Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

अनिवार्य गणितमा ऐकिक नियम हट्दा विषयशिक्षक र विज्ञ छक्क

विहीबार, ०२ भदौ २०७३

काठमाडौं २ भदौ / 'जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पेटो!' यो नेपाली उक्ति अहिले पाठ्यक्रम विकास केन्द्रका कर्मचारी र गणित विज्ञमा लागू हुन्छ। गणित विषयलाई सरल र व्यावहारिक बनाउने नाममा यिनीहरुले कक्षा ९ को पाठ्यक्रमबाट ऐकिक नियमको पाठ नै हटाइदिएका छन्। अर्थात् श्रीखण्डलाई खुर्पेटो (कम्मरमा भिर्न मिल्ने गरी बनाइएको खुर्पा राख्ने काठको खोल, दाप) बनाइदिएका छन्।

दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ऐकिक (युनिटरी मेथड) नियम अभ्यास छलफलबिनै कक्षा ९ को अनिवार्य गणित पाठ्यक्रमबाट हटाइँदा यस विषयका धुरन्धर भने छक्क छन्। व्यावहारिक गणितलाई कमजोर पार्ने गरी ऐकिक नियम पाठ्यक्रमबाट हटाइएको विषयशिक्षक र विज्ञ डिल्लीराम पौडेलको आरोप छ।

पाठ्यक्रम विकास केन्द्रको माध्यमिक तहको गणित विषयको विज्ञ रोस्टरमा समेत रहेका पौडेलले पाठ्यक्रमका कर्मचारी र विज्ञले ऐकिक नियमको आवश्यकता र महŒव नबुझी आफूखुसी हटाएको आरोप लगाए।

जीवनयापनमा दैनिक आउने गणितीय समस्या समाधान गर्न चार दशकअघि कक्षा ९ को पाठ्यक्रममा ऐकिक नियम राखिएको थियो। अहिले त्यसको अभ्यास गराउने शिक्षक अभाव एवं बु‰न र बुझाउन अप्ठ्यारो भएको भन्दै हटाइनु गणित क्षेत्रकै दुर्भाग्य हुने पौडेलको बुझाइ छ।

रोस्टरमा रहेका विषय विज्ञलाई पाठ्यक्रममा सुझाव दिने, पाठ्यक्रमअनुसार ग्रिड अर्थात् प्रश्नपत्र तयार गर्ने, पाठ्यक्रम परिमार्जन तथा परिवर्तन गर्नेसम्म अधिकार हुन्छ। कक्षा ९ को गणित विषयका विज्ञलाई जानकारी नै नगराई एकाएक ऐकिक नियम पाठ हटाइएकोमा पौडेलको आपत्ति छ।

केही दिनअघि विश्वनिकेतन स्कुलमा रहेको शिक्षक व्यक्तित्व विकास  तालिम केन्द्र (टिपिडी) मा भएको गणित विषयका शिक्षकहरुको छलफलमा समेत आफूले ऐकिक नियम अभ्याकस पाठ्यक्रमबाट हटाएर सरकारले नानीहरुको बौद्धिक र सिर्जनशील क्षमता कमजोर बनाउन खोजेको औंल्याइदिएको जनाए।

'अप्ठ्यारो, अनावश्यक र शिक्षकलाई पढाउन मुस्किल भएकाले हटाइएको जवाफ मैले पाठ्यक्रमबाट पाएँ,' विश्वनिकेतन उमाविका शिक्षक पौडेलले नागरिकसँग भने, 'हामी विज्ञलाई रोस्टरमा राखे पनि कुनै छलफल नगरी एकाएक ऐकिक नियम हटाउँदा छक्क परेको छु।'

'गणित विषयबारे केही थाहै नभएका कर्मचारी, विज्ञले पाठ्यक्रम बनाउँदा समस्या आएको उनले आरोप लगाए।

सबै विद्यार्थी जसरी पनि पास गराउने खेलमा ऐकिक नियम अभ्यासकलाई हटाइँदा व्यावहारिक ज्ञान लिनबाट वञ्चित हुनुपर्ने अवस्था आएको अर्का गणित शिक्षक विकास महर्जनले बताए।

ऐकिक नियम नभएपछि समय, काम र तुलनात्मक अध्ययन गर्न नपाउने भएकाले विद्यार्थी अन्तर्राष्ट्रिय स्तरमै कमजोर हुने उनको ठहर छ। तीन दशकदेखि माध्यमिक तहमा गणित विषय पठनपाठन गराउँदै आएका महर्जनले पश्चिम भेगका गणित शिक्षकको साउन २० गतेको भेलामा स्रोतव्यक्ति र विद्यालय निरीक्षकलाई आफूहरुले ऐकिक नियम दैनिक जीवनसँग जोडिएकाले हटाउन नहुने सुझाव समेत दिएको उनले बताए।

'शिक्षकलाई पढाउन झन्झट भएको भन्दै ऐकिक नियम अभ्याकस हटाइएको हामीले बुझेका छौं,' बलम्बु मावि, बलम्बुका शिक्षक महर्जनले नागरिकसँग भने, 'अभ्यास र प्रश्नमा तालमेल छैन। हालको कक्षा ९ को गणित पाठ्यक्रम र पुस्तकले नानीहरुको बौद्धिक क्षमता विकास गर्दैन,' उनले औंल्याए, 'अबका विद्यालय स्तरका गणितका विद्यार्थी रटन्ते र घोकन्ते मात्र हुन्छन्।'

ऐकिक नियमको अभ्यास हटाएर अन्य विषयमा पठनपाठन हुने आइटीको नेटबारे गणितमा राखेर भद्दा बनाइएको छ। हालको गणितको पाठ्यपुस्तकमा प्रश्न हल गर्न अभ्याससँग मेल खाने समानान्तर प्रश्नसमेत नभएको र भएका उत्तरमा समेत त्रुटि बढी रहेको थानकोटस्थित मंगलोदय माविका शिक्षक कविन्द्र गोपालीले औंल्याए।

दैनिक पसल जाँदा नानीहरुले हिसाबकिताब गर्ने आधारै ऐकिक नियम हो। कुनै नानीले बजारमा एक सय रुपैयाँ लिएर जाँदा एक किलो चामल आउँछ भने भोलि ४ सय लिएर जाँदा कति किलो चामल आउँछ भन्नेजस्ता व्यावहारिक ज्ञान ऐकिक नियमले सिकाउँछ।

बिजगणितमा समेत स्क्वायर र क्युबका हिसाब हटाइएको बताउँदै शिक्षक गोपालीले गणितमा विद्यार्थीलाई व्यावहारिक पक्षबाटै कमजोर बनाउन खोजिएको जिकिर गरे।

हालको बिजगणित पनि पहिलेजस्तै सरलबाट जटिल नभएर जटिलबाट सरलतिर जाने अभ्यास राखिएकाले विद्यार्थी र शिक्षक दुवैलाई बुझ्न गाह्रो भएको शिक्षकले महसुस गरेका छन्। 'सरकारले यस वर्षको एसएलसी नतिजा ग्रेडिङमा प्रकाशनलाई आधार मानेर पहिले पाठ्यक्रम बनाएको रहेछ। त्यसपछि ग्रेडिङमै दुईपटक संशोधन र एकपटक परिमार्जन भइसक्यो,' शिक्षक गोपालीले नागरिकसँग भने, 'तर गणितको पाठ्यक्रम भने पास नम्बर ३२ बाट ४० पुर्‍याएर तयार पारिएको रहेछ।'

यसरी विद्यार्थीले अनिवार्य गणितमा सी ग्रेड ल्याउनैपर्ने बनाइएको भन्दै उनले थपे, 'यसले अबका विद्यालयबाट पास हुने विद्यार्थीले व्यवस्थापन विषय पढ्नबाट समेत वञ्चित हुन्छन्।'

उनका अनुसार ऐकिक नियम अंकगणितबाट हटाइएपछि विद्यार्थीले  तुलनात्मक अध्ययन गर्न समस्या हुन्छ। बिजगणितमा पनि सरल हिसाबभन्दा बढी खण्डीकरण राखिएको छ। पाठ्यक्रम विकास केन्द्रमा गणित विज्ञका रुपमा काम गरिरहेका र गणित विषय समितिका आगन्तुक सदस्यसमेत रहेका रमेश अवस्थीले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत बढीभन्दा बढी विद्यार्थी पास होऊन् भन्ने उद्देश्यले कक्षा ९ को अंकगणितबाट ऐकिक नियम हटाइएको बताए।

कक्षा ९ को अनिवार्य गणित पुस्तक लेखकसमेत रहेका अवस्थीले ऐकिक नियमले शाब्दिक समस्या ल्याउने, विद्यार्थीलाई लामा वाक्य बु‰न समस्या भएकाले हटाइएको  स्पष्ट पारे।

'विद्यार्थीलाई बुझन र शिक्षकलाई बुझाउन गाह्रो भयो,' उनले भने, 'अब कक्षा ११ र १२ मा ऐकिक नियम प्रयोग हुने ५०–५० नम्बरको व्यावहारिक अभ्यास राख्ने पाठ्यक्रमको तयारी छ।'

गणित शिक्षा परिषदका महासचिवसमेत रहेका उनले 'विद्यार्थीले कक्षा ८ सम्म ऐकिक नियम पढ्ने भएकाले  विज्ञहरुको छलफलबाटै कक्षा ९ बाट हटाइएको' दाबी गरे।

उनका अनुसार पाठ्यक्रम विकास केन्द्रले कक्षा १० मा पनि अर्को वर्षदेखि लागू हुने गरी समय र कम भन्ने पाठ पनि हटाउने तयारी गरेको छ। हालको गणित पाठ्यक्रम परियोजनामुखी र व्यावहारिक शिक्षामा आधारित रहेको लेखक अवस्थीको दाबी छ।

पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले सरकारी विद्यालयका सरकारी शिक्षक शतप्रतिशत तालिमप्राप्त भएकाले कक्षामा गणित विषयलाई सरल रुपमा व्यावहारिक बनाउँदै प्रस्तुति गर्नुपर्ने बताए। उनले गणितविज्ञकै छलफलबाट कक्षा ९ को पाठ्यक्रमबाट ऐकिक नियम हटाएर गणित विषयलाई सरल बनाइएको दाबी गरे।

'विद्यार्थीले कक्षा ८ सम्म ऐकिक नियम पढेका हुन्छन्,' उपनिर्देशक गौतमले भने, 'हाम्रा शिक्षक शतप्रतिशत तालिमप्राप्त छन्।

रुबी रौनियारले नागरिकमा  लेखेको खबर ।

प्रतिक्रिया