Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

आइतबार, ०५ भदौ २०७३

काठमाडौं ५ भदौ /  दैलेख जिल्लाका ग्रामीण क्षेत्रमा रहेका उच्च माध्यमिक विद्यालयहरू प्रविधिमैत्री बन्न थालेका छन् । सामुदायिक विद्यालय सुधारका लागि रूपान्तरण नेपालको अभियानअन्तर्गत जिल्लाका २१ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सुचारु भएको छ ।

शिक्षालाई सूचना, सञ्चार र प्रविधिसँग जोड्न जिल्ला विकास समिति दैलेखले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहयोगमा रूपान्तरण नेपालले २१ वटा सामुदायिक उच्च माध्यमिक तहका विद्यालयमा वायरलेस इन्टरनेट सेवा जडान गरेको छ ।

सोलार जोडिएका र विद्युत् लाइन पुगेका निर्वाचन क्षेत्र नम्बर १ का १३ र क्षेत्र नम्बर २ का ८ वटा उच्च माध्यमिक विद्यालयमा वायरलेस इन्टरनेट जडान गरिएको हो । इन्टरनेट जडान गरिएका सम्पूर्ण विद्यालयका कम्प्युटर शिक्षकहरूलाई एक हप्ते कम्प्युटर तालिमसमेत दिएको थियो ।

यहाँका विद्यालयहरूलाई साउण्ड सिस्टम, मिदास ई–क्लास तथा प्रोजेक्टर प्रदान गरिएको छ । हाल यी विद्यालयमा अनलाइन कक्षा सुरु भएको छ । परियोजना सञ्चालन गर्न निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट दैलेख जिल्लाका सांसदद्वय अम्मरबहादुर थापा र लक्ष्मीप्रसाद पोखरेलले बजेट विनियोजन गरेका हुन् ।

विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई एकै ठाउँ र एक जना व्यक्तिले नै अध्यापन गराउन सकिने भएकोले थोरै जनशक्तिले धेरै सिकाइ उपलब्धि हुने हुँदा यो पढाइ विधि उपयोगी हुने विश्वास गरिएको छ । त्रिभुवन नमुना उच्च मावि दैलेख बजारका विद्यार्थीले नियमित कक्षासँगै अहिले इन्टरनेटबाट धमाधम कक्षा लिन थालेका छन्

इन्टरनेट सुचारु भएपछि विद्यार्थी प्रविधिबारे जिज्ञासु र जानकार पनि हुन थालेको त्रिभुवन नमुना उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक निरकबहादुर तारामीले बताए । विद्यालयमै इन्टरनेट सेवा सुचारु भएपछि स्कुलको प्रासाशनिक काम पनि सहज भएको छ ।

इन्टरनेटको प्रयोगबाट शिक्षक तथा विद्यार्थीले धेरै लाभ लिएको अभियन्ता एवं संस्थाका अध्यक्ष मोहन शाही बताउँछन् । गाउँमा अवसर नपाएर रहेका प्रतिभावान व्यत्तिलाई विश्वभर आफ्नो प्रतिभा देखाउन इन्टरनेट उपयोगी हुने उनको दाबी छ ।

कारोवारमा महेन्द्र सापकोटाल लेखेका छन् । 

प्रतिक्रिया