Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

असोज पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन

मंगलबार, ०७ भदौ २०७३

काठमाडौं ७ भदौ / विश्वका करिब ४० देशका १५० वैज्ञानिक सहभागी हुनेगरी असोज पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। नेपालको त्रिभुवन, बेलायतको लिभरपुल, जापानको तोकोकु विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा वैज्ञानिकको संलग्नतामा क्वजिआइक्रिस्टलमाथि अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।

क्वजिआइक्रिस्टल केन्द्रित भएर दक्षिण एसियामा हुन लागेको यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो। अमेरिका, फ्रान्स, चीन, जापान, जर्मनी, स्विट्जरल्यान्ड, मेक्सिको, पोल्यान्ड र भारतमा यसअघि यो सम्मेलन भइसकेको छ।
पदार्थ विज्ञानअन्तर्गतको क्वजिआइक्रिस्टल विशिष्ट खालको ठोस पदार्थ हो। यसमा सामान्य किसिमका क्रिस्टलभन्दा फरक किसिमले अणु संयोजन भएको हुन्छ। यसको उपयोग पछिल्लो समय खाना पकाउने भाँडामा भएको छ। पकाउने क्रममा क्वजिआइक्रिस्टल कोटिङ गरिएको भाँडामा खाना नटाँसिने हुन्छ। बोलीचालीको भाषामा यस्ता भाँडालाई ननस्टिक भनिन्छ।

हल्का, बलियो र विशिष्ट खालको क्वजिआइक्रिस्टल विमान निर्माणमा सबैभन्दा उपयुक्त हुनसक्ने वैज्ञानिक परिकल्पना छ। यसको उपयोग विमानको बाहिरी भागमा हुनसक्ने विषयमाथि अनुसन्धान भइरहेका बेला यही विषय केन्द्रित भएर नेपालमा सम्मेलन हुन लागेको हो।

सम्मेलनमा रसायनशास्त्रका नोबेल पुरस्कार विजेता डानियल सेक्टमानले सहभागिता जनाउने छन्। सेक्टमानको सहभागिता निश्चित भएकोे सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक एवं बेलायतको लिभरपुल विश्वविद्यालयका प्राध्यापक हेमराज शर्माले बताए। सम्मेलनमा भौतिकशास्त्र, रसायनशास्त्र, गणित तथा इन्जिनियरिङ विषयका १ सय १० भन्दा बढी कार्यपत्र पेस हुनेछन्।

नागरिक दैनिकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया