Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

पास भएको वर्ष दिनपछि पनि ट्रान्सक्रिप्ट नपाएपछि विद्यार्थीहरु आन्दोलित

विहीबार, ०२ भदौ २०७३

काठमाडौं २ भदौ / त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतको भूगोल केन्द्रीय विभागका विद्यार्थी पास भएको वर्ष दिनसम्म पनि ट्रान्सक्रिप्ट पाउनबाट वञ्चित भएका छन् । विभागीय प्रमुख पदमचन्द्र पौडेलको दबाबमा वैकल्पिक विषयलाई अनिवार्य रूपमा सबै विद्यार्थीलाई पढाएका कारण १० वटै विषयमा उत्तीर्ण भएका विद्यार्थीको ट्रान्सक्रिप्ट रोक्का भएको हो ।

स्नातकोत्तर तह दोस्रो वर्षको वैकल्पिक विषय जेन्डर एन्ड डेभलपमेन्ट अनिवार्य रूपमा पढाइ भएपछि समस्या उत्पन्न भएको हो । दोस्रो वर्षमा शोधकार्य (थेसिस) लेख्न नचाहनेले त्यसको विकल्पमा जेन्डर एन्ड डेभलपमेन्ट विषयको परीक्षा दिन सक्ने व्यवस्था रहेकामा भूगोल केन्द्रीय विभागले अनिवार्य बनाएपछि समस्या आएको हो । जेन्डर एन्ड डेभलपमेन्टलाई अनिवार्य विषय बनाएर पढाएको र थेसिस पनि गराएपछि ट्रान्सक्रिप्टका लागि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर विद्यार्थी फर्किन बाध्य छन् ।

विभागले भाइभा नै लिन छाड्यो
शैक्षिक सत्र ०६९/७० ब्याचका यी विद्यार्थी वार्षिक प्रणालीका अन्तिम ब्याच हुन् । उनीहरूले परीक्षा दिइसकेको र एक हजार पूर्णांकको परीक्षासमेत पास गरिसकेपछि यस्तो झमेला आएको हो । डेढ वर्षदेखि थेसिस सकेका विद्यार्थीले ट्रान्सक्रिप्ट पाएका छैनन् भने थेसिस सकेकाहरूको पनि भाइभा भएको छैन । सुरुमा थेसिस सकेका विद्यार्थीलाई ट्रान्सक्रिप्ट नदिएपछि भूगोल केन्द्रीय विभागले भाइभा नै लिन छाडेको छ ।

‘केही साथीले थेसिससहित एक हजार पूर्णांकको परीक्षा पास गरेका छन्, तर ट्रान्सक्रिप्ट पाएका छैनन्, हामीले नौ सय पूर्णांकको परीक्षा पास गरेर थेसिस तयार गरेर बसेका छौा, तर भाइभा भएको छैन,’ विद्यार्थी भावना न्यौपानेले भनिन्, ‘विभिन्न कुरा देखाएर विभागबाट अलमल्याउने काम भएको छ । हामीले अर्बान प्लानिङ पढ्न खोजेका थियौा, तर दबाब दिएर अनिवार्य विषयका रूपमा जेन्डर एन्ड डेभलपमेन्ट पढाइयो, अहिले धेरै दु:ख पाइयो, धेरै अवसर पनि गुमेका छन् ।’

विभागमा तालाबन्दी
सर्टिफिकेट नपाएर चारैतिर भौातारिरहेका विद्यार्थीले कतै सुनुवाइ नभएपछि विभागमा तालाबन्दीसमेत गरेका छन् । आफ्ना पीडा सुनाउन उनीहरू कहिले डिन र कहिले उपकुलपति कार्यालयसमेत धाउादै आएका छन् । भूगोल केन्द्रीय विभागमा तालाबन्दी भए पनि प्रमुख पदमचन्द्र पौडेल कल्चर विषयको कार्यालयमा बस्ने गरेका छन् ।

विद्यार्थीद्वारा क्षतिपूर्ति माग
विषय समितिबाट विषयको ‘ग्रुपिङ’ हुनुपर्नेमा डिन कार्यालयबाट भएको र त्यो जानकारी आफूलाई नदिएकाले यस्तो समस्या आएको विभागीय प्रमुख पौडेलको दाबी छ । आफूले समस्या फुकाउन अनुरोध गर्दा पनि फ्याकल्टी बोर्डबाट समाधान नआएको उनको भनाइ छ । अहिले पढेर परीक्षा दिएको विषयलाई नै मान्यता दिलाउन पहल भइरहेको उनले बताए । विभागबाट भएको लापरबाहीले  मानसिक पीडा, आर्थिक क्षति भएको भन्दै विद्यार्थीले क्षतिपूर्ति समेत मागेका छन् ।

भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर ।

प्रतिक्रिया