Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

प्रधानमन्त्री भन्छन् - डा. केसीको माग सम्बोधन गर्न कठिन

शुक्रबार, १० भदौ २०७३

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न कठिन भएको बताएका छन् । वर्तमान राजनीतिक संस्कार, प्रशासन संयन्त्र र नीति नियम भित्रबाट डा. केसीका माग सम्बोधन गर्न कठिन हुने उनको भनाई छ ।

शुक्रबार बिहान केसीको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न पुगेको चिकित्सकहरुको टोलीसँग प्रधानमन्त्रीले माग र भाषा राम्ररी बुझ्ने बताएका छन् ।  ‘शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने मेरो पनि मान्यता हो' उनले भने, 'अहिलेको राजनीतिक संस्कार, प्रशासन संयन्त्र र नीति नियमभित्र बसेर सबै कुरा सम्बोधन गर्न त कठिन छ । तर, तपाईले उठाएका माग र भाषा म राम्ररी बुझ्छु र सकेसम्म सम्बोधनको प्रयास गर्छु ।’

प्रधानमन्त्रीले डा. गोविन्द केसीको आन्दोलनले समाजमा नयाँ जागरण ल्याएको र राज्यलाई जागृत गरेको बताएका उनको निजी सचिवालयले जनाएको छ ।

भेटमा डा. केसीले प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा आफूले पछिल्लो अनसन तोडेको भन्दै मागहरुलाई गम्भीरता पूर्वक लिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

उनले दुरदराजमा सुलभ स्वास्थ्य सेवाको प्रबन्ध, सार्वजनिक संस्थानहरुमा क्षमताका आधारमा नियुक्ति, योग्य विद्यार्थीले सर्वसुलभ चिकित्सा शिक्षाको अवसर, माथेमा आयोगको प्रतिवेदनको कार्यान्वयन, राज्यका जिम्मेवार पदहरुमा रहेका व्यक्तिहरुको जिम्मेवारी बोधका लागि आफ्नो आन्दोलन केन्द्रित रहेको बताएका थिए ।

प्रकाशित मिति २०७३ भदौ १० गते

प्रतिक्रिया