Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

विदेशमा रहेका पूर्व विद्यार्थीले गरे विद्यायलाई सहयोग

मंगलबार, ०७ भदौ २०७३

बाग्लुङ् - भूकम्पले क्षतिग्रस्त भएर भत्काइएको विद्या मन्दिर उच्च माध्यमिक विद्यालयको पुर्ननिर्माणका लागि विदेशमा रहेका पूर्व विद्यार्थीले साढे १२ लाख रुपैयाँ संकलन गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
बागलुङ्ग सदरमुकाम घर भई हाल अमेरिका रहदै आएका जय प्रकाश श्रेष्ठको नेतृत्वमा संकलित १२ लाख ५७ हजार २ सय ९८ रुपैयां विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम सुन्दर श्याम श्रेष्ठ, अनुसिया श्रेष्ठ, बिर नारायण भारी, भाष्कर राजभण्डारी, पारसमणी श्रेष्ठ, हिम्मत मणी श्रेष्ठ, कल्याण किरण श्रेष्ठ, रामनारायण भारी, निरज श्रेष्ठ, सज्जन श्रेष्ठ, अनुपराज श्रेष्ठ, चमेली शाक्य, बिपिन श्रेष्ठ, लगायतबाट संकलन गरिएको जयप्रकाश श्रेष्ठले बताए ।

उक्त रकम मंगलबार एक समारोहका बिच श्रेष्ठले श्री कालिगण्डकी बागलुङ्ग कालिका धार्मिक तथा शैक्षिक महोत्सव मुल समारोह समितिका संयोजक लालचन्द्र राजभण्डारीलाई प्रदान गरे । 
श्रेष्ठले अमेरिका पुगेर अर्को चरणमा आर्थिक अभियानलाई अझै सशक्त बनाई दोस्रो चरणको आर्थिक अभियान समेत संचालन गर्ने जानकारी दिए ।

त्यसैगरी हाल म्याग्दीमा व्यवसाय संचालन गर्दै आएका विद्यालयका अर्का पुर्व विद्यार्थी अनुप श्रेष्ठले विद्यालयको भौतिक सुधार र स्तरोन्नतीका लागि आफुले अभियानको थालनी गरेर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भवन निर्माणका लागि अनुमानित लागत पाँच करोड ५० लाख लाग्ने भएपछि विद्यालयले आगामी कार्तिक ३ गते देखी १० गते सम्म श्री कालिगण्डकी बागलुङ्ग कालिका धार्मिक तथा शैक्षिक महोत्वसको समेत आयोजना गर्ने भएको छ ।

प्रकाशित मिति २०७३ भदौ ७ गते

प्रतिक्रिया