Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षक लाजै नमानी भन्छन्, ‘संघीयतामा शिक्षा कस्तो हुन्छ, थाहै छैन’

विहीबार, ०२ भदौ २०७३

- हरिसुन्दर छुकां / काठमाडौं– संविधानसभाले संविधान जारी गरेर देशलाई संघीय संरचनामा प्रवेश गराइसकेको छ । देश संघीयतामा जाने निश्चित भइसके पछि पाठ्यक्रम विकास केन्द्रले कक्षा १० को सामाजिक अध्ययन विषयमा संघीयता विषयलाई समावेश गरेर पठन पाठन पनि गराइ सकेको अवस्था छ । यत्ति भइसक्दा पनि शिक्षकहरु भने लाजै नमानी संघीयताको विषयमा त्यत्ति जानकार नभएको बताउँदै त्यस बारेमा सरकारले खासै केही नभएको आरोप लगाउन पछि परेका छैनन् ।

बनेपाको सरस्वती प्राथमिक विद्यालयमा विगत १२ वर्षदेखि पढाउँदै आएकी शिक्षक सरस्वती कायस्थले संघीयताको विषयमा आफूले सुनेको तर त्यसबारेमा खासै जानकारी नभएको बताउँदै भनिन्, ‘देश नै गञ्जागोलको अवस्थामा छ, आज भएको कुरा भोलि हुन्न, यसैले संघीयताको विषयमा ज्ञान पछि छैन, मलाई त ध्यान पनि छैन ।’

उनले आफूलाई जानकारी नहुनु अरु कारण नभएर त्यसबारेमा आफ्नो रुचि नै नभएको पनि खुलाइन् । कायस्थलाई मात्र नभएर उनकै विद्यालयका अर्का शिक्षक सुजेन्द्र श्रेष्ठले पनि अनविज्ञता नै प्रकट गरे । ‘खोइ, के थाहा छ, भन्ने के थाहा छैन भन्ने ? शब्द मात्र थाहा भएर हुन्न होला ।’ ओठ लेप्य्राउँदै उनले भने ।

काभ्रेकै तिमाल नारायणस्थान उमाविका प्रअ दिलकुमार मोक्तान भन्छन्, ‘संघीयतामा देश गइरहेको सन्दर्भमा शिक्षकहरु अनविज्ञ छन्, प्रत्येक शिक्षकमा यो विषय नौलो जस्तै भइरहेको छ ।’

उनले आफूलाई सो सम्बन्धमा ज्ञान नहुनुमा आफ्नै कमजोरी रहेको स्वीकार्दै थपे, ‘हामी आफूले आफैलाई अपडेट गर्न चुकेका छौंं ।’

उनीसँगै सहमत हुँदै महेन्द्र उमाविका सहप्राचार्य राजकुमार आचार्यले आफू मात्र नभएर धेरै शिक्षकहरु पनि संघीयता बारेमा ‘अलमल’ मै रहेको स्वीकार्छन् । ‘यो विषयमा के हो ? हेर्दै, बुझ्दै जानुपर्छ, धेरै शिक्षकहरु अहिले सम्म पनि सुनेकै आधारमा आफ्ना भनाइहरु राख्दै आएका छन् ।’

संघीयता बारेमा विभिन्न खालका गोष्ठी हुनुपर्ने भए पनि त्यो हुन नसक्दा अलमल भइरहेको शिक्षकहरुको ठम्याइ छ ।

त्यस्तै शिक्षक श्रीराम कासिछ्वाले पनि संघीयताको विषयमा आफूलाई पनि पर्याप्त मात्रामा जानकारी नभएको बताए । उनी भन्छन्, ‘खासै ज्ञान छैन, यस बारेमा सरकारको प्रचार प्रसारको कमी, संघीयतामा शिक्षाको प्रकृति कस्तो हुन्छ भन्ने विषयमा सरकारले पहल नगर्दा यस्तो अवस्था आएको हो ।’

दुई वर्षदेखि सामाजिक पढाउँदै आएकी शिक्षा सदन उमाविका शिक्षक सविता मिश्रले नीति बन्ने तर कार्यान्वयन नहुने भएकोले संघीयता विषयमा पनि ध्यान नदिएको बताइन् । भने शिक्षक सञ्जित गौतमले पनि संघीयता राजनीतिक विषय भएको कारण चासो नदिएको बताए । ‘यो नितान्त राजनीतिक विषयजस्तो भएकोले त्यति धेरै चासो दिएका छैनौं ।’ उनले भने ।

२५ वर्षदेखि माध्यमिक तहलाई नै अर्थशास्त्र र जनसंख्या विषय अध्यापन गराइरहेकी बनेपाकी शिक्षिका जगतेश्वरी श्रेष्ठले संघीयता विषयमा शिक्षकहरुबीचमा खासै बहस, अन्तरक्रिया र छलफल नहुँदा शिक्षकहरु अलमलमा रहेको बताउँदै संघीयताका राम्रा, नराम्रा पक्षहरु बीचमा सरोकारवालाहरुले समयमै ध्यान नदिएकोमा दुःख मनाउ गरे ।

विभिन्न विषय अध्यापनरत शिक्षकहरुले संघीयता विषयमा यस्तो धारणा राखिरहँदा शिक्षाविद् डा. विद्यानाथ कोइराला भने शिक्षक भएर त्यस्तो खालको धारणा राख्न नमिल्नेमा जोड दिन्छन् । यस्तो हुनुमा उनी शिक्षकको मात्र दोष नभएर विद्यालयदेखि शिक्षा कार्यालय, विभाग र मन्त्रालयसम्मकै कमजोरी रहेको बताउँछन् ।

‘यसमा राजनीतिक उदासीनता, शिक्षक महासंघले खेल्नुपर्ने भूमिका नखेल्नुमात्र नभएर तयारीविना नै ल्याइएको व्यवस्था भएका कारण यस्तो अवस्था सिर्जना भएको हो ।’ उनले भने ।
समाजको सबैभन्दा प्रवुद्ध वर्गका ब्यक्ति भनेर चिनिने शिक्षकहरुले राज्यले अंगिकार गरेको संघीयता सम्बन्धमा अझै पनि अनविज्ञता व्यक्त गर्नुले शिक्षकहरु समसामयिक विषयमा अपेडट हुन  चाहँदैनन् भन्ने पनि पुष्टि गरेको छ ।

(यूनेस्को काठमाडौंको सहयोगमा एडुखबर डटकमले तयार पारेको रेडियो कार्यक्रम ’संघीयतामा शिक्षा’ को भदौ २ गतेको अंकमा समाबेश गरिएको विषयमा आधारित सामग्री । यो कार्यक्रम संघीय संरचना अनुसार निर्माण भएका प्रदेशलाई केन्द्रमा राखेर विभिन्न सातवटा एफ एम रेडियो स्टेशन रेडियो पश्चिम टुडे धनगढी, रेडियो जाजरकोट, कृष्णसार एफ एफ नेपालगञ्ज, रेडियो तरंग, पोखरा, रेडियो त्रिवेणी, भरतपुर, रेडियो पूर्वेली आवाज, विराटनगरबाट बिहीबार विहान ७ः३० मा र काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चारबाट बिहीबार विहान ८ बजेको समाचार पछि प्रशारण हुन्छ । रेडियो स्टेशनका अलावा उक्त कार्यक्रम www.edulhabar.com र एण्ड्रोईड एप edunepal बाट जुनसुकै बेला सुन्न सकिन्छ ।)

यो विषय सहितको उक्त कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति २०७३ भदौं २ गते

प्रतिक्रिया