Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

‘निजी शब्दकोश बिकाउन सरकारी बिगारियो’

बुधबार, ०८ भदौ २०७३

काठमाडौं ८ भदौ / निजी स्तरबाट प्रकाशित नेपाली शब्दकोश बिकाउन सरकारले प्रकाशन गर्दै आएको बृहत् नेपाली शब्दकोश बिगारिएको आरोप विज्ञले लगाएका छन्।

आफ्नो निजी प्रकाशन विद्यार्थी पुस्तक भण्डारको प्रकाशन ‘प्रयोगात्मक नेपाली शब्दकोश’ बिकाउन नेपाल प्रज्ञा प्रतिष्ठानका भाषाविभागप्रमुख हेमांगराज अधिकारीले सरकारी शब्दकोशमा चलखेल गरेको आरोप छ । यसविरुद्ध ‘नेपाली भाषा बचाऔं’ अभियन्ता बलदेव शर्मा अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन ६ गते उजुरीसमेत दिएका छन् ।

‘बर्सेनि ३ लाख थान बिक्री हुने नेपाली बृहत् शब्दकोशबाट ३६ करोड रुपैयाँ बराबर कारोबार हुन्छ,’ नेपाली भाषा विज्ञ बलदेवले नागरिकसँग भने, ‘तर, प्रतिष्ठानका भाषाविभागप्रमुख अधिकारीले आफ्नो निजी शब्दकोश बिकाउने रणनीतिमा नेपाली बृहत् शब्दकोश बिगारे ।’

नेपाली भाषा बचाऔं अभियानले आइतबार रत्नपार्कमा हस्ताक्षर संकलनसमेत गरेको छ । भदौ अन्त्यसम्म चलाइने यो अभियानबाट संकलित हस्ताक्षर संसद्मा बुझाइने उनले बताए ।

१९६९ सालमा हेमराज शर्मा पाण्डेले ‘मानक नेपाली भाषा व्याकरण’ लेखेका थिए । १९९२ मा नेपाली भाषा प्रकाशिनी समिति नै बन्यो । यसैका आधारमा समितिले १९९८ मा पहिलो लेख्य मानक ‘बगली कोष’ चक्रपाणि चालिसेको सम्पादनमा छापेको थियो ।

नेपाली भाषा बिगारेर आउँदो पुस्तामा यसप्रति वितृष्णा जगाउन खोजेको अधिकारीको आरोप छ ।

विदेशी चलखेल र आर्थिक प्रलोभनमा परी प्रतिष्ठान पदाधिकारी नै नेपाली भाषा बिगार्ने खेलमा सामेल भएको अर्का भाषाविज्ञ मेदनीकुमार केवलले औंल्याए ।  नेपाली बृहत् शब्दकोशलाई ‘भाँडभैलो र आर्थिक भ्रष्टाचारको सिकार’ बनाइएको जिकिर गरे । भाषा बिगार्नमा मुख्यतः प्रतिष्ठानका पदाधिकारी, पाठ्यक्रम विकास केन्द्र र त्रिवि नेपाली विभागप्रमुख अघि सरेको केवलको आरोप छ ।

‘साहित्यकारले लेखेका किताबको नामै गलत हुने गरी भाषामा भाँडभैलो गरिएको छ,’ अंग्रेजी शब्दकोश बाजेले किनेपछि नातिसम्मले अध्ययन गर्छन् । तर नेपाली भाषाको शब्दकोशलाई आर्थिक प्रलोभनमा परेर वर्षैपिच्छे बिगार्ने गरिएको छ, अब हामीलाई सह्य हुँदैन ।’

उनका अनुसार कक्षा १–५ सम्म नयाँ, ६–९ सम्म पुरानै, ९–१२ कक्षासम्म फेरि नयाँ बिगारिएको र स्नातकमा फेरि पुरानै शब्दकोशका हिज्जे प्रयोग गरिएको छ । अर्का अभियन्ता मोतीराज बम पनि पदाधिकारी  विदेशीको चलखेलमा बिक्दा आगामी पुस्तामा नेपाली भाषाप्रति वितृष्णा जाग्ने अवस्था रहेको बताउँछन् । ‘विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गर्ने नेपाली शब्दकोश पुरानै हिज्जेमा छ भने प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित बृहत् नेपाली शब्दकोशका हिज्जे बिगारिएको छ,’ बमले नागरिकसँग भने, ‘प्रतिष्ठानका भाषाविभागप्रमुख अधिकारीले निजी प्रकाशन बिकाउन पुरानै हिज्जे प्रयोग गरेको तर सरकारले प्रकाशन गर्ने शब्दकोशमा बिगारिएको छ ।’

युरोपेली युनियनको अंग्रेजी भाषा बलियो बनाउन  चलखेलमा नेपालका पदाधिकारी फसेको उनको आरोप छ ।

प्रज्ञाबाट प्रकाशित बृहत् नेपाली शब्दकोशमा थोरै शब्द त्यो पनि अशुद्ध रूपमा प्रयोग गरिएको छ । जबकि निजीबाट प्रकाशित  शब्दकोशमा पुरानै र धेरै शब्द प्रयोग भएको उनको भनाइ छ ।

‘नेपाली भाषाको अस्तित्व मेटाउन भाषाका व्यापारी लागिपरेका छन्,’ बमले भने, ‘प्रज्ञाबाटै प्रकाशित हुने नेपाली लेखक कलाकार कोष र बृहत् शब्दकोशको हिज्जे फरक छन् ।’

उनका अनुसार कक्षापिच्छे विद्यार्थीले फरकफरक हिज्जे पढ्नुपर्छ । यसले नेपाली भाषामा दीर्घकालीन दुर्घटना निम्त्याउँछ । हाल नेपाली भाषा बिगारिएकाले विद्यार्थी, शिक्षक र राज्य सबै अन्योलमा रहेको उनीहरूको भनाइ छ ।
प्रतिष्ठानका भाषाविभागप्रमुख अधिकारी भने आरोप अस्वीकार गर्छन् ।  भाषा बिगारिएको नभई परिमार्जन गरिएको बताउने उनी यसमा आफ्नो व्यक्तिगत नभई संस्थागत निर्णय रहेको प्रस्ट्याउँछन्।

भागप्रमुख अधिकारीका अनुसार ०४० सालमा बृहत् नेपाली शब्दकोश आयो । त्यतिखेरै संस्कृतबाट आएका शब्दलाई जस्ताको त्यस्तै (तत्सम) र आगन्तुक शब्दलाई नेपाली नियमअनुसार राख्ने सरकारी निर्णय थियो ।
त्यही आधारमा ०५६ सालमा स्कुलका पाठ्यक्रममा लागू भयो । त्यतिखेर पनि ठूलो होहल्ला मच्चिएकाले ०५७ सालमा प्रज्ञाप्रतिष्ठानको सहकार्यमा विज्ञहरूको सहभागितामा गोष्ठी नै राखियो । उक्त गोष्ठीले ०४० कै निर्णय उचित ठहर्‍याएको विभागप्रमुख अधिकारीले जानकारी दिए ।

‘मेरो प्रयोगात्मक नेपाली शब्दकोशमा पुराना र परिमार्जित दुवै वर्णविन्यास राखिएका छन्,’ अधिकारीले नागरिकसँग भने, ‘०४० सालकै निर्णय पछिल्ला शब्दकोशले अनुसरण गरेको हो । बृहत् शब्दकोश मेरो व्यक्तिगत नभएर संस्थागत निर्णय हो।’

रुबी रौनियारले नागरिकमा लेखेको खबर ।

 

प्रतिक्रिया