Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

शिक्षक नियुक्तिको लफडा अख्तियारमा पुग्यो

आइतबार, १२ भदौ २०७३

काठमाडौं १२ भदौ / विश्व भाषा क्याम्पसमा अङग्रेजी भाषाका शिक्षक नियुक्तिको विषयमा देखिएको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । क्याम्पसले शिक्षक नियुक्तिका लागि खोलेको आवेदनमा अङ्ग्रेजीका साथै चाइनिज, जापानिज, स्पेनीस, जर्मन भाषाका लागि आवेदन परेको थियो ।

पूर्व क्याम्पस प्रमुख बामदेव अधिकारीलले अङग्रेजी भाषाका लागि चार जनासँग अन्तर्वाता लिएर नियुक्ति दिएका छन् भने चिनियाँ भाषाका शिक्षकलाई पनि अन्वर्तार्ता लिएर दुईजनालाई नियुक्ति पत्र दिएका छन् ।

चिनीयाँ भाषाको नियुक्ति लिएका दुई शिक्षकमध्ये एकजनाले मात्र अध्ययपन गराइरहेका छन् । बाँकी भाषाका शिक्षकले आवेदन दिएपनि अन्तर्वार्ता लिएका छैनन् । उनले अङ्ग्रेजी भाषाका शिक्षकको अन्तर्वाता लिएर आवश्यकता भन्दा बढीलाई नियुक्ति पत्र दिएका छन् । नियुक्तिपत्र दिएता पनि प्रशासन र लेखा शाखामा बोधार्थ नपठाइएको स्रोतको भनाई छ ।

हाल अङ्ग्रेजी शिक्षक बढी भएर एउटै कक्षामा दैनिक तीन–चारजना शिक्षकलाई पालैपाले अध्ययपन गराउन दिइएको छ । आवश्यकता भन्दा बढी शिक्षकलाई नियुक्ति दिएको र आवश्यक शिक्षकको अन्तर्वातासमेत नलिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

आयोगमा परेको ४४६६  दर्ता नम्बरको उजुरीमा अधिकारीले गैरकानूनी प्रकृयाबाट व्यक्तिवादी प्रक्रिया हावी गर्दै नियुक्ति गरेको शिक्षकको छानबिन गर्नुपर्ने र अन्य भाषाका शिक्षकहरुलाई तत्काल नियुक्ति दिन माग गरिएको छ ।
यस्तै आयोगमा दर्ता निवेदनमा अघिल्लो वर्ष १२ वैशाखमा गएको भूकम्पका कारण क्याम्पसको नयाँ भवनमा क्षति पुगेपछि भवन पुनर्निर्माण गर्न छुट्याइएको ३६ लाख रुपैयाँ चर्केको ठाँउमा सामान्य रंगरोगन गरेर क्याम्पस प्रमुख, ठेकेदार कम्पनी र विद्यार्थी संगठनको मिलेमतोमा भ्रष्टाचार गरेको भन्दै छानविन गर्न माग गरिएको छ ।

पूर्व क्याम्पस प्रमुखले अनावश्यक शिक्षकलाई दिएको दरबन्दीलाई मान्यता दिन नयाँ क्याम्पस चिफ भीमनाथ रेग्मी समेत लागी परेका छन् । पद्यकन्या क्याम्पसबाट जेठमा क्याम्पस प्रमुख भएर गएका रेग्मीले नेपाल विद्यार्थी संघ विश्व भाषा इकाईको प्रभावमा परेर नयाँ शिक्षकको अन्तर्वाता नलिई अङग्रेजी भाषाका अनावश्यक चार शिक्षकलाई थमौती दिन लागीपरेको बताइएको छ ।

प्राध्यापक रेग्मीले अघिल्ला क्याम्पस प्रमुख अधिकारीले गरेको नियुक्तिप्रकृया चुस्तदुरुस्त छ कि छैन भनेर प्रक्रिया बुझ्न १० दिनको समय दिइएको छ ।त्यसले झनै अवैधानिक प्रक्रियालाई बैधानिक बनाउन सहयोग गुर्याएको सरोकारवालाको भनाई छ । नयाँ क्याम्पस प्रमुख रेग्मीले अङग्रेजी भाषाका शिक्षकको नियुक्तिप्रक्रिया र बाँकी भाषाका शिक्षकलाई अन्र्तर्वाता लिन खोज्दा पनि सहायक प्रमुख गोविन्द कैनी बाधक बनेको आरोप समेत लाग्न थालेको छ ।

यस विषयमा जानकारी लिन खोज्दा क्याम्पस प्रमुख रेग्मीले आफू आउनु भन्दा अघि देखि नै विवाद सुरु भएकाले विवाद मिलाउने कार्यमा आफु लागेको बताए । ‘शिक्षक नियुक्ती विवाद भन्दा पनि आन्तरीक कुराकानी हो, म मिलाउने तयारीमा छु केही समयमा नै मिल्ने छ’, उनले भने ‘आन्तरिक कुरा भएकाले विवाद बनाएर बाहिर हो हल्ला गर्नुपनि ठीक हुन्न्, म मिलाउँदै छु ।’

उनले अगाडि थपे ‘अन्य भाषाका विषयमा भन्दा अङग्रेजीमा चाँही समस्या देखिएको छ, चाँडै नै त्यो मिल्छ ।’ यस विषयमा जानकारी लिन खोज्दा सहायक क्याम्पस प्रमुख कैनीले क्याम्पसको विषय भएकाले क्याम्पसभित्रै मात्र कुरा भन्दै  फोनमा केही बताउन नमिल्ने बताए ।

सोभित थपलियाले कारोबारमा लेखेको खबर ।

प्रतिक्रिया