Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

प्रअ, स्रोतव्यक्ति र विनिको मिलेमतोमा तयार हुन्छ फर्जी विद्यार्थी

बुधबार, ०८ भदौ २०७३

काठमाडौं ८ भदौ / कागजमा फर्जी विद्यार्थी संख्या देखाएर काभ्रेका अधिकांश सामुदायिक विद्यालयहरूले विद्यालय सञ्चालन गर्दै आएका छन् । कक्षामा विद्यार्थी संख्या शून्य भए पनि विद्यालय र शिक्षा कार्यलयको तथ्यांमा फर्जी विद्यार्थी संख्या उल्लेख गर्दै वर्षौदेखि राजनीतिक आडमा विद्यालय सञ्चालन हुदै आएका छन् ।

प्रधानाध्यापक, स्रोत व्यक्ति र विद्यालय निरीक्षकको त्रिपक्षीय मिलेमतोमा विद्यालयमा भएका विद्यार्थीभन्दा धेरै संख्या देखाई आर्थिक अनियमितता गर्ने गरिएको हो ।

सतीदेवी प्राविमा सातजना विद्यार्थी भए पनि तथ्यांकमा १५ जना उल्लेख गरिएको छ । धनेश्वर महादेव प्राविमा ५ जना विद्यार्थी अध्ययनरत छन् तर त्यो संख्या बढाएर २२ जना देखाई विद्यालय सञ्चालन हुँदै आएको छ । त्यसैगरी मण्डलीदेवी प्राविमा १० जना विद्यार्थी रहे पनि तथ्यांकमा १६ जना देखाइएको छ ।

विद्यालयहरूको अवस्थाबारे जानकार जिल्ला शिक्षा कार्यालयले पटकपटक अनुगमन गरे पनि कारबाही गर्न सकेको छैन । ‘अवस्थाबारे जानकार त छौं तर कारबाही गर्न सकेका छैनौं’, जिल्ला शिक्षा कार्यालय काभ्रेका जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले भने, ‘विभिन्न राजनीतिक दलको दबाब र शिक्षक संगठनका कारण दरबन्दी मिलान तथा विद्यालय र शिक्षकको व्यवस्थापन गर्न सकेका छैनौं ।’

दरबन्दी मिलानमा आफ्नो पार्टीका शिक्षकलाई सुगममा मात्र राख्ने तर दुर्गममा पठाउन नमान्ने प्रवृत्तिले शिक्षक दरबन्दी मिलान हुन नसकेको शिक्षा अधिकारी डा. गुरुङको गुनासो छ । शिक्षा कार्यालय काभ्रेको मातहतमा २६ वटा स्रोत केन्द्रबाट विद्यालयको अनुगमन र निरीक्षण र व्यवस्थापनका लागि २६ विद्यालय निरीक्षक कर्मचारी काम गर्दै आएका छन् । तर अधिकांश विद्यालयले फर्जी विद्यार्थी संख्या शिक्षा कार्यालयमा पेस गर्ने गरेका छन् ।

विद्यालयमा दरबन्दी मिलान गर्न खोज्दा शिक्षक नेताहरूले अवरोध गर्ने गरेको कर्मचारीको गुनासो छ । ‘काभ्रेका अधिकांश शिक्षकले राजनीतिक पार्टीको जिम्मेवार पद धारण गरेका छन्’, शिक्षा कार्यालय धुलिखेलका एक कर्मचारीले भने, ‘पावर र पहुँच भयो भने विद्यार्थी नभए पनि सुगमका विद्यालयमा शिक्षक नियुक्तिसँगै सरुवा पनि हुने गर्छ ।’

शिक्षाका लागि भन्दै जिल्ला शिक्षा कार्यालयमा आएको १ अर्ब २४ करोड ४७ लाख ८ हजार रुपैयाँको ७० प्रतिशत रकम कर्मचारी र शिक्षकको तलबमा खर्च हुने गरेको छ ।

प्रावि तहमा २ हजार ८८ शिक्षकका लागि ५८ करोड ३९ लाख ३४ हजार, माविका ४ सय ५३ शिक्षकका लागि ३२ करोड ४ लाख ९५ हजार, विभिन्न शैक्षिक कार्यक्रका लागि ३९ करोड २ लाख ८४ हजार, अन्यमा ७ करोड ५८ लाख ३ हजार रुपैयाँ खर्च हुने गरेको छ ।

जिल्लामा ६ सय ८ सामुदायिक विद्यालयमा ६९ हजार २७ जना विद्यार्थीलाई जिल्ला शिक्षा कार्यलय काभ्रेले प्रतिविद्यार्थी २० हजार ६० रुपैयाँ लगानी गर्ने गरेको छ । तर विद्यार्थी संख्या नभएका विद्यालयमा फर्जी विद्यार्थीका संख्या देखाएर पाठ्य सामग्री, पोसाक र अन्य शीर्षकमा रकम दुरुपयोग हुने गरेको छ ।

शिक्षा नियमावली २०५९ को ९१ अनुसार प्रत्येक विद्यालयमा प्रतिशिक्षक ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान रहे पनि जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार शिक्षक नेताहरू काम गर्ने विद्यालयमा दरबन्दीभन्दा बढी शिक्षक र कक्षामा भन्दा तथ्यांकमा बढी विद्यार्थी संख्या हुने गरेको छ । सहरमा भएका विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी हुने गरेका छ ।

पाँचजना शिक्षक पाँचैजना विद्यार्थी
जिल्लाका दुर्गम क्षेत्रका समुदायिक विद्यालयमा शिक्षक नभएर पढाइबाट विद्यार्थी वञ्चित भइरहेको अवस्थमा काभे्रको एक सरकारी विद्यालयमा भने वर्षौदेखि पाँचजना शिक्षकले पाँचजना विद्यार्थी पढाउँदै आएका छन् । कागजमा विद्यार्थी संख्या मिलाई विद्यालय सञ्चालन गर्दै आएको पनौती नगरपालिका २ स्थित धनेश्वर महादेव प्राविमा कक्षा १ देखी ५ कक्षासम्ममा ५ जना विद्यार्थीका लागि पाँचजना शिक्षक छन् ।

गत साउन २० गते जिल्ला शिक्षा अधिकारी गुरुङसहितको टोली अनुगमनमा जाँदा विद्यालयमा ३ जना विद्यार्थी उपस्थिति थिए । साउन २४ गते सोमबार शिक्षा मन्त्रालयका उपसचिवहरू राममणि पोखरेललगायतको टोलीे अनुगमनमा जाँदा चार शिक्षक र ३ जना विद्यार्थी भेटिएका थिए ।

विद्यालयको हाजिर कापीमा कक्षा १ देखी ५ सम्म १७ जना भर्नाको देखिन्छ । कक्षा १ मा २ जना, २ मा दुईजना, ३ मा शून्य, ४ कक्षामा २ जना र ५ कक्षामा शून्य छन् । तर दैनिक ३ देखि ५ जना मात्रै आउने गरेको स्थानीय बताउँछन् । कक्षा ५ सम्म सञ्चालन गर्ने अनुगमति लिएको भए पनि सोही विद्यालयमा विद्यार्थी संख्या न्यून रहेकाले विद्यालय समायोजन गर्ने तयारी गरिरहेको शिक्षा कार्यालयका शाखा अधिकृत बुद्धि अर्यालले जानकारी दिए ।

श्रीराम केसीले अन्नपुर्ण पोष्टमा फर्जी विद्यार्थी देखाएर चल्छन् सामुदायिक विद्यालय शिर्षकमा लेखेको खबर ।

प्रतिक्रिया