Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

जब पुनले हेडमाष्टरहरुलाई पढाए.....

शनिबार, ०४ भदौ २०७३

काठमाडौं ४ भदौ /'मा स्टर डिग्री वा पीएचडी गर्दैमा कोही पढेको हुँदैन यदि उसलाई सूचना प्रविधि (आईटी) को ज्ञान छैन भने', महावीर पुनले भने, 'अहिलेको जमानामा अक्षर चिन्नु मात्रै साक्षर हुनु होइन ।' सूचना प्रविधिबारे ज्ञान नभए अहिलेको समयमा निरक्षर सरह भइने उनले बताए ।

पुन शुक्रबार कास्कीका सामुदायिक विद्यालयका प्रधानाध्यापक (हेडसर) हरूलाई सूचना प्रविधिको महत्त्व दर्शाउँदै थिए । जिल्ला शिक्षा कार्यालयले प्रअमार्फत शिक्षक र विद्यार्थीसम्मलाई सूचना प्रविधिको महत्त्व बुझाउन पुनलाई निम्त्याएको थियो । 'हेड सरले चाह्यो भने स्कुलका केटाकेटीलाई सूचना प्रविधिमार्फत धेरै ज्ञान दिन सकिन्छ', उनले भने, 'हेडसरले वास्ता नगरे स्कुलमा कम्प्युटर र इन्टरनेट पुर्‌याए पनि प्रभावकारी हुँदैन ।'
स्रोत छैन भनेर चुप लागेर नबस्न पुनले हेडसरहरूलाई आग्रह गरे । 'अल्छी भएर नबस्नोस् र सरकारले गर्दैला भनेर पनि नपर्खनोस्', उनले आग्रह गरे, 'स्रोत आफैं पनि जुटाउन सकिन्छ ।' सूचना प्रविधि प्रयोग गर्न नसक्ने विद्यार्थीले जति पढे पनि व्यवहारमा केही गर्न नसक्ने उनले सुनाए । 'किताब पढाएजसरी सूचना प्रविधि पढाउने होइन', उनले भने, 'इन्टरनेटमा पसेर सिकाइदिएपछि विद्यार्थी आफैंले खोज्छन् र पढ्छन् । इन्टरनेटमा जे खोज्यो त्यही पाइन्छ ।'

४० वर्षअघि नेपालकै अवस्थामा रहेका कोरिया, मलेसिया र सिंगापुरजस्ता देश आज विकसित हुनुको पछाडि विज्ञान प्रविधिलाई पछ्याउनु रहेको पुनले बताए । कम्प्युटर र इन्टरनेटको आविष्कार धेरै पुरानो नभए पनि विकसित देशहरूले त्यसैलाई जोड दिएर अगाडि बढेको पनि उनले सुनाए । 'अमेरिकामा त कम्प्युटर नसिके जागिरबाट राजीनामासम्म गर्न लगाइएको मैले नै देखें', उनले अनुभव बाँडे, 'बूढो भइयो, यो उमेर किन सिक्नुपर्‌यो भन्यो भने झनै पछाडि परिँदो रहेछ ।'

कतिपयले आईटी अर्थात सूचना प्रविधि भन्नेबित्तिकै फेसबुक मात्रै बुझ्ने गरेको गुनासो पनि पुनले गरे । 'विद्यार्थीलाई फेसबुकतिर होइन, अन्तै भूल भनेर सिकाउनु शिक्षकको कर्तव्य हुन्छ', उनले सुझाए ।
कम्प्युटर जतन गर्नुपर्छ भनेर कतिपय स्कुलमा सरहरूले विद्यार्थीलाई छुन नदिने गरिएको पुनको भनाइ थियो । 'कम्प्युटर चलाउँदैमा बिग्रन्न, बिग्रे पनि बिग्रोस् न बनाउन नमिल्ने होइन, तर केटाकेटीलाई चलाउन दिनुपर्छ', उनले प्रष्ट्याए, 'बिग्रे पनि यसो सफ्टवेयर बिग्रने होइन, त्यो बनाउन केही गाह्रो हुन्न ।'

ग्रामीण दूरसञ्चार विकास कोषका लागि जम्मा भएको १४ अर्ब रुपैयाँ खर्च नगरी थन्क्याइएको भन्दै उनले आपत्ति पनि प्रकट गरे । 'त्यो पैसा खर्च गर्ने हो भने नेपालका सबै गाउँका वडावडामा इन्टरनेट पुर्‌याउन सकिन्छ', उनले भने, 'अनि सूचना प्रविधिमा सबै नेपालीको पहुँच पुग्छ ।'

हेडसरहरूकै माझ पुनले आफूले परिकल्पना गरेको आविष्कार केन्द्रबारे पनि सुनाउन भ्याए । उत्पादन र त्यो पनि निर्यातमूलक उत्पादनका दक्ष जनशक्ति बनाउन आविष्कार केन्द्रको परिकल्पना गरिएको उनले बताए । सरकारलाई कराउँदा कराउँदै कसैले नसुने पनि आफूले हरेस नखाएको पुनले बताए । 'म त डा. गोविन्द केसीजस्तै अनशन बस्ने मनस्थितिमा छु', उनले भने, 'यो कुनै भावनामा आएर भनेको कुरा होइन, साँच्चीकै मनदेखि भनेको हुँ ।

केशवशरण लामिछानेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया