Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

पुस्तक अभाव हटाउन पाठ्यक्रम विकास केन्द्रको यस्तो काइदा

सोमबार, ०६ भदौ २०७३

काठमाडौं ६ भदौ / स्कुले तहका शिक्षक तथा विद्यार्थीले पुस्तक र पाठ्यक्रम मोबाइल एप्सबाट हेर्न सक्ने भएका छन् । पाठ्यक्रम विकास केन्द्रले शिक्षक र विद्यार्थीलाई प्रविधिको प्रयोगबाट ज्ञान हासिल गर्न प्रेरित गर्ने उद्देश्यले पहिलोपटक यस्तो एप्सको विकास गरेको हो ।

हरेक वर्ष पुस्तक अभावको समस्याका कारण पढाइमा समस्या बेहोरिरहेका विद्यार्थीलाइ एप्सको विकाससँगै पुस्तक पढ्न सहज हुने विश्वास केन्द्रले गरेको छ । पाठ्यक्रम केन्द्रको स्थापना दिवसका अवसरमा आइतबार एप्सको सुरुआत गरिएको हो । एप्समा अहिले कक्षा एकदेखि आठसम्मका पाठ्यक्रम समावेश गरिएको केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले बताए ।

उनका अनुसार विस्तारै कक्षा एकदेखि बाह्र कक्षासम्मका पाठ्यक्रम र ती पाठ्यक्रमका आधारमा तयार गरिएको पुस्तक उक्त एप्समा राखिनेछ । ‘सीडीसी एप्स’ नाम दिइएको उक्त एप्लिकेसनबाट शिक्षक, विद्यार्थी तथा यस विषयमा जान्न चाहनेले इलेक्ट्रोनिक कपी डाउनलोड गरेर अध्ययन गर्न सक्नेछन् ।

केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले वर्षेनी पाठ्यपुस्तक नपाएर हैरान भएका विद्यालय तहका शिक्षक र विद्यार्थीलाई राहत दिन एप्स तयार गरिएको बताए । एप्समा पाठ्यक्रम र पाठ्यपुस्तकको साथमा केन्द्रका सूचना, पाठ्यक्रम गतिविधि विभिन्न समाचार र सूचना समावेश गरिएको छ ।

एप्सको सुरुआत गर्दै विनाविभागीय मन्त्री डीआर पौडेलले पुस्तकको भारी बोकेर विद्यालय जान बाध्य विद्यार्थीलाई एप्स सहयोगी हुने बताए । स्कुले तहदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रम र पुस्तक समेटिएको एप्स तयार गरिनुपर्ने पौडेलको भनाइ थियो । केन्द्रका अनुसार तत्कालका लागि एप्स डाउनलोड गर्दा एकपटकमा तीन रुपैयाँ लाग्नेछ । नेपाल टेलिकमसँग सल्लाह गरेर यसलाई निः शुल्क गर्ने विषयमा छलफल भइरहेको छ ।

पाठ्क्रम दिवसकै अवसर पारेर केन्द्रले सातजना पूर्वकार्यकारी निर्देशकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा गणेशबहादुर माली, जगन्नाथ अवा, अर्जुनबहादुर भण्डारी, लक्ष्मीप्रसाद खत्री, चित्रप्रसाद देवकोटा, खगराज बराल र दिवाकर ढुंगेल छन् ।

पाठ्यक्रम, पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रका रूपमा २०२८ साल भदौ ५ गते स्थापना भए पनि २०५४ सालमा पाठ्यक्रम विकास केन्द्रमा रूपान्तरण गरिएको थियो ।

विगतमा कक्षा १ देखि १० सम्मका पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास गर्दै आएको केन्द्रले यस वर्षबाट प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्मका पाठ्यक्रम तथा पाठ्यपुस्तकको जिम्मेवारी पाएको छ ।

अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले ंस्कुलका पाठ्यक्रम र पुस्तक एप्समा शिर्षकमा लेखेको खबर ।

प्रतिक्रिया