Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

पर्याप्त शिक्षक कता कता ? पाँच वर्षे शिक्षा योजना निर्माण

विहीबार, ०२ भदौ २०७३

- सुरेन्द्र सुमन / जाजरकोट - शैक्षिक सुधार कसरी हुन सक्छ ? सबै ठाउँमा यसको एउटै उत्तर पाउन मुस्किल छ । यति हुँदा हुँदै पनि औषतमा मिल्ने समान उत्तर भनेको शिक्षक नै हो । शिक्षकको क्षमता, उसको काम गर्ने तौर तरिका र उसको यर्पाप्तताले शिक्षा सुधारको निर्धारण हुन्छ ।

पर्याप्त शिक्षक नै नभएको अवस्थामा जिल्ला शिक्षा कार्यालयले पाँचवर्षे योजना निर्माणका लागि सरोकारवाला व्यक्तिहरुबाट राय तथा सुझाव संकलन शुरु गरेको छ । जबकी जाजरकोटमा ७ सय बढी शिक्षक दरबन्दी अपुग भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

एक शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान छ । तर जाजरकोटमा एक शिक्षकको अनुपातमा ६२ भन्दा बढी विद्यार्थी रहेको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंह बताउँछन् । सिंहका अनुसार माध्यमिक तहमा ४ सय २३ र आधारभूत तहमा २ सय ८१ शिक्षकहरुको दरबन्दी अपुग छ । शिक्षकको अनुपातमा विद्यार्थी संख्या बढी भएपनि आवश्यक दरबन्दी स्विकृत नभएको जिल्ला शिक्षा अधिकारी सिंह बताउँछन् । 

यस्तो अवस्थामा कार्यालयले बिहीबार सदरमुकाम खलंगामा एक कार्यक्रम गरी पाँचवर्षे जिल्ला शिक्षा योजना निर्माणका लागि सरोकारवाला व्यक्तिहरुबाट राय तथा सुझाव संकलन गरेको छ । उक्त अवसरमा पनि शिक्षक दरबन्दी मिलाउनु पर्ने आवाज जोडतोडले उठेको छ । मस्यौदा निर्माण कार्यदलले तयार गरेको योजनालाई अन्तिम रुप दिन सरोकारवाला विच सल्लाह सुझाव संकलन गरिएको हो ।

यस अघिनै जिल्लालाई साक्षर वर्ष तथा शैक्षिक सुधार वर्ष २०७३ घोषणा गरिसकिएको छ । जिल्लाको शैक्षिक सुधार गर्न सबैले दायित्वबोध गर्नुपर्ने, शिक्षक, अभिभावक र विद्यार्थी एकजुट भएर लाग्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् । शिक्षकको दरबन्दी, विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउने अवस्था, भौतिक पूर्वाधार, भवन, फर्निचर जस्ता अत्यावश्यक कुराको सुनिश्चतता हुनुपर्ने पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसीले बताए । अधिकासं शिक्षकहरु राजनीतिक दलको छाता ओढेर विद्यालयमा नियमित अध्यापन नगर्ने प्रवृत्ति बढ्दै गएको अध्यक्ष केसीको भनाई छ ।

त्यस्तै जिल्लाको शिक्षाको यथार्थ अवस्था उजागर गर्नका लागि प्रभावकारी रुपमा नियमित अनुगमन गरिनुपर्ने र अनुगमनको समेत अनुगमन गरिनुपर्ने नेपाली कांग्रेस जाजरकोटका नेता खम्बजंग शाहले बताए । विद्यालयमा नियमित पठन पाठन, उचित भवन, फर्निचर र शिक्षकहरुलाई प्रभावकारी तालिमको व्यवस्था भए मात्रै शिक्षाको गुणस्तरमा बृद्धि हुने नेकपा एमाले जाजरकोटका करबिर शाहीको सुझाव थियो ।

प्रकाशित मिति २०७३ भदौ २ गते

प्रतिक्रिया