Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

शिक्षक ब्यवस्थापन नहुँदा पाठ्यपुस्तक दराजमा

आइतबार, ०५ भदौ २०७३

काठमाडौं ५ भदौ / शिक्षकको व्यवस्थापन हुन नसक्दा विद्यालयका लागि तयार गरिएका मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक दराजमा थन्किएका छन् ।  

पाठ्यक्रम विकास केन्द्रले प्राथमिकदेखि माध्यमिक तहसम्मका २४ मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ ।  प्राथमिक तहमा केही विद्यालयमा केही मातृभाषाका पाठ्यपुस्तक पठनपाठन भए पनि माध्यमिक तहमा भने मुस्किलले तीन मातृभाषामा पठनपाठन हुने गरेको छ ।

केन्द्रले मैथली, भोजपुरी, अवधि, नेवारी, तामाङ, लिम्बू, वान्तवा राईलगायतका मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ ।  एसएलसी परीक्षामा नेवारी, मैथली र भोट बौद्ध भाषाका परीक्षार्थी सहभागी हुने गरेका छन् ।  

केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले माग भएमा थप मातृभाषामा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्न आफूहरू तयार रहेको बताउँदै भन्नुभयो, “मातृभाषामा अध्ययन अध्यापन गर्न विद्यालय र विद्यार्थीले चाहना गर्नुपर्दछ । ”

नेपालको संविधानमा मातृभाषामा शिक्षा पाउने हक हुने व्यवस्था छ ।  प्राथमिक तहमा एक सय पूर्णाङ्क अन्तर्गत स्थानीय विषय वा मातृभाषा अध्ययन गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।  सोही अनुरूप केही विद्यालयले मातृभाषा छनोट गर्ने गरेका छन् ।  पाठ्यक्रम विकास केन्द्रले विद्यालयलाई मातृभाषाका पाठ्यपुस्तक पठाउने व्यवस्था नभएको र विद्यालय पनि केन्द्रमा पाठ्यपुस्तक लिन नआउने भएकाले मातृभाषाको पठनपाठन प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन ।  

माध्यमिक तहमा ऐच्छिक रूपमा ५३ विषयका पाठ्यक्रम भए पनि कमै मात्र विषयमा अध्यापन हुँदै आएको छ ।  फोटोग्राफी, वाद्यवादन, गृहविज्ञान, वास्तुकला, नृत्य, हस्तकला, बेत, बाँस र सिल्प शिक्षा, टाइपिङ एन्ड सर्ट ह्यान्ड, प्रारम्भिक बाल विकासलगायतका विषय पाठ्यक्रममा मात्र सीमित बनेका छन् ।

१६ वटा विदेशी भाषामा पाठ्यक्रम तयार गर्न सकिने सरकारी निर्णय भए पनि हालसम्म तीनवटाको पाठ्यक्रम बनेका छन् ।  केन्द्रका अनुसार हिन्दी, अङ्ग्रेजी, फ्रेञ्च, रुसी, जर्मन, स्पेनिस, चिनियाँ, जापानी, बङ्गाली, उर्दू, तिब्बती, ग्रिक, ल्याटिन, अरेबिक, पर्सियन र हिब्रु भाषालाई २०६४ सालमा भाषा समूहभित्र समावेश गरिएको थियो ।  तीमध्ये हिन्दी, तिब्बती र अङ्ग्रेजी भाषाका विद्यार्थी एसएलसी परीक्षामा सम्मिलित हुने गरेका छन् ।  अघिल्ला वर्षहरूमा भए पनि गत २०७२ सालको एसएलसी परीक्षामा हिन्दी विषय लिएका परीक्षार्थी थिएनन् ।

केन्द्रका उपनिर्देशक गौतमले विद्यार्थीको रोजाइ र छनोटमा पर्न नसक्दा पाठ्यक्रम तयार भएका सबै विषयको पठनपाठन नभएको बताउनुभयो ।

“बजारको मागले विषय छनोटमा प्रभाव पार्ने गर्दछ,” उहाँले भन्नुभयो, “विद्यालयमा शिक्षकको उपलब्धताले पनि असर गर्न सक्दछ ।  विद्यार्थीले चाहेर मात्र हुँदैन, शिक्षक नै उपलब्ध नभएपछि पठनपाठन सम्भव नहुन सक्दछ । ”

यसैबीच, केन्द्रले आइतबार पहिलोपटक पाठ्यक्रम दिवस मनाउँदै छ ।  २०२८ साल भदौ ५ गते पाठ्यक्रम, पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्र स्थापना भएको थियो ।  २०५४ सालमा पाठ्यक्रम विकास केन्द्र बनाइएको थियो ।  विगतमा कक्षा १ देखि १० सम्मका पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास गर्दै आएको केन्द्रले यस वर्षबाट प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्मका पाठ्यक्रम तथा पाठ्यपुस्तकको जिम्मेवारी पाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले कक्षा १ देखि ३ सम्मका पाठ्यक्रमलाई एकीकृत गर्न लागिएको जानकारी दिनुभयो ।  उहाँले कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक बहुरङमा प्रकाशित गर्न लागिएको पनि बताउनुभयो ।  हाल ती कक्षाको पाठ्यपुस्तक श्यामश्वेतमा प्रकाशित हुँदै आएको र यसले गर्दा विद्यार्थीमा पढ्न रुचि नहुने गरेकाले बहुरङमा प्रकाशित गर्न लागिएको केन्द्रको भनाइ छ ।

गोरखापत्रमा प्रकृति अधिकारीले मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक दराजमा शिर्षकमा लेखेका छन् 

प्रतिक्रिया