनमा नाम कहलिएको’ रामपुर क्याम्पस, तथा अन्य पोलिक्लिनिकहरु छन्, तैपनि बस्नेत ती सबैलाई छोडेर काभ्रे नै आएका छन् । दैलेखका लाकेश पोखरेल पनि कालिकोटको प्राविधिक शिक्षालय छोडेर करिब ६ सय ५० किलोमिटर टाढाबाट कृषि पढ्नैका लागि काभ्रेसम्म आएका छन् ।

उनीहरु अहिले काभ्रेको टुकुचा गाविस वडा नं. ७ को घिमिरे गाउँको श्वेत बराह उमाविको कक्षा ९ र कक्षा १२ मा कृषि विषय पढिरहेका छन् ।

‘हामीकहाँ नै थियो नि धेरै राम्रा क्याम्पस तर तिनीहरुमा एसएलसीपछि मात्र पढ्न पाइने भयो, यहाँ भए कक्षा ९ देखि नै पढ्न पाइने भएकोले यता आएको हुँ ।’ चितवनका बस्नेतले भने ।

त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरुले कृषि पढेर देशमै कही गर्न सक्ने सम्भावना देखेका छन् । ‘कृषिप्रधान देश भन्छन् तर कृषिलाई कसरी आधुनिकीकरण गरेर अघि बढाउने हो ? त्यसको जानकारी अहिलेका किसानहरुमा छैन, पुरानै तरिकाबाट खेतीपाती गर्छन् ।’ बुबाले बाख्रापालन र तरकारी खेती गरिरहेको बताउने नगरकोटका विनोद घिमिरेले भने । उनी अहिले कक्षा ११ मा कृषि नै पढिरहेका छन् ।

बुवा (भोलानाथ)का एक्लो छोरा विनोद कृषि पढ्न पाएकोमा निक्कै खुसी लागेको बताउँछन् । ‘कृषि पढेर केही गर्न नसके पनि मैले मेरो बुवालाई सघाउन सक्ने भएको छु, कसरी बाली लगाउने, बालीमा रोग देखिए कसरी उपचार गर्ने भन्ने उपाय भन्न सक्ने भएको छु ।’ उनले भने ।

छात्रहरुमात्र नभएर छात्राहरु पनि कृषि पढ्नका लागि विभिन्न ठाउँबाट घर छोडेर आएको प्रशिक्षक प्रकाश चन्दले जानकारी  दिए । उनले उनले काभ्रेकै तिमाल पर्सेलका विनिता तामाङ, नगरकोटका मन्दिरा थिङ, माम्ती पिप्लेका सिमर थपलियालगायतका १२ जना छात्राहरु कृषि अध्ययन गरिरहेको बताए । त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरु किसान परिवारबाटै आएका हुन् ।

टाढाटाढाबाट समेत कृषि पढ्न आएपछि विद्यालयले विद्यार्थीहरुको लागि निःशुल्क रुपमा छात्रावासको व्यवस्था गरिदिएको छ । अहिले सो विद्यालयमा कृषि पढिरहेका विद्यार्थीहरुमा ५० प्रतिशत जिल्लाभित्रका र ५० प्रतिशत जिल्ला बाहिरका विद्यार्थीहरु रहेको विद्यालयले जनाएको छ ।

२०७० सालबाट कृषि प्राविधिक विषय अध्यापन गराउँदै आइरहेको उक्त विद्यालयको कक्षा ९मा २८, कक्षा १० मा २२, कक्षा ११ मा २९ र कक्षा १२ मा २० गरी कूल ९९ जना विद्यार्थीहरु बालीविज्ञान अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति २०७३ भदौ १३ गते ।




प्रतिक्रिया